इमान्दार संवाददाता
५६३ पटक

संजिव कार्की 

आदरणीय महामहिम प्रधानमन्त्री मोदीज्यू,
अभिवादन ।

जतिबेला हामी प्राकृतिक प्रकोप र दैवी विपत्तिले मर्माहत बनेका थियौं, घरबारविहीन श्रीसम्पतिबिहीन अनि आफ्ना प्रियजन र आफन्तजनबिहीन भएर थिलथिलो परेका थियौं । शोक, पिडा, भय र आतंकले मर्नु र बाँच्नुको दोसाँधमा परेको बेला अमानवीय नाकाबन्दी थोपरेर दुखेको घाउमा मलमपट्टीको सट्टा नुनुचुक छरेर कति मजा लिनु भयो हगि ! एउटा असल छिमेकीको गुण लाउनु भएको थियो जो आज तपाईको अभिनन्दन गर्ने कुरा सुन्दा सम्झन मन लागेको छ । आर्थिक रुपमा जर्जर थियौं, शोक र पीडाले शरीर क्लान्त थियो, धर्मराउँदा धर्मराउँदै उठ्ने पिडा भुल्ने तरखरमा थियौं । मानसिक रुपमा निकै शिथिलता छाएको थियो तर पनि अलि अलि होश सम्हाल्दै यथास्थितिमा फर्कने यत्न हुदै थियो । बिग्रे भत्केका संरचना जस्तापाताको सहाराले टहरामा रुपान्तरण हुँदैथियो । दैनिक जनजीवन असामान्य स्थितिबाट सामान्य हुन के खोजेको थियो, पार्टीहरु मिलेर संविधान आफैले लेखेको, आफ्नै बुताले लेखेको घोषणा गर्नमात्र के सकेका थिए, हाम्रो सीमाभित्र केही सय मान्छे धर्नामात्र के बसेका थिए, त्यही बहाना र उनीहरुलाई देखाएर तपार्इले अघोषित नाकाबन्दीको उपहार दिनु भयो । सब मानवता भुलेर नाकाबन्दीको नाइके बन्नु भयो ।

लेखक

नाकाबन्दीमा त सबैकुराको बन्दी हुन्छ । सबै आयात निर्यात रोकिन्छ बरु । अत्यावश्यक बस्तु सेवाको निकासी पैठारी युद्धको समेत नियम र सिमा हो तर तेल, ग्यास, अक्सिजन र अत्यावश्यक बस्तुको ढुवानी बन्द गरेर छिटै कुहिने साग सब्जी, फलफुल तरकारी पठाएर हाम्रा लागि सहानुभूतिको व्यापार समेत गर्नुभयो । नाकाबन्दी त गर्नुभयो तर अचम्मको नाकाबन्दी अनुभव र अनुभूति गराउनु भयो । अब मेरो देशले गर्ने अभिनन्दनको बेला तपाइले गर्नु भएको यो सुकृती झल्झली सम्झदै छु, सम्झाउदै छु । अस्पताल जान नपाएर कति आफन्त बिते, बच्चा पाउन नसकेर कति सुत्केरी आमा बिते, सुन्दर संसार हेर्न आएका बच्चाले तपार्इको अमानवीय नाकाबन्दीले त्यो अधिकार पाउन सकेनन्, नजन्मदै मरे कति, जन्मेर पनि मरे । यो नाकाबन्दीको बेला कति छोराछोरी आफ्ना बाबुआमाको अन्तिम अवस्थाको मुख हेर्न समेत पाएनन् । यो कसको कारण भयो ? तपार्इलाई एउटा नागरिकको रुपमा नागरिक अभिनन्दन गर्दा म बिर्सु कसरी ? के तपाईको मानवता आवरणमा मात्र हो ? मानवता देखिने अनि सहजानुभुति गरिने हुनुपर्छ होइन र ? तपाईको मानवीय संवेदना मरेको दिन, क्षण र पल सम्झेर सारा नेपालीको मन रोएको छ । एउटा शक्तिशाली विशाल छिमेकीले सानो बिपन्न र निर्मम प्राकृतिक प्रकोप भूकम्पले मर्माहत बनेको राष्ट्रिय संकटमा परेको छिमेकीलाई गर्ने ब्यबहार के त्यस्तै हो ? पीडाले आक्रान्त, भयले त्रसित भएर घाइते भएर लडेको बेला मलमपट्टीको जरुरी भएर पानी–पानी भनिरहेको बेला मुखमा पिसाब फेरिदिनु भयो, के तपाईको धर्म तपाईले बोकेको दर्शन र राजनीतिले सिकाएको नैतिकता यही हो ? हामी भौगोलिक रुपमा साना छौं, आर्थिक अभाव र विपन्न छौ तर मनले मानवताले अनि सेवा र धर्मले विशाल हृदयका छौं, तपाई झैँ दरिद्र र कंगाल छैनौं ।

मोदी महोदय,

आज म नेपाल भारतको विशाल भीमकाय र दुरुह राजनीतिक आरोह अवरोह अनि हाम्रा समस्या र अप्ठ्यारोको पोको फुकाउन चाहन्न, मात्र मानवीय समवेदना, संवेदनशीलता र मानवोचित विषय र सामाजिक पक्षमा तपाईले गर्नु भएको ताण्डवनृत्यको बारेमा थोरै सम्झाउन चाहन्छु । के भौगोलिक आधारमा सानो हुनु नै हाम्रो तपाईसंगको मित्रताको लागि अयोग्यता हो ? मानवीय सम्बन्ध के आकारले निर्धारण गर्छ ? हात्तीलाई चोट लाग्दा दुख्ने कमिलालाई चोट लाग्दा नदुख्ने हुन्छ र ? हामीलाई पनि थाहा छ नाकाबन्दीको कारक र कारण नेपाली नागरिकताधारी हाम्रा सिमा भित्रका स्वार्थहरू पनि हुन्, छन् । तर तिनको सानो स्वार्थ देखाएर तपाईले जुन विवेकहीन ब्यबहार गर्नुभयो त्यो नितान्त खेदजनक छ । विश्व राजनीतिक रंगशालामा समेत त्यसको शायद कसैले समर्थन गरेनन्, गर्दैनन् जुन तपाईले गर्नु भयो । विशाल छिमेकी भएर एउटा सानो मित्र राष्ट्रलाई रिझाउन सक्नुहुन्न, बरु मानवीयताको खिल्ली उडाएर अनैतिक र असभ्य अक्षम्य ब्यबहार गर्नुभयो । महाशक्ति राष्ट्रको नेता बन्ने मनसुवा भएको देशले आफ्ना छिमेकीप्रति गर्ने ब्यबहार के यस्तै हो ? तपार्इको ऋषि मनमा कसरी एकाएक राक्षषी भुत सवार हुन पुग्यो ? हाम्रो आँशु, पिडा, रोदन र चित्कार किन प्रिय ठान्नु भयो ? कुन आध्यात्मिक दर्शन र चिन्तनले तपाईलाई यो आन्यायको लागि उक्सायो ? यी यावत हाम्रा प्रश्नको जवाफ दिएर तपाई आउनु भएको भए हुन्थ्यो । हाम्रो यो समयको पुस्ता तपाई प्रति यति रुष्ट र नकारात्मक छ जसको चित्त अब तपार्इको चिप्लो घसेको बोलीले होइन, ब्यवहारले बुझाउन आवश्यक छ ।

अब भन्नुस्, तपार्इको भ्रमण कुन कारणले हाम्रोलागि हर्ष र पर्वको रुपमा बुझ्ने ?

‘अतिथि देवो भव’ अर्थात् पाहुना देवता हुन्, देवतासरह हुन् । हामी नेपाली अतिथिलाई देवतुल्य सम्झन्छौ, देवताको स्थान दिन्छौं जुन हाम्रो संस्कार हो, मौलिकता हो । संस्कृति हो, निरन्तरता हो । आफु भोको भएर पनि अतिथितिलाई मिठो मसिनो खुवाउनु, अतिथितिको यथोचित सम्मान, मर्यादा र देखभाल हाम्रो कर्तब्य हो । हामीलाई हाम्रा पूर्वजले दिएको, छोडेर गएको, मौलिक संस्कारगत पुँजी हो । पाहुनाको असम्मान, अमर्यादा र अपमान किमार्थ हाम्रो लागि स्वीकार्य हुन्न, गर्दैनौं । अपसंस्कृति र अपचलन हाम्रो अभिष्ट होइन, हुन दिँदैनौं तर मोदीजी, तपार्इलाई कुन मन लिएर, कुन खुशी–उमंग र उल्लास बोकेर सम्मान गरौं, श्रद्धा र आदर गरौं ? तपाईको सम्मानले केही दुर्जनहरु खुशी होलान् तर सज्जन र असलमनको हृदय त कुढिन्छ नै । सुन्दरता र कुरूपताको परिभाषा एकै हुन सक्दैन । बैगुनीलाई गुनले मार्नु भन्छन् तर त्यो कहालीलाग्दो अत्याचार, त्रासदीपूर्ण स्थितिलाई कसरी आजको भोलि भुल्ने विस्मृतिको गर्तमा धकेल्ने ? एउटा दुखद सपना र हो र भुल्न बिर्सनलाई ? चहरार्इरहेको घाऊ र दुखेको दिल लिएर कसरी तपाईको अभिनन्दन गरौं ? हाम्रो पनि आत्मा छ, मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला र यो संसारमा ?

प्रधानमन्त्री मोदीज्यू,

तपाई अहिले औपचारिक नेपालको राजकीय भ्रमणमा होइन केवल तीर्थाटन गरेर प्रायाश्चित गर्न आएको सम्झनुस् । तपाईको नागरिक अभिनन्दन केवल सरकारी औपचारिकता मात्र हो नागरिक अभिनन्दन होइन, सरकारी अभिनन्दन हो नागरिक भन्न मिल्दैन । नागरिक अभिनन्दनको लागि त जनता तयार हुनुपर्‍यो नि । यदि तपाईले कुनै प्रयाश्चित र क्षमा याचना बिना सरकारले अभिनन्दन गर्छ, दिन्छ भने त्यो नेपाली आमाको रगत पसिना आशु क्रन्दन चित्कार र रोदनले भरिएको श्राप हुनेछ । जुन श्रापले तपार्इको राजनीति धर्म दर्शन र आध्यात्मिक पाखण्डको सधै सधै सत्यानाश गर्नेछ ।

महामहिम मोदीज्यू,

तपाईलाई विनम्रतापुर्वक अन्त्यमा एउटा सुझाव दिन्छु जुन तपाई हामी दुवैको हितमा छ । सधै तपाईसँग तपार्इको सामर्थ्यसँग जोरी खोज्नु हाम्रो रहर होइन, छैन तर हामी हाम्रो स्वाभिमान प्राण जत्तिकै प्यारो सम्झन्छौं । यो भ्रमण विशुद्ध धार्मिक उद्देश्य र नेपाली जनतासँग आफ्नो कुकर्मप्रति खेद र प्रायाश्चितत गर्न आएको भनेर सम्झनुस् । नेपाली भूमिमा पाइला राख्ने बित्तिकै भन्नुस् म तपाईको दुखेको दिलमा मलम लगाउँछु, जे गरे त्यो मेरो गम्भीर भुल थियो, अब उप्रान्त त्यस्तो भुलेर पनि हुनेछैन, गर्नेछैन, दोहोर्‍याउने छैन । मोदीजी ! कोशीको पवित्र जल छोएर, लुम्बिनीको माटो समाएर, पशुपतिको चन्दन लगाएर, जानकीको कसम खाएर भन्नुस् मैले गल्ती गरेँ माफ पाउँ । यति भनेर यो तीर्थाटन पुरा गर्नुस् अनि ब्यबहार र प्रतिबद्धता पनि त्यस्तै गर्नुस् । सबैभन्दा पहिले मनको कालो पखालेर जानुस्, नेपाली जनतामा भएको घृणा मेट्ने बचन बोलेर जानुस् र अर्को पटक असल छिमेकी भएर आउनुस् । नेपाली जनताले तपार्इको सब नाजायज भुल बिर्सेर भब्य सभ्य नागरिक अभिनन्दन गर्नेछन् । नेपालीहरु क्षमाशील र दिलका बडा धनी छ्न् । धन्दा नमान्नुस्, हतार नगर्नुस् तपाई अहिले नागरिक अभिनन्दन होइन नागरिक क्षमा याचनापत्र बोकेर आउनुस् ।

२०७५ बैशाख २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...