इमान्दार संवाददाता
६३६ पटक

काठमाडौँ ।

सोमबारदेखि नेपालका सबै औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको छ । ०७३ तिहारदेखि काठमाडौँ लगायत देशका धेरै सहरको लोडसेडिङ  हटाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेका छन् ।

माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ उर्जामन्त्री भएका बेला उज्यालो नेपाल अभियान सुरु गरेपछि काठमाडौँको लोडसेडिङ अन्त्य गरेका कार्यकारी निर्देशक घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्यका अभियन्ता मानिन्छ ।

यस्तै घिसिङले आफुले लोडसेडिङ अन्त्य गरेको घोषणा गर्न पाउँदा निकै खुसी भएको बताएका छन् । उनले उज्यालो नेपाल अभियानको एउटा खुड्किलो पार गरेको भन्दै देशभर लोडसेडिङ हटाउने आफ्नो सपना पुरा भएको बताएका छन् ।

यस अघि औधोगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले विद्युत् आपूर्ति कटौति गर्दै आएको प्राधिकरणले सोमबारदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ पनि पूर्णरुपमा हटेको घोषणा गरेको हो । माग र आपुर्तीको सन्तुलन नमिल्दा विगत १५ वर्ष अघिदेखि देशमा लोडसेडिङ हुँदै आएको थियो।

नदिहरुमा पानीको बहावमा भएको बृद्धि, विद्युतगृहहरुको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग विजुली भारतबाट आयात गरिएकाले मुलुकलाई लोडसेडिङ मुक्त गर्न सकिएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक महिनाअघि नै वैशाखदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा धेरै बिजुली थपिने भएको छ ।

सरकारी तीनवटा सरकारी आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ वटा आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली यसै वर्ष केन्द्रीय प्रशारण लाइनमा थपिन लागेका हुन् ।

एक हजार मेगावाट बिजुली थपिएपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्ने प्राधिकरणले जनाएको छ । हाल मुलुकमा करिव १५ सय मेगावाट बिजुलीको माग छ ।

सरकारले आगामी पाँच वर्षभित्र मुलुकमा पाँच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना लगायतका कतिपय ठूला आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

यस्तै विद्युत प्राधिकरणले विजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध पनि गरेको छ ।

उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधीकरणको अभियानमा सघाउन कार्यकारी निर्देशक घिसिङले अपील पनि गरेका छन् ।

२०७५ बैशाख ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड