इमान्दार संवाददाता
१२० पटक

काठमाडौं । 

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । उनीसहितको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीअार्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।

यहि असोज ४ मा न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

त्यसैगरी अदालतले सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

त्यतिमात्रै होइन, ज्ञावालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । सो मुद्दामा भने अदालतबाट फैसला हुन बाँकी नै छ ।

तर, किष्ट बैंकलाई गाभेको प्रभु बैंकले भने ०७१ माघ १३ गते कमल ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ-व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरेको थियो ।

गुल्मीको मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवालीले काठमाडौं आएर छोटो समयमै वित्तीय बजारमा चर्चा कमाएका थिए । किष्ट मर्चेण्ट बैंक खोलेर केही वाणिज्य बैंकमा स्तरोन्नति गरेका थिए ।

२०७५ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड