इमान्दार संवाददाता
६१२ पटक

काठमाडौं ।

नेपाल सरकारले प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि एकाएक असन्तुष्ट बनेका डिआईजी रमेश खरेलले खनाल आईजीपी भएको २४ घण्टा नपुग्दै आफ्नो पदबाट राजिनामा दिएका छन्।

खरेल आफै नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार थिए । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट बनेका खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरेका छन् । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’ खरेलले भनेका छन् ।

प्रहरी प्रवेश गर्दा एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्ने सपना देखेका खरेलले कुनै गल्ती नगरेको र अबसर नपाएको भन्दै अपमानित भावना बोकेर संगठनमा बस्दा राम्रो नतिजा ल्याउन नसकिने भन्दै राजीनामा दिएको बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो । नवनियुक्त प्रहरी महानिरीक्षक खनालले भने खरेललाई राजीनामा नदिन बरु मिलेर काम गर्न आग्रह गरेका थिए ।

खनालले आफुहरु २८ वर्षसम्म संगठनमा सँगै मिलेर काम गरेको भन्दै खरेललाई सेवाबाट अलग नहुन आग्रह गरेका थिए । संगठनलाई अझ बलियो बनाउन सेवाबाट अवकाश नदिई खरेलले साथ दिन खनालले आग्रह गरेका थिए।

प्रहरी प्रमुख सरकारले विधि र प्रक्रियामा रहेर चयन गर्ने हुदाँ त्यसमा दुखी नहुन पनि खनालले खरेलसँग आग्रह गरेका थिए । तर खरेलले निकै अपमानित अनुभूति गरेको भन्दै मंगलबार नै राजिनामा दिने निर्णय फिर्ता नहुने बताइसकेका थिए ।

२०७४ चैत २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड