इमान्दार संवाददाता
२९६ पटक

डोल्पा।

कर्णाली प्रदेशको डोल्पामा स्थानीय र प्रहरीबीच भिडन्त भएको खबर प्राप्त भएको छ । स्थानीयले दिएको जानकारी अनुसार आइतबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ परेपछि गाउलेहरु आक्रोशित भएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोड़ी र नेपालका प्रधानमन्त्री ओलीबीच भएको अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौता विरुद्ध नेकपाले आइतबार नेपाल बन्द आयोजना गरेको थियो ।

उक्त नेपाल बन्दको सिलसिलामा पक्राउ परेका नेकपाका कार्यकर्तालाई प्रहरीले रिहा नगरी सदरमुकाम लैजान लागेपछि स्थानीयवासीले प्रहरीको टोलीमाथि हमला गरेको बताइएको छ ।

प्रहरी र स्थानीयवासीबीच भएको केहीबेरको भिडन्तपछि नेपाल बन्दका क्रममा पक्राउ परेका डोल्पा मुड्केचुला गाउँपालिका-९ घर भएका नेकपा जिल्ला सदस्य सागर शाही प्रहरीको थुनामुक्त भएका छन्।

त्रिपुराकोट प्रहरीले पक्राउ गरेका शाहीलाई स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका-९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा स्थानीयवासी र प्रहरीबीच भिडन्त भएको थियो ।

स्थानीयवासीले प्रहरीमाथि नै हमला गरेर पक्राउ परेका नेकपा कार्यकर्ता छुटाएपछि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

बन्दका क्रममा नेकपा डोल्पाका सागर शाही, विवश शाही र दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । भिडन्तमा परी प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेत घाइते भएका छन् ।

२०७५ बैशाख ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड