इमान्दार संवाददाता
६२७ पटक

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बार्ताले नेपालमा पनि तरंग पैदा गरेको छ । यही जुन १२, २०१८ मा सिंगापुरमा भएको प्रथम र ऐतिहासिक शिखर वार्ताको केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले स्वागत गरेको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका बीचमा शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छौँ । हालैका दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासहरुमा यस शिखर वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने हाम्रो विश्वास छ ।’

‘मुलुकहरुका बीचमा देखा पर्ने कुनै पनि समस्याको समाधान आपसी सम्वादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस शिखर वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ । सहमति भएका विषयहरुलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयहरुमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दीगो शान्ति कायम गराउनेछ ।

दुई कोरियाबीच गत अप्रिल २७, २०१८ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा हामीले गरेको’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति

२०७५ जेठ ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड