इमान्दार संवाददाता
२६७ पटक

काठमाडौं ।

नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो । भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन् । नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो ।

यस्तै सिरिजलाई यू–१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ । बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् । क्रिकट्राकर डटकमका अनुसार भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ ।

सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ ।

२०७५ साउन २२ मा प्रकाशित ।

२०७५ साउन २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड