आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३५३ पटक

‘एउटा बूढो मान्छे बच्चैमा मरेछ ।’ यो एउटा सरल वाक्य हो तर यो वाक्य पहिलोचोटि सुन्ने प्रायः सबैलाई हाँसो लाग्छ । हाँसो कुनै मानिसको दैनिक जीवनको एक अभिन्न पाटो हो ।

हाँसो एक प्रकारको औषधि हो भन्ने कुरा त हामी सबैले सुन्दै आइरहेकै हौँ । तर चुट्किला सुन्दा वा कुनै अनौठो कुरा देख्दा वा आफैंले भोग्दा हाँसो किन लाग्छ ? हाँसो लाग्नुको वैज्ञानिक कारण, अझ भनौँ मनोवैज्ञानिक कारण के हो त ?

हाँसो किन लाग्छ भन्ने विषयमा थुप्रै अनुसन्धानहरू भएका छन् र ती अनुसन्धानहरूले थुप्रै सिद्धान्तहरू प्रतिपादन गरेका छन् । तीमध्ये तीनवटा सिद्धान्तहरू वैज्ञानिक जगतमा सर्वमान्य छन् । ती हुन् बेमेलको सिद्धान्त (Incongruity theory) श्रेष्ठताको सिद्धान्त, (Superiority theory) र राहतको सिद्धान्त (Relief theory) ।

बेमेलको सिद्धान्त

माथि दिइएको चुट्किला सुनेर हाँसो लाग्ने प्रक्रिया बेमेलको सिद्धान्तसँग सम्बन्धित छ । वैज्ञानिक तथा दार्शनिकहरुका अनुसार कुनै अप्रत्याशित कुरा वा दैनिक जीवनसँग मेल नखाने कुरा देख्दा वा सुन्दा हामीलाई हाँसो लाग्छ ।

माथिको चुट्किलामा वाक्यको सुरुको अंश भनिरहँदा सुन्ने व्यक्तिको मस्तिष्कमा एक बूढो मानिसको तस्बिर बनिसकेको हुन्छ । तर, चुट्किलाको बाँकी भागमा बूढो मान्छे बच्चैमा मर्छ भनिएको छ जुन आफैंमा नमिल्दो कुरा हो ।

चुट्किला सुन्ने व्यक्तिको मस्तिष्कले त्यो अपेक्षा गरेकै हुँदैन । जब मस्तिष्कले अपेक्षा नगरिएको कुरा सुन्छ वा देख्छ, त्यसले मस्तिष्कलाई एउटै कुरालाई दुई भागबाट विश्लेषण गर्न बाध्य गराउँछ ।

यो भनेको मस्तिष्कलाई एक प्रकारको काउकुती लगाउनुजस्तै हो, जसको कारणले हामीलाई हाँसो उठ्छ । यो सिद्धान्तलाई बेमेलको सिद्धान्त भनिन्छ ।

श्रेष्ठताको सिद्धान्त

श्रेष्ठताको सिद्धान्तका अनुसार कसैलाई खासै ठूलो हानि नहुने कसैको अप्रत्यासित दुःखमा हामीलाई हाँसो लाग्छ । उदाहरणको लागि यदि कोही वयस्क मानिस बाटोमा लड्यो तर उसलाई खासै ठूलो चोटपटक लागेको छैन भने हामीलाई हाँसो लाग्छ । तर सो व्यक्तिलाई ठूलै चोट लागेको छ भने चाहिँ हामीलाई हाँसोको सट्टा दुःख र सहानुभूति लाग्छ । त्यस्तै, वयस्क व्यक्तिको साटो सानो बच्चा लडेको छ भने पनि हामीलाई हाँसो लाग्दैन किनकि बच्चा लड्ने भनेको अप्रत्याशित घटना होइन ।

राहतको सिद्धान्त

राहतको सिद्धान्तका अनुसार कुनै दुःखद् घटना घट्न लागेको भान हुँदाको समयमा यदि सो घटना अब नघट्ने भन्ने कुरा थाहा भयो भने र उक्त घटनाको साटो अर्कै घटना घट्यो भने हामीलाई हाँसो लाग्छ ।

उदाहरणको लागि अँध्यारो कोठामा खासखुस आवाज आउँदा डर हुन्छ । तर बत्ती बालेर हेर्दा हावाको कारण प्लास्टिकको झोला हल्लिरहेको देख्दा हामीलाई हाँसो लाग्छ ।

अन्य थुप्रै मानवीय व्यवहारजस्तै हाँसोको बारेमा पनि वैज्ञानिकहरूले पूरा तथ्य पत्ता लगाउन सकेका छैनन् । यस्ता विभिन्न सिद्धान्तहरूको प्रतिपादन भए पनि मूर्त उत्तर अझै आएको छैन । तर जे भए पनि हाँसो एक प्राकृतिक औषधि हो भन्ने कुरामा भने कसैको दुईमत छैन ।

२०७५ असार ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...