इमान्दार संवाददाता
९१ पटक

काठमाडौं ।

प्रहरीले बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नहरुको नाम सार्वजनिक गरेको छ। खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

प्रहरीका अनुसार मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली-१ का अजय तामाङ (२३ बर्ष) छन्।

प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार प्रहार गर्न खोज्दा जवाफी कारवाहीको क्रममा उनीहरुको मृत्यु भएको थियो।

यस्तो छ घटना प्रकृति

काठमाडौंको काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो । विद्यालयबाट घर फर्किरहेका बालक खड्का घर पुग्न नपाई अपहरणकारीको फन्दामा परे ।

हाइल्याण्ड स्कुलका विद्यार्थी खड्का अपहरणमा परेको जानकारी पाएपछि प्रहरी खोजी कार्यमा लाग्यो । निशानका बाबु वैदेशिक रोजगारीको शिलशीलामा छन् भने आमा चमेली चिया पसल सञ्चालन गर्छिन् । उनीहरुसँग अपहरणकारीले ४० लाख रुपैयाँ फिरौती मागेका थिए ।

अपहरणमा परेका बालकको खोजीकार्य प्रहरीले तीव्र पार्याे । खोज्दै जाँदा बालक खड्काको शव ठिमीमा भेटियो । सुर्यविनायक नगरपालिका–८ भक्तपुरको जंगलमा अपहरणकारीलाई प्रहरीले फेला पार्याे ।

प्रहरी देखेपछि उनीहरुले आक्रमण गरेपछि प्रहरीसँग मुठभेड भयो । त्यसपछि अपरहणकारी गोपाल तामाङ र अजय तामाङको मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।

चिनजानका व्यक्तिबाटै निशानको अपहरण

अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन् । उनी आइतबार दिउँसो बालकको आमाले चलाउने खाजा घरमा खाजा खान आएको र दिनभरी निशान सँगै खेलेर साँझ अपहरण गरेको खुलेको छ । उनी त्यहाँ २-३ वर्षदेखि नै खाजा खाने गरेको खुलेको छ।

आइतबार साँझ करिब ६ बजे बालक अपहरणमा परेका थिए । साँझ करिब ८ बजे बालककी आमालाई फोन गरी ४० लाख रुपैयाँ फिरौती मागिएको थियो। अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए।

२०७५ साउन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...