इमान्दार संवाददाता
९३४ पटक

भरतपुर ।

गृहमन्त्री बादलले काम नगर्ने ठेकेदारहरुलाई कारवाही अगाडि बढाएपछि प्रचण्डका घरबेटी पनि लिस्टमा परे । शारदा अधिकारी जो प्रचण्डका घरबेटी पनि हुन् । जिम्मा लिएका कामहरु समयमै पुरा गर्न नसकेपछि उनको नाम पनि कामचोर ठेकेदारको सूचीमा नाम पर्यो ।

शैलुङ कन्ट्रक्सनका सञ्चालक हुन शारदा अधिकारी । जसको घरमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच थुप्रै पटक वार्ता भएको छ । अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड उनकै खुमलटारस्थित घरमा बसेका छन् ।

अधिकारीको शैलुङ कन्ट्रक्सनले ठेक्का लिएको कयौं कामहरु अझै अधुरै छन । अघिकारीलाई कारवाही गर्न गृहमन्त्री तातिएपछि प्रचण्डले सक्दो रोक्ने कोसिस गरेका थिए तर अन्ततः उनि गले । अहिले भने प्रचण्ड स्वयम्ले आफ्ना घरबेटी शारदा अधिकारीले गल्ती गरेको भए कारबाही हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा मंगलबार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले समयमा काम नगर्ने ठेकेदारहरूलाई कारबाही हुने बताएका हुन् । ‘ठेकेदारले समयमा काम गर्नुपर्छ । मेरो घरबेटी ठेकेदारले गल्ती गरेका छन् भने कारबाही हुन्छ’, उनले भने, ‘राम्रो गरेका छन् भने प्रोत्साहन हुन्छ ।’

ठेकेदार शारदा अधिकारीलाई कारबाही नगर्न भनेर आफूले गृहमन्त्री रामबहादुर थापालाई कुनै पनि दवाव नदिएको अध्यक्ष दाहालले दाबी गरे । ‘बिल्कुल त्यस्तो कुनै पनि दवाव मैले दिएको छैन’, उनले भने, ‘तपाई मिडियाहरूको समस्या छ । मिडियाहरू आचार संहिताभित्र बस्नुपर्छ ।’

अध्यक्ष दाहालले केही दिन अगाडि गृहमन्त्री थापालाई निवासमा बोलाएर काम नगर्ने ठेकेदार शारदा अधिकारीलाई कारबाही नगर्न दवाव दिएको समाचार बाहिरीएको थियो ।

अध्यक्ष दाहालले मुलुकमा बढेको मूल्य वृद्धिलाई नियन्त्रण गरिने बताए । ‘पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि स्वभाविक हो’, उनले भने, ‘अन्य क्षेत्रमा भएको मूल्य वृद्धि नियन्त्रण हुन्छ ।’

बजेटमा चुनावी घोषणापत्रका कार्यक्रम नपरेको भनेर सोधिएको जिज्ञासामा अध्यक्ष दाहालले भने, ‘बजेटमा धेरै कार्यक्रम परेका छैनन् । तर, सरकार पाँच वर्ष चलाउने भएकाले आउने बजेटहरूमा कार्यक्रम राखिन्छ । प्रधानमन्त्री, अर्थमन्त्री र मबीच छलफल गरेर बजेट ल्याएका हौँ ।’

कार्यकारी राष्ट्रपतिका विषयमा पनि दाहालले त्यो तत्कालको विषय नरहेको स्पष्ट पारेका छन् । ‘कार्यकारी राष्ट्रपति अहिले नै उठाउनुपर्छ भनेर राखेको होइन’, उनले भने, ‘त्यो पछिको विषय हो ।’

कुन-कुन कामको जिम्मा पाएको छ शैलुङ कन्ट्रक्सनले ?

शैलुङ कन्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको पाइप हालेपछि सडक पुर्नेदेखि सडक बनाउनेसम्म दजनौं ठेक्का पाएको छ । लो बिड गरेर ठेक्का हात पारेका उनले कुनै पनि काम समयमा गरेको रेकर्ड भने छैन ।

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो । तर, निर्माणको जिम्मा लिएको शैलुङ कन्सट्रक्सनको काम गराइले अबको जेठमा पनि यसको काम सक्न मुस्किल छ ।

१६ किलोमिटर सडक बनाउन शैलुङले अझै कति वर्ष लगाउने कुनै टुंगो छैन । भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएपछि भुक्तानीमा पनि समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

भक्तपुरको बिष्णु कुण्डली-सिद्धीकाली सडकमा पनि शैलुङसँगै ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । यो खण्डको काम पनि म्याद थपेर त्यसै राखिएको छ ।

नागढुंगा-कलंकी सडक खण्डको हालत पनि उस्तै छ । यो सडकको सबै खण्डमा शैलुङको विभिन्न जोइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । मुख्य रुपमा सडकमा उसले काम गरिरहेको छ । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रुलाई त्यतिकै सास्ती दिएको छ ।

ठेकेदार कम्पनी शैलुङले घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको दावी गर्दै आएको छ । तर, काम गर्न सहज वातावरण भएका स्थानमा पनि सडकको हालत उस्तै छ । अनेक बाहनाबाजी झिकेर काम हुन सक्ने क्षेत्रमा पनि अल्झाएर राखेको सडक विभागका एक उच्च अधिकारीले बताए ।

कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपथ्र्यो । त्यसपछिको तीन किलोमिटर सडक लुम्बिनी-शैलुङ-साप जेभीको जिम्मामा छ । यो खण्डमा पनि असोजपछि म्याद थपिएको छ ।

नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले निर्माण गर्दैछ । यो खण्डको पनि काम सक्न बाँकी नै छ । केही खण्डमा बल्ल पिच भएको छ ।

ललितपुरको ढोलाहिटी-सुनकोठी-चापागाउँ-लेले सडकको एक खण्डमा दिवा-शैलुङ जेभीले विस्तार गर्दैछ । उपत्यका सडक विस्तार आयोजनासँग भएको सम्झौता सकिन ६ महिना बाँकी छ । तर, अहिलेसम्म कम्पनीले खासै चासो दिएको छैन ।

सडक विभागका अधिकारीहरुका अनुसार वनस्थली-बालाजुचौकी-बोराटार सडकखण्डमा पनि शैलुङको त्यही शैली हावी छ । १४ करोड रुपैयाँमा ठेक्का परेको यो सडक अझै पनि भइसकेको छैन । शैलुङ कन्ट्रक्सनले यो काम कहिले सक्छ भन्ने टुंगो अझै लागेको छैन । स्थानीयले सडक निर्माणमा भएको विवाद समाधान गरेर छिटो काम सकाउन पटक-पटक ध्यानाकर्षण नगराएका हैनन् । तर काम भने भएको छैन ।

गोपीकृष्ण हलदेखि कपनसम्म धोबीखोला करिडोर निर्माणमा पनि शैलुङको कार्यशैली त्यस्तै छ ।

कपन क्षेत्रमा ३ वटा सडकका ठेक्का यही कम्पनीले पाएको छ । समयमै काम नभएर एउटाको म्याद थपिसकिएको छ भने एउटाको म्याद थप्न डिभिजन सडक कार्यालयले विभागलाई पत्र लेखेको छ । अर्को सडकको पनि काम समयमै सकिने अवस्था आएको डिभिजन सडक कार्यालयका एक अधिकारीले बताए ।

२०७५ जेठ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड