इमान्दार संवाददाता
५४ पटक

काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् ।

आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।

यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ ।

अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ ।

‘अहिले बजारमा भएका यी वस्तु ४ महिनाअघि ल्याएको हो’, उनले भने, ‘ठूला व्यापारीले नै बढाएपछि खुद्रा मूल्य त स्वतः बढिहाल्छ ।’ अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि भाउ बढेको व्यापारीले बताउने गरेका छन् ।

२०७५ असोज १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड