इमान्दार संवाददाता
७८७ पटक

काठमाडौं । 

काठमाडौंको मुलपानीमा सञ्चालन हुँदै आएको जुवा अखडामा प्रहरीले छापामारेको छ । प्रहरीबाट बच्न चार तलामाथिबाट हामफाल्दा दुईजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डिएसपी श्याम राईको संरक्षणमा सञ्चालन हुँदै आएको आरोप लाग्दै आएको ‘भीआईपी जुवा अखड’मा शुक्रबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको हो ।

जुवा अखडामा छापामार्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएका थिए । जुवा अखडामा छापामार्ने कुराको सुईको बौद्धका डिएसपी राईलाई दिइएको थिएन ।

प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने क्रममा दुई जुवाडेको मृत्यु भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका छन् ।

चौथो तलबाट हामफालेका उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । एसएसपी लामाकाअनुसार एक महिलासहित २३ जना पक्राउ परेका छन् ।

मुलपानीस्थित तामाङ थरका एक व्यक्तिको घरमा लामो समयदेखि भिआईपी जुवा अखडा चलिरहेको सूचना पाएपछि शुक्रबार राति १० बजे महानगरीय प्रहरी परिसर टेकुबाट सादा पोशाक खटिएका थिए । जुवाडेले च्यानल गेटमा लगाएको ताला खोल्न नमानेपछि प्रहरीले ताला फुटाएर भित्र प्रवेश गरेको थियो ।

जुवाको खालबाट प्रहरीले ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ । बाहिरबाट च्यानल गेटमा ताला लगाएर सञ्चालन हुने जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाइँदै आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डिएसपी राईले भिआइपी जुवा अखडालाई संरक्षण गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अकस्मात छापामारेको हो ।

२०७५ असोज २० मा प्रकाशित ।

२०७५ असोज २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड