आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२९३ पटक

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा शिखर वार्ता सुरू भएको छ । दुवै नेताले निर्धारित समयमा वार्तास्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन्।

यसैबीच उनीहरूबीच प्रारम्भिक छलफल सुरू भएको छ। वार्ता ४५ मिनेटदेखि लिएर १ घन्टासम्म हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। वार्तास्थलमा भाषा अनुवादक समेत उपस्थित छन्।

इतिहास मै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको हो। हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि ‘एक पटकको अवसर’ भएको बताएका छन्।

शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ। उत्तर कोरियाली नेता किमसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै वार्ताको तयारी राम्रो रहेको जनाएका छन्। तर यस्ता कुराले धेरै महत्व नराख्ने प्रष्ट पार्दै उनले भनेका छन्, ‘शिखर वार्तामा कुनै सम्झौता हुन्छ वा हुँदैन भन्ने चाँडै नै थाहा हुन्छ।’

शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्‍याउने अमेरिकी विश्वास छ। यसैबीच उत्तर कोरिया आफू निश्शस्त्रीकरणका लागि इच्छुक रहेको जनाउ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। तर, त्यो कसरी सम्भव हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन।

सिंगापुरको मुख्य सहरी केन्द्रबाट केही सय मिटर टाढा रहेको एउटा प्रसिद्ध पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा दुई नेताहरूबीचको शिखर बैठक भइरहेको छ।

२ विशिष्ट ब्यक्तिको सुरक्षामा सिंगापुर सरकारले २ हजार नेपाली गोर्खा फौजलाई खटाएको छ । सिंगापुरमा कार्यरत नेपालीहरु रहेको गोर्खा फौजका सिपाही र कमाण्डर दुवै नेताको सुरक्षाका लागि खटिएको सिंगापुरका सरकारी अधिकारीहरुले बताएका छन् ।

ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने
अमेरिकाकी राष्ट्रपति ट्रम्प शिखर वार्ता लगत्तै अमेरिका फर्किनेछन्। उनी मंगलबार बेलुका अमेरिका फर्किने तय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसले जनाएको छ । वार्ता सकेर मंगलबार बेलुका ८ बजे सिंगापुरबाट अमेरिका फर्किने तय भएको हो । त्यसअघि सम्म ट्रम्प केही समय सिंगापुरमै बस्ने अनुमान गरिएको थियो । २ नेताले सामुहिक र बेग्लाबेग्लै भेटवार्तासँगै खाना खानेलगायतका कार्यक्रम छ ।

शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ ।

२०७५ जेठ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...