इमान्दार संवाददाता
४३ पटक

काठमाडौँ ।

साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल अर्थात झन्डै ४५ लाख नेपाली रुपैयाँ बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।

राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो ।

राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो ।अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो ।

‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एकएक पैसा दिनुभएको छ । त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने- ‘ममाथि अन्याय भएको थियो । त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो ।’

माई नगरपालिका–४, इलामका राई २०१६ मार्च ३१ देखि जेलमा थिए । उनी सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रस्क्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए ।

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गरी अदालतमा क्षतिपूर्ति दाबी गरेको थियो ।

सार्वजनिक अदालतका न्यायाधीश इब्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको थियो ।

सार्वजनिक कानुनअनुसार घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन इन्कार गरेको छ । कम्पनीले ८ लाख रियाल बराबरको बिमा गरेको थियो ।

२०७५ साउन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...