इमान्दार संवाददाता
६११७ पटक

काठमाडौँ। 

पत्रकार रवि लामिछोनको पक्ष लिदै सामाजिक सञ्जाल फेसबुकमा अमर्यादित र आपत्तिजनक शब्दहरु प्रयोग गरि गाली गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले इलाम नगरपालिका–६, तिल्केनी घर भई ललितपुर बागडोल बस्ने ५० वर्षका विनोद गौतम र सुनवल नगरपालिका–४, नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई पक्राउ गरेको हो ।

न्यूज २४ टेलिभिजनमार्फत प्रसारित ‘सीधा कुरा जनतासँग’का विषयमा परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शव्दसहित पोष्ट र कमेन्ट गरी प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान प्रतिष्ठा समेतमा आघात पुर्‍याउने, ज्यान मार्ने समेतका धम्की दिई त्यस्ता सामग्रीहरुको पोष्ट गर्दै आएको भन्ने सूचना महाशाखामा पुगेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

गौतमलाई मंगलबार काठमाडौँको टेकु र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ ।

प्रेस काउन्सिल नेपालले लामिछानेविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने क्रममा उनले अमेरिकन नागरिकता र राहदानी नत्यागेको पाइएको थियो । काउन्सिलले गैर नेपाली नागरिकले विना अनुमति नेपालमा कुनै पनि काम गर्न नपाउने विषयलाई जोडेर उनको कार्यक्रमका विषयमा अनुसन्धान अघि बढाएको थियो ।

यो विषयलाई लिएर काउन्सिलको पक्ष र विपक्षमा सामाजिक सञ्चालमा विचारहरु व्यक्त भइरहेका छन् । कतिपयले अमर्यादित, अश्लिल र निम्नस्तरका टिप्पणीहरु पनि गर्ने गरेका छन् । अनुसन्धान प्रक्रिया अघि बढिरहेकै बेला पत्रकार लामिछानेले असार ६ गते अमेरिकन नागरिकता र राहदानी त्यागको लागि दूतावासमा निवेदन दिइकसेका छन् । तरपनि, सामाजिक सञ्जालमा पक्ष/विपक्षमा बहस हुने क्रम रोकिएको छैन ।

विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

२०७५ असार १३ मा प्रकाशित ।

२०७५ असार १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड