१२२४ पटक

दिया चन्द, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले गिरफ्तार गरेको छ । प्रवक्ता प्रकाण्डलाई मंगलबार मध्यराती काठमाडौंको थानकोटबाट अपहरण शैलीमा गिरफ्तार गरिएको उनका छोरा नरेन्द्र बिकले इमान्दार मिडियालाई जानकारी दिए ।

मध्यराति गिरफ्तार गरेर लगेको र अहिलेसम्म आफूहरुलाई भेट्न समेत नदिइएको उनले बताए । अहिले प्रकाण्डलाई टेकु राखिएको बताएको छ । उनलाई राति नै गिरफ्तार गरेर महानगरीय प्रहरी परिसर,टेकुमा राखिएको र अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भइरहेकाे प्रहरी स्रोतले बतायो । प्रवक्ता प्रकाण्डलाई के कति कारणले गिरफ्तार गरेको हो भन्नेबारेमा समेत प्रहरीले केहि बताउन चाहेन ।

प्रहरीले प्रकाण्डको डेरामा समेत छापा मारेको छ । आज बुधबार बिहान ९ः३० मा काठमाडौँको सुकेधारास्थित डेरामा प्रहरीले छापा मारेको हो । इन्स्पेक्टरको कमाण्डमा प्रवक्ता, प्रकाण्डको डेरामा पेस्तोल देखाउँदै, बच्चाहरुलाई तर्साउदै गाली गलौज गर्दै छापा मारेर केही कागजपत्रहरु लिएर गएको उनका छोरा नरेन्द्र विकले जानकारी दिएका छन् ।

पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै आएको छ ।

यसअघि मंगलबार मात्रै नेकपाका केन्द्रीय सदस्य आजद भक्तपुरबाट गिरफ्तार परेका छन् भने त्यसअघि ४ जना पोलिटब्युरो सदस्य मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई सहित दर्जनौं नेता कार्यकर्ताहरुलाई समेत गिरफ्तार गरेर हिरासतमै राखेको छ ।

अदालतले पटकपटक छोड्न र रिहा गर्न आदेश दिदाँदिदै पनि प्रहरीले अदालतको आदेशको अटेरी गर्दै ठाउँ बदलेर हिरासतमा राख्दै आएको छ ।

२०७५ साउन २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...