इमान्दार संवाददाता
२४४ पटक

काठमाडौं ।

उपभोक्ताको ढाड सकिने गरी सरकारको ठाडो निर्देशनमा नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले/मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो ।

यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

हवाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिए । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको भाउ बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको उनले बताए ।

दुई साताभित्रै दुईपटक पेट्रोलियम पदार्थको भाउ बढाए पनि आयल निगमलाई अझै घाटा रहेको गोइतले बताए । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमै ३१ करोड ३७ लाख रुपैयाँ घाटा हुने देखिएको उनले जानकारी दिए ।

‘भाउ बढाए पनि अझै निगमलाई पेट्रोलमा २.९२ रुपैयाँ प्रतिलिटर र डिजेलमा २.७२ रुपैयाँ प्रतिलिटर, ग्यासमा ३ सय ९ रुपैयाँ ७९ पैसा प्रतिसिलिन्डर घाटा हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर उकाले लाग्दा नेपाल पनि प्रभावित हुन पुगेको हो ।’

२०७५ असोज २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड