इमान्दार संवाददाता
६६९१ पटक

काठमाडौं, ३१ वैशाख ।

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीले संसदमा आफ्नो आलोचना गरेर मर्यादा भुलेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधान संशोधनको एजेण्डा जीवित रहेको बताए । ‘संविधान संशोधनको एजेण्डा हामीले उठाउँदै आएको कुरा सबैलाई थाहा छ’, उनले भने, ‘सबै कुरा जान्दा जान्दै संसदमा आलोचना गर्नु उहाँको कुरा होला !’

मुख्य मन्त्री राउतले संविधान संशोधनका बारेमा आफूले बोल्दै आएको कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका बेला निर्धक्कसँग भनेको बताएका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष प्रदेश २ का जनताको भावना राखेको हुँ’, मुख्यमन्त्री राउतले भने, ‘ओलीजीले असन्तुष्टि जनाउनुको कुनै अर्थ छैन । संविधान संशोधन साँचो कुरा हो, झुठलाई साँचो बनाउन सकिँदैन ।’

मोदीको नागरिक अभिनन्दनका बेला प्रदेश २ का मुख्यमन्त्री राउतले संविधान संशोधनको कुरा उठाएपछि सबैले आलोचना गरेका थिए । त्यति मात्रै होइन आइतबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले पनि असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्रीले समेत आलोचना गरिसकेको अवस्थामा तपाईले पदबाट राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा राउतले भने, ‘मैले राजीनामा दिने ! कसैले दिएको मुख्यमन्त्रीको पद हो र ? मेरो कारण लाखौँ जनता अभिनन्दनमा आएका थिए । मैले राजीनामा दिने सवाल छैन ।’

पदीय मर्यादा विपरित नागरिक अभिनन्दन कार्यक्रम मन्त्रीले उद्घोषण गरेको तथा कार्यक्रमको अध्यक्षता मुख्यमन्त्रीले गरेको बारेमा सोधिएको प्रश्नको जवाफमा राउतले भने, ‘त्यो हाम्रो कुरा हो । कसैले सिकाउनु पर्दैन । जे निर्णय गरे पनि हामीले गर्ने हो ।’

मोदीको नागरिक अभिनन्दन जनकपुर नगरपालिकाले गरेको थियो । तर, कार्यक्रमको अध्यक्षता मेयरले गर्नुपर्नेमा मुख्यमन्त्री राउत आफैले गरेका थिए ।

नेपाल भ्रमणमा आएका मोदी जनकपुरदेखी मुक्तिनाथसम्मको धार्मिक यात्रा सकेर काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अभिनन्दन ग्रहण गरेर स्वदेश फर्किएका थिए ।

यस्तै मोदीले नेपालको अरुण तेस्रो लगायत दर्जनौ दीर्घकालीन महत्वका आयोजनामा आफुले भारतले लगानी गर्नेबारे प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र उक्त सम्झौता राष्ट्रघाती भएको भन्दै सर्बत्र बिरोध भएको छ ।

मोदी र ओलीबीच भएको सम्झौताको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले बैशाख ३० गते नेपाल बन्दको समेत आव्हान गरेको थियो । नेकपा बाहेक अरु कसैले पनि मोदी-ओलीबीच भएका सम्झौताका बारेमा बोल्न सकेका छैनन् ।

नेकपाले ओलीले भारतसँग गरेका सम्झौताकासाथै भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाल प्रवेश गरेको, मोदीलाई अभिनन्दन गर्न आयोजित कार्यक्रमको समाचार सम्प्रेषण गर्न गएका पत्रकारहरुलाई गरिएको दुर्व्यवहारको बिरोध गरेको छ ।

यता सरकारले भने सरकारका गलत क्रियाकलापको बिरोध गर्ने नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दा लगाएर हिरासतमा राख्ने कार्यलाई ब्यापक बनाएको छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...