इमान्दार संवाददाता
१६४७ पटक

काठमाडौं ।

वरियताक्रमको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनको हेडक्वार्टर बैठकमा खैलाबैला भएको छ ।  वरिष्ठ नेता झलनाथ खनालले वरियता मिचिएको भन्दै बैठकमै कडा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको अण्डरलाइनकोपहिलो हेडक्वार्टर बैठकमा खनालले वरियता मिचिएकोमा खेद व्यक्त गरेका हुन्।

खनाल कडा रुपमा प्रस्तुत भइरहँदा अध्यक्षद्वय ओली र प्रचण्ड भने चुप बसेका थिए। खनालले चर्काचर्की गरेपछि अध्यक्षहरूले अर्को बैठकमा छलफल गर्ने आश्वासन दिएको स्रोतले बतायो ।

नेकपाको वरियतामा खनाल चौंथो नम्बरमा छन् । यसअघि उनी एमालेमा दोस्रो नम्बरमा थिए । पार्टी एकताका बेला चीन भ्रमणमा रहेका खनालले आफूलाई अर्का नेता माधव नेपाल भन्दा पछाडि राखिएकोमा आपत्ति जनाएका हुन् ।

तत्कालीन नेकपा एमालेमा वरिष्ठ नेता रहेका खनाल माधव नेपाल भन्दा अगाडि थिए । उनले आफूलाई माधव नेपालभन्दा अगाडि राख्न माग गरेका छन्। नेकपाले भने दुवै पूर्वप्रधानमन्त्रीलाई वरिष्ठ नेताको दर्जा दिएको छ।

एकता भएको हप्तादिन नबित्दै अण्डरलाइनभित्र बबण्डर सुरु भएपछि ओली- प्रचण्ड तनावमा छन् । एमाले-माओवादीबाट आफु निकटका नेताहरु बरियता मिचेर सिनियर बनाएपछि असन्तुष्ट पक्ष ‘फायर’ बनेको छ ।

यसअघि नै पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरियता अस्वीकार गरिसकेका छन् । तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको दावीसमेत गरेका छन् । खनालले पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको बताएका छन् ।

‘अहिले म विशेष र गम्भीर प्रकारको शारीरिक समस्याबाट ग्रस्त छु । त्यसको उपचार अन्वेषणका सिलसिलामा म चीनको सेचुवा प्रान्तको छन्दुमा म गएँ । त्यहाँ खासगरी ट्रेडिसनल पद्धतिबाट उपचार गर्ने चर्चित डाक्टरहरु छन् भनेर गएको हो । त्यहाँ मैले उनीहरुसँग भेटेर रोग पहिचानको प्रयास गरेँ । उनले भनेक छन्- ‘अर्को त्यही बेला त्यहाँ एउटा सांस्कृतिक सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोलाएका थिए । दुवै कुरा एकैचोटी हुन्छ भनेर मैले जाने योजना बनाएँ ।’

पार्टी एकता घोषणा हुँदा खनाल चीनमा थिए । आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको समेत उनले बताए ।

‘म जानुभन्दा अघिल्लो दिन जेठ एक गते युवा दिवसका अवसरमा युवा संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी ओली र म सँगै थियौं । दुवैजनाले भाषण पनि गरियो । म त्यहाँ हुँदा उहाँले केही पनि भन्नुभएन । भोलि चार बजे स्थायी कमिटी बैठक राख्नुपर्छ होला भन्नुभयो ।’ उनले अगाडि भनेका छन्- ‘ मैले यस्तो कार्यक्रम बनाएको छु भन्ने जानकारी दिएँ । उहाँले ए मात्र भन्नुभयो । यसरी भोलि एकताको कुरा हुँदैछ भन्ने सूचना दिएको भए सम्भवतः म चीन जाने कार्यक्रम रद्द गर्न सक्थेँ ।’

आइतबार चीनबाट फर्किएलगत्तै खनालले आफूमात्र होइन, ईश्वर पोखरेल र भीम रावललगायतका नेतामाथि पनि अन्याय गरिएको आरोप लगाएका थिए । खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको आरोप पनि लगाएका छन् ।

‘यसप्रति मेरो गम्भीर आपत्ति छ । र म यो दुःख व्यक्त गर्न चाहन्छु । मेरो अनुपस्थितिमा मेरो मुल्यांकन स्वयं कमिटीले पनि गर्न सक्दैन ।’ उनले भनेका छन्- ‘तर, म अनुपस्थित भएको अवस्थामा कमिटीमा छलफल नगरी जुन ढंगले वरियतालाई तलमाथि गर्ने काम भएको छ, यसप्रति मेरो गम्भीर आपत्ति रहेको सबैमा जानकारी गराउछु । यो कुरालाई म कुनै हालतमा स्वीकार गर्दिन ।’

खनालले पार्टी एकताको विशेष श्रेय प्रचण्डलाई दिँदै अब आफ्नो साथ प्रचण्डलाई हुन सक्ने संकेत पनि गरेका छन् । साथै उनले तत्कालिन एमालेका तर्फबाट मनोनित गरिएका ४५ जनाको सूचीमाथि पनि असहमति जनाएका छन् ।

अनि तत्कालिन एमालेका तर्फबाट ४५ जनाको केन्द्रीय कमिटीमा मनोनयन भएको कुरा के हो ? भन्ने प्रश्नमा खनालले जवाफ दिँदै भनेका छन्- ‘यो झनै आपजिनक छ । मसँग कुनै सल्लाह भएको छैन । म हेर्दैछु, कसरी पार्टी अगाडि बढ्दैछ । कमिटी प्रणाली र सामूहिकता भन्ने कुुरा पनि हुन्छ कि हुँदैन, म गम्भीर रुपमा हेर्दैछु । केपी ओली र माधव नेपाल भएर गरेको कुरा कमिटीको हुन सक्छ ? म यसबारेमा अहिले बुझ्दैछु ।’

यता अण्डरलाइनका स्थायी समिति सदस्य भीम रावल पनि ओलीसँग ‘फायर’ भएका छन् । यसअघि तत्कालिन एमालेका उपाध्यक्ष रहेका रावलले आइतबार ओलीलाई आकिस्मक रुपमा भेटी आफ्ना असन्तुष्टि पोखिसकेका छन् । दिउँसो ४ बजे आकस्मिक रुपमा ओलीलाई भेट्न बालुवाटार पुगेका उनले ओलीलाई खुल्लमखुल्ला चुनौती दिएका थिए ।

२०७५ जेठ ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...