आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२९७ पटक

अहिले खदिजा १८ वर्ष पुगिन् । अफगानिस्तान युद्धभन्दा उनी एक वर्ष जेठी हुन् । अहिलेसम्म उनले तीन वटा विवाह गरिसकिन् । त्यो पनि तीन दाजुभाइसँग ।

उनको पहिलो पति तालिवानी विद्रोही थिए, जो अमेरिकी सेनासँग लड्दा–लड्दै मारिए । दोस्रो पति प्रहरी थिए, जो तालिवानसँग लड्दा–लड्दै मारिए । उनको तेस्रो पति अमेरिकी सेनाका लागि दोभाषे काम गर्थे । अहिले उनी तालिवानको खोजी सूचीमा छन् र तालिवानले बच्चासहित मारिदिने धम्की दिएका छन् ।

खदिजा र उनले विवाह गरेका तीन दाजुभाइको कथा अफगानिस्तानको युद्ध र परम्पराको दुःखान्त कथा हो । यो अफगानिस्तानकै सबैभन्दा हिंसाग्रस्त क्षेत्र हेलमन्ड प्रान्तको कथा हो, जहाँ तालिवानको पकड बलियो छ । त्यहाँ सरकार र विद्रोहीप्रति बाँडिएको वफादारीका कारण थुप्रै परिवार छिन्न–भिन्न भएका छन् । यो परम्परागत समाजमा संघर्ष गरिरहेका त्यस्ता महिलाको पनि कथा हो, जसलाई संस्कृतिले आफ्नो जीवन रोज्ने अधिकार दिएको छैन । पस्तुन समाजमा आफ्ना दाजुभाइको विधवालाई विवाह गर्नु मृत व्यक्तिको दाजुभाइको कर्तव्य हुन आउँछ । ती विधवासँग आज्ञा पालन गर्नु शिवाय कुनै विकल्प हुँदैन ।

अन्यथा तिनले आफ्ना बालबच्चा र बास गुमाउनु पर्ने हुन्छ । अन्य अफगानी ग्रामीण महिलाको जस्तै खदिजाको पनि अगाडिको नाम मात्रै छ । उनको जीवनयात्रा मार्जा भनिने दक्षिणी क्षेत्रको किसान समुदायबाट शुरु भयो । यो स्थान कुनै समय अमेरिकी सेनाले सफलताको स्वाद चाखेको स्थान थियो तर, अहिले यो अफगान सरकारको असफलताको नमुना बनेको छ । त्यहाँका किसान प्रायः अफिमको खेती गर्छन् र तालिवानलाई नियमित कर तिर्छन् ।

जन्मिनुअघि नै काकाको जेठो छोरा जिया उल हकसँग खदिजाले विवाह गर्ने निश्चय भइसकेको थियो । उनीहरुका पिता दाजुभाइ थिए र मार्जामा सँगसँगै उनीहरुको घर थियो । ६ वर्षको उमेरमा खदिजाले औपचारिक रुपमा जिया उल हकसँग विवाह गरिन् । जो उनीभन्दा १५ वर्ष जेठा थिए । यद्यपि खदिजाको उमेर ११ वर्ष अर्थात् किशोरावस्था नपुगुञ्जेल यो विवाहले मान्यता पाउने थिएन । अफगानिस्तानमा बाल विवाह गैरकानुनी छ तर यसको अभ्यास व्यापक छ ।

उनको विवाहले मान्यता नपाइकनै सन् २०१० मा अमेरिकी आक्रमणबाट नजिकैको एक घर ध्वस्त भयो । तालिबान विद्रोही लुकेर बसेको भनेर सो आक्रमण गरिएको थियो । बमको छर्राले लागेर खदिजाको पतिकी ८ वर्षीया बहिनी फरिदाको मृत्यु भयो । त्यसबेला मार्जा तालिबानको अखडा थियो, जसलाई ध्वस्त पार्ने अमेरिकी सेनाको दृढ चाहना थियो । त्यसबेला अमेरिकी हवाइ आक्रमणका कारण मारिनेहरु सर्वसाधारणको संख्या उच्च थियो । जसका कारण जनतामा तीव्र आक्रोश थियो ।

अमेरिकी आक्रमणमा बहिनीको मृत्यु भएपछि जिया उल हक तालिवानमा आबद्ध भए । ‘तिनले उसलाई बहक्याए,’ जिया उल हकका कान्छा भाइ १९ वर्षे समसुल्लाह सम्सुद्धिन भन्छन्, ‘पहिले उसलाई भर्ती हुन बाध्य पारे, त्यसपछि उसलाई फकाए ।’ शुरुमा उनीहरुका तालिवान दाजु बारम्बार घर आउँथे । तर, मार्जामा अमेरिकी सेनाको संख्या थपिएपछि त्यसो गर्न गाह्राे हुन थाल्यो । तालिवानलाई ध्वस्त पार्ने मात्र होइन, स्कुल, विद्युत जस्ता सेवा समेत प्रदान गर्ने गुड्डी हाँक्दै अमेरिकीहरु आइपुगे ।

एक वर्ष बित्यो तर खदिजाको पतिको कुनै खबर सुनिएन । तर एक रात उनको शव कात्रोमा बेरेर तालीवानी टोली आइपुग्यो र परिवारलाई शव जिम्मा लगायो र गोलीले उनको कुम नै उडाई दिएको थियो । १० वर्षको उमेरमा खदिजा विधवा भइन् । हकका दुई दाजुभाइ प्रहरी बने । किनभने प्रहरीको तलब राम्रो थियो । युद्धको बीचमा रोजगारीको अन्य विकल्प पनि थिएन । त्यसपछि खदिजाले जिया उल हककै भाइ अमिनुल्लाहसँग विवाह गरिन् । यो खदिजाकै बाबुको निर्णय थियो । यो विषयमा आफ्नो कुनै जोर नचल्ने कुरा खदिजालाई थाहा थियो ।

२२ वर्षे अमिनुल्लाह त्यस्ता खुँखार प्रहरी थिए, जसको ठूलो चर्चा हुने गर्दथ्यो । ‘जस्तोसुकै गह्राै हतियार पनि ऊ चलाउन सक्थ्यो, ऊ बाट तालिबान पनि त्रसित हुन्थे,’ समसुद्दिन भन्छन् । खदिजा पनि अमिनुल्लाहको बारेमा विरह गाउँछिन् । ‘उनी घर आउँदा मलाई बुर्का खोल्न भन्थे र मलाई नयाँनयाँ कपडा ल्याइदिन्छु भनेका थिए । हाम्रो जीवन राम्रो हुने वाचा उनले गरेका थिए,’ खदिजा भन्छिन्, ‘उनी असल मान्छे र असल पति थिए ।’

तालिबानमा लागेका आफ्ना दाजुझैँ अमिनुल्लाह सरकारको पक्षमा पूरै समर्पित भएर लागे । खजिदा भन्छिन्, ‘उनी भन्थे, मेरो शरीरमा एक थोपा रगत हुञ्जेल यो देश उनीहरुलाई दिन्नँ। म उनीहरुसँग लडिरहन्छु ।’ उनी बाहिर गएपछि नफर्कुञ्जेलसम्म म उनको बाटो हेरिरहन्थें ।’ त्यसबेला उनको गर्भमा छोरी थिइन् । २०१४ मा अमिनुल्लाह नफर्किने गरी गए । सडक छेऊको बम विस्फोट हुँदा उनी मारिए । उनको मृत्युमा तालिवानहरु यति खुशी भए, तिनले भेडा काटे र मार्जाको घरघरै बाँडे । ‘मैले उनलाई गुमाएँ । त्यसबेला मैले सोचेँ, ‘मैमाथि यो बज्रपात किन भयो ?’ तर भगवानको इच्छा त्यस्तै थियो, त्यसैले म केही भन्न सक्दिनँ,’ खदिजा भन्छिन् । त्यसपछि सो परिवार मार्जा छोडेर प्रान्तीय राजधानी लस्कर गाह बसाइँ स¥यो । आफूहरु हिंडेपछि तालिबानले आफ्नो पुरानो घर जलाएको समसुद्दिन बताउँछन् ।

त्यसको केही महिनापछि चौध वर्षको उमेरमा खदिजाले छोरी राकियालाई जन्म दिइन् । अमिनुल्लाहको मृत्युपछि कुरानले भने बमोजिम चार महिना १० दिन उनीहरुले पर्खिए । त्यसपछि २०१५ मा कान्छो भाइ समसुद्दिनसँग खदिजाले विवाह गरिन् । वर्षौँअघि चौध वर्षको उमेरदेखि नै समसुद्दिन मार्जामा रहेको अमेरिकी सैन्य अखडा वरिपरी बरालिने गर्दथे । उनले त्यतिबेलै अमेरिकी सैनिकको संगतमा अंग्रेजी बोल्न सिकिसकेका थिए । त्यसपछि तिनले उनलाई दोभाषेको रुपमा काममा लगाए । उनी प्रतिदिन २५ डलरको उच्च पारिश्रमिक पाउँथे ।

२०१३ मा अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि उनको त्यो काम समाप्त भयो । आजभोलि लस्कर गाहमा रिक्सा चलाउने समसुद्दिन दैनिक ५ डलर कमाउँछन् । उनको आधा दर्जन सदस्य रहेको बढ्दो परिवारमा कमाउने उनी मात्रै हुन् । समसुद्दिनकी आमा गुल जुमाका ११ सन्तानमध्ये अहिले ३ मात्र जीवित छन् । दुई छोरा रोग लागेर बिते भने प्रहरीमै जागिर खाएका अर्का २१ वर्षे छोरा हायतुल्लाह पनि मारिए । उनी अमिनुल्लाहभन्दा केही महिनाअघि तालिवान घुसपैठियाको आक्रमणबाट मारिएका थिए । समसुद्दिन उनको अन्तिम जीवित छोरा हुन् । आफू ‘ठेट पस्तुन’ नभएकोमा समसुद्दिन गर्व गर्छन् । खदिजाको पिता अर्थात् उनका काकाले खदिजाको विवाह आफूसँग प्रस्ताव गर्दा समसुद्दिनले भनेका थिए, ‘यो त उनकै निर्णयमा भर पर्छ ।’

‘मसँग विवाह गर्न उनलाई हामीले करकापमा पारेनौं । चाहेको भए उनलाई हामी बाध्य पनि बनाउन सक्थ्यौं,’ समसुद्दिन भन्छन्, ‘मलाई अरु नै कोही बिहे गर्ने इच्छा थियो तर उनी मेरो दाजुको विधवा थिइन्, त्यसैले मसँग कुनै विकल्प थिएन ।’ समसुद्दिनले यसो भनिरहँदा खदिजा चुपचाप सुनिरहेकी थिइन् । उनले नम्र स्वरमा पतिको प्रतिवाद गरिन् । ‘काकाको छोरा (पति) ले बिहे गर्न मलाई बाध्य बनाउनु भएन,’ उनले पतिलाई नम्रतापूर्वक ‘काका छोरा’ सम्बोधन गर्दै भनिन्, ‘तर पस्तुन संस्कारअनुसार मसँग अरु विकल्प थिएन ।’ परम्परागत क्षेत्रका धेरैजसो महिलाले जस्तै विधवाहरुले काम गर्न पाउँदैनन् । कुनै पनि पुस्तैनी सम्पत्ति मृतकको विधवा वा बच्चामा होइन, दाजुभाइतर्फ सर्ने गर्दछ । खदिजा र समसुद्दिनको छोरा सइद रहमान एक वर्ष पुगिसकेका छन् । तालिवानसँग समसुद्दिनको फोन नम्बर छ र उनीहरु बेलाबखत फोन गरिरहन्छन् । ‘म र मेरो छोरा सइद रहमानलाई मारिदिने धम्की दिन्छन्,’ समसुद्दिनले सुनाए ।

खदिजा र समसुद्दिनले एक अर्काप्रतिको निरासाबारे खुलेर कुरा गरे । यद्यपि उनीहरुले एकअर्काप्रति कुनै तिक्तता देखाएनन् । ‘मेरी पत्नी एकदमै मजबुत छिन् । यिनले जोजस्तो भोगिन्, अरु भए बाँच्ने थिएनन्,’ समसुद्दिन भन्छन्, ‘उनी मबाट धेरै आशा गर्दिनन् । धनको कुरा गर्ने हो भने उनलाई दिने मसँग खास केही छैन । मसँग त मिठो बोली र राम्रो व्यवहार मात्रै छ ।’ ‘म मान्छु, आइमाइले कुरा नसुन्दा लोग्नेले तिनलाई पिट्नुपर्छ, तैपनि मैले अहिलेसम्म यिनलाई पिटेको छैन । मलाई लाग्छ, दाजुहरुका कारण म उनलाई अलि बढी सम्मान गर्छु,’ उनी थप्छन् । मृत दाजुकी पत्नी विवाह गर्नु दुःखद् जिम्मेवारी भएको समसुद्दिनले सुनाए । ‘उनको अनुहारमा हेर्दा म जहिले पनि आफ्नो दाजुको अनुहार देख्छु,’ उनी भन्छन् । खदिजाको लागि पनि यो दुःखद् कुरा थियो ।

‘कुनै बेला मसँग पनि सपना थियो । तर म आफ्नो सपनाबारे कसैसँग कुरा गर्न सक्दिनँ । किनभने म महिला हुँ,’ खदिजाले भनिन्, ‘एक पटक म पनि पढेर शिक्षित महिला बन्न चाहन्थें । र आफ्नै खुट्टामा उभिन चाहन्थे ँ। तर हाम्रोमा यसो गर्नु सम्भव छैन । अहिलेको मेरो सबैभन्दा ठूलो सपना भनेको मेरो यो लोग्ने चाहिँ तालिवानबाट नमारियुन् भन्ने हो। उसको रक्षाका लागि म भगवानसँग पुकार गर्छु ।’ समसुद्दिनका पनि आफ्ना सपनाहरु थिए । अमेरिकी सेनाको काम गरेर उनी टन्न पैसा कमाउँथे । उनले हालिमा नामक केटीसँग विवाह गर्ने योजना बनाएका थिए । हालिमाको पितासम्म उनले प्रस्ताव पु¥याएका पनि थिए । तिनको पिताले यसमा सहमति जनाएका थिए । तर अचानक अमेरिकी सेना हट्यो, उनी बेरोजगार भए, उनको दाजु मारिए । अनि उनले खदिजासँग विवाह गरे । हालिमाले अर्को एक प्रहरीसँग विवाह गरिन् ।

‘मैलै मेरी पत्नीलाई हालिमाबारे बताएँ । किनभने एक हिसाबले हामी दुवैको भाग्य एउटै थियो । कोसँग सम्बन्ध गाँस्ने भन्ने कुरा हामी दुवैले रोज्न पाएनौँ । कहिलेकाहीँ विवाद हुँदा उनी मलाई जिस्क्याउँछिन्, ‘अँ मलाई थाहा छ, तिमी अझै पनि हालिमालाई माया गर्छौ ।’ समसुद्दिनले खदिजालाई माया गर्दैनन् भन्ने होइन । ‘उनी मजत्तिकोलाई सुहाउने गरी राम्री छिन् र एक व्यक्तिका रुपमा म उनलाई मन पराउँछु,’ समसुद्दिन भन्छन्, ‘हामी साथी जस्ता छौँ । आपसमा रमाइलो गर्छौँ । एकअर्कालाई जिस्क्याउँछौँ । तर प्रेम ? हामी एकअर्कासँग खुशी छौँ, त्यसैले म उनलाई माया गर्छु भन्न सक्छु । तर म हालिमासँग गहिरो प्रेममा थिएँ । जब म उनीबारे सोच्छु, मेरो मुटु दुख्न थाल्छ,’ उनले मुड्कीले आफ्नो छातीमा दुई पटक हान्दै भने ।

आफ्नो मृत पति अमिनुल्लाहप्रति खदिजाको यस्तै भावना छ । ‘उनले बाहेक मलाई कसैले म्वाइ खाएको छैन,’ उनी भन्छिन्, ‘अहिले म छोरालाई मात्र म्वाइ खान्छु ।’ अमिनुल्लाहबारे सोच्दा उनलाई सास फेर्न गाह«ो हुन्छ । भन्छिन्, ‘म एक्लै हुँदा रुने गर्छु ।’ केही समयअघि हालिमाका प्रहरी पति तालिवानबाट मारिए । त्यसपछि समसुद्दिन हालिमालाई दोस्री पत्नीका रुपमा भित्र्याउन चाहन्थे । उनका अनुसार हालिमा पनि यसमा सहमत छिन् । ‘तर मसँग दुईटी श्रीमती पाल्न पुग्ने पैसा छैन । समस्या यति मात्रै हो । पक्कै पनि यो विषयमा मैले पत्नी र आमासँग कुरा गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

त्यसैले उनी हेलमन्डमा प्रहरीमा जागिर खान चाहन्छन्, जसरी उनका दाजुहरुले जागिर खाएका थिए । अहिले रिक्सा चलाएर कमाएको भन्दा चार वा पाँच गुणा बढी कमाइ प्रहरीमा हुन्छ । सेना वा अन्य सुरक्षा बलमा भन्दा अफगानी प्रहरीमा मारिने वा घाइते हुने दर बढी छ । त्यसमाथि यो दर हेलमन्ड प्रान्तमा सबैभन्दा उच्च छ । तर प्रहरीमा जागिर खाँदा कमसेकम उनी हालिमासँग विवाह गर्न पुग्ने पैसा कमाउन सक्छन् । पत्नी र आमा अर्को कोठामा गएको बेला समसुद्दिनले यो कुरा बताए । प्रहरीमा भर्ती हुने आफ्नो योजनाबारे उनले बताएका छन् त ? ‘मैले आमा वा पत्नीलाइ यो कुरा सुनाएको छैन ।

लोग्ने मान्छेले यस्ता निर्णय आइमाईलाई सुनाउनु हुँदैन,’ समसुद्दिनले भने, ‘म उनीहरुलाई पछि भन्ने छु ।’ त्यसपछि घरका महिलाहरु पत्रकारसहित अन्य आगन्तुकसँग कुरा गर्न थाले । ‘मलाई थाहा छ, उनी प्रहरीमा भर्ती हुन चाहन्छन् । तर हामी त्यसो हुन दिँदैनौँ,’ खदिजाले भनिन्, ‘उनी प्रहरीमा भर्ती भए भने तालिवानले तीन वा चार महिनाभित्र उनलाई मारिदिने छ । त्यसपछि हामी के गर्ने ? यो सानो केटोको हेरचाह कसले गर्ने ?’ समसुद्दिनले हालिमासँग विवाह गर्ने कुरालाई भने खदिजाले हाँसोमा उडाइदिइन् । ‘काकाको छोराले हालिमासँग कहिल्यै बिहे गर्न सक्तैनन्,’ उनले भनिन्, ‘उनका १० जना देवर छन् । तिनले परिवार बाहिर बिहे गर्न मरे पनि दिँदैनन् । काकाको छोरा सपना मात्र देखिरहेका छन् ।’ (द न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टको अनुवाद) नयाँ पेज

२०७५ जेठ १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...