इमान्दार संवाददाता
३१८ पटक

नुवाकोट ।

भूकुम्पले घरबारविहीन भएर नुवाकोटको विदुर नगरपालिका १ सिमुटारमा बस्दै आएका भूकम्पपीडितहरुलाई सरकारी निकायले बस्ती खाली गर्न अल्टिमेटम दिएको छ ।

विदुर नगरपालिकाले चैत २९ गते सूचना जारी गर्दै सिमुटारमा बस्दै आएका भूकम्पपीडितलाई बैसाख १५ सम्ममा बस्ती खाली गर्न अल्टिमेटम दिएको हो । नगरपालिकाको उक्त अल्टिमेटमपछि भूकम्पपीडितहरु चिन्तित बनेका छन् ।

घरबारविहीन नागरिकहरुको जिउधनको रक्षा गर्नुभन्दा पनि सरकारले उल्टै पीडित आफैले जेनतेन जोडेर बसेको झुप्रो पनि खाली गर भनेपछि भूकम्पपीडितहरुलाई पिडामाथि पिडा थपिएको छ ।

सरकारले वैकल्पिक व्यवस्था नगरी यसरी भूकुम्पपीडितलाई बस्ती खाली गर्न नगरपालिकाको अल्टिमेटम जारी भएपछि उनीहरुले नगरपालिकासँग वैकल्पिक बसोबासको माग गर्दै बस्ती खाली नगर्ने अडान राखेका छन्।

२०७२ बैसाखको महाभूकम्पले घरबारविहीन भएका साल्मे, भाल्चे, किम्ताङ, उर्लेनी लच्याङ र रसुवाको समरथली र यर्सा लगायत ठाउँका २ सय भन्दा बढी परिवार सिमुटारमा बस्दै आएका छन्।

पीडितलाई पुरानै ठाउँमा जान मन त छ तर पहिरोको पिर 

भूकम्पपीडितहरु आफ्नै पुरानो बस्तीमा जान तयार छन् तर भूकम्पले हल्लिएको जमिन भएका कारण माथिबाट पहिरो खसिरहने हुँदा उक्त ठाउँमा बसोबास गर्न नसकिने बताउछन् ।

सिमुटारमा बस्ने साल्मेका भूकम्पपीडितहरु पहिरोले सधैं पिरोल्ने गरेकाले आफूहरु अब साल्मेमै गएर बस्न नसक्ने बताउछन्। उनीहरु भन्छन्- ‘आफ्नै ठाउँमा जान मन छ । तर पहिरो झरेर कुनबेला पुनः बस्ती नै लान्छ केही थाहा छैन त्यसैले पुरानै ठाउँमा बस्न सकिन्न ।’

उनीहरु भन्छन्- ‘यसै त भूकम्पले घर भत्काएर घरवारविहीन बनाएको छ त्यसैमाथि नगरपालिकाले बसेको ठाउँ पनि खाली गर भन्यो । यसले हामीलाई पिडामाथि पीडा थपियो।’

सरकारले आफुहरु बसिरहेको ठाउँ खाली गर्न अल्टिमेटम दिनुभन्दा पहिला सिमुटारको जस्तै स्वास्थ्य र शिक्षाको सुविधा भएको अर्को वैकल्पिक ठाउँको ब्यबस्था गरेर अभिभावकको भूमिका खेल्नुपर्नेमा अपराधीलाई जस्तै गरी अल्टिमेटम दिएर राज्य कुरुर बनेको पीडितहरुको गुनासो छ ।

नगरपालिका र पीडितका आ-आफ्नै अडान

अहिले भूकम्पपीडितहरु बसिरहेको ठाउँमा सरकारले राष्ट्रिय गौरवको आयोजना बनाउन लागेकोले राज्यलाई आबस्यक जमिन खाली गर्नुपर्ने भएको बस्ती उठाउन अल्टिमेटम दिएको नगरपालिकाको भनाई छ ।

बस्ती खाली गर्न अल्टिमेटम दिने नगरपालिका र भूकम्पपीडितका आ-आफ्नै तर्क छन्। पीडितहरुका घरहरु पुनर्निर्माण गर्ने क्रम जारी रहेकाले उनीहरुलाई आफ्नै बस्तीमा फर्किन र अहिले बसिरहेको जमिन खाली गर्न अल्टिमेटम दिएको नगरपालिका बताउछ भने उक्त कुरा झुटो भएको पीडितहरुको भनाई छ ।

तत्कालीन बेला भूकम्पपीडितहरुलाई सम्बन्धित स्थानमा बसोबासको व्यवस्था नभएसम्म सिमुटारमा अस्थायी बसोबासको प्रबन्ध मिलाएको भन्दै विदुर नगरपालिकाले तत्कालिन बेलाको मौखिक सहमति अनुसार नै बस्ती खाली गर्न लागेको बताएको छ ।

दैवी प्रकोप उद्धार समितिका प्रतिनिधि, स्थानीय प्रशासक र पीडितहरुबीच आवश्यक पर्दा बस्ती छाडिदने गरी मौखिक सहमति भएको नगरपालिकाको दाबी छ । यता पीडितहरु भने नगरपालिकाले भने जस्तो घर निर्माण नभएको बताउछन् ।

उनीहरु भन्छन्- ‘घर निर्माण पनि भएका छैननन् माथिबाट सुक्खा पहिरो झर्ने क्रम पानी रोकिएको छैन । त्यसैले पुरानै ठाउँमा गएर ढुक्कसँग बस्ने बाताबरण बनेको छैन । अहिले नै हामी त्यहा गैर बस्न सक्ने अबस्था छैन ।’

नगरपालिकाले वैकल्पिक बसोबासको ग्यारेन्टी गरेपछि आफुहरु उक्त ठाउँ खाली गरेर जान तयार रहेको भूकम्पपीडितहरुको भनाई छ भने यता मेयर सञ्जु पण्डितले तोकिएको समयभित्र पीडितहरु त्यहाबाट नहटे कडा कदम चाल्ने बताएका छन् ।

तस्बिर नेपाल लाइबाट
२०७५ बैशाख ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड