इमान्दार संवाददाता
२२९४ पटक

बीबीसी।

जोर्डनमा करमा गरिएको वृद्धि तथा सरकारी मितव्ययी कदमहरूको विरुद्धमा कयौँ दिन प्रदर्शनहरू भएपछि त्यहाँका प्रधानमन्त्री हानी मुल्कीले राजीनामा दिएका छन् ।

उनको राजीनामापछि जोर्डनका राजा अब्दुल्लाहले शिक्षामन्त्री ओमार अल रजाजलाई नयाँ सरकार गठन गर्न भनेका छन् ।

प्रदर्शनकारीहरूले सरकारविरोधी नाराहरु लगाएका थिए र प्रहरीसँग झडपमा पनि उत्रिएका थिए । उनीहरूलाई रोक्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो अनि सडकहरू अवरुद्ध पारेको थियो ।

प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले समर्थन गरेको करसम्बन्धी नयाँ विधेयकले विपन्न तथा मध्यमवर्गीय परिवारलाई आघात पार्ने बताएका छन् ।

लगातार चौथो दिनसम्म ती विरोधप्रदर्शनहरू भएका थिए । प्रहरीका अनुसार दर्जनौँलाई पक्राउ गरिएको छ भने सुरक्षासैन्यका चालीसभन्दा धेरै सदस्यहरू घाइते भएका छन् ।

मुल्कीले सो विधेयकलाई पारित गर्ने वा नगर्ने जिम्मा संसद्को भएको भन्दै त्यसलाई खारेज गर्न अस्वीकार गरेका थिए । सार्वजनिक सेवाका लागि खर्च जुटाउन रकमको आवश्यकता परेको उनको सरकारले बताएको थियो ।

साथै करसम्बन्धी नयाँ विधेयक ल्याइनुको अर्थ अधिक कमाउनेले धेरै कर तिर्नुपर्ने भएको सरकारले बताएको थियो । तर सो विधेयकले जीवनस्तर थप खस्काइदिने चिन्ताहरू प्रदर्शनकारीहरुले व्यक्त गरेका छन् ।

हालैका वर्षहरूमा जोर्डनका नागरिकले मूल्यवृद्धिको सामना गर्नुपरेको छ भने तलब सोही अनुरूप बढ्न सकेको छैन । सोमवार जोर्डनका राजा अब्दुल्लाहले मुल्कीलाई बोलाएर उनको राजीनामाको माग गरेका थिए ।

यसै वर्षको सुरुवातमा जोर्डनमा देशको ऋण कटौती गर्ने योजनाअन्तर्गत खरिद करमा वृद्धि गरिएको थियो भने खानेकुरामा दिइएको आर्थिक अनुदान हटाइएको थियो ।

२०७५ जेठ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...