इमान्दार संवाददाता
३४६ पटक

पोखरा।

नेपाली नयाँ वर्ष होस् या अंग्रेजी नयाँ वर्ष पोखराले सामूहिक सेलिब्रेट गर्छ । कहिले ‘जाउँ है पोखरा’ भन्दै नेपालका विभिन्न सहरदेखि विदेशसम्म निम्तो बाँड्न पुग्छन् पोखराका व्यवसायी ।

पोखरामा केही न केही उत्सव भइरहन्छन्, कहिले लेकसाइड त लेखनाथ, अन्य क्षेत्रमा । यसपालि पनि फेवाताल किनारमा नयाँ वर्ष उत्सवका रुपमा सेलिब्रेसन हुन लागेको छ । ‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर पोखरामा फेवा नव वर्ष महोत्सव हुन लागेको छ ।

यो १५ औं संस्करणको महोत्सव हो । फेवाताल किनार कोमागाने पार्कमा हुने नयाँ वर्ष महोत्सवमा रुमाउन देशविदेशका पर्यटक भेला हुँदैछन् । पश्चिमाञ्चल होटल संघले चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म मेला गर्न लागेको हो ।

महोत्सवको सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । ‘नयाँ वर्षलाई हामीले उत्सवका रुपमा सामूहिक मनाउन लागेका हौं,’ तुलाचनले भने, ‘प्रत्येक वर्षजस्तै यो वर्ष पनि पोखरा नयाँ वर्ष महोत्सवमा रमाउने छ ।’

महोत्सव १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने विश्वास लिएको महोत्सवका संयोजकसमेत रहेका तुलाचनले बताए । प्रत्येक दिन बिहान ११ बजेदेखि राति १० वजेसम्म महोत्सव चल्ने छ । तर ३० गते राति भने १ बजेसम्म जागै बसेर नयाँ वर्षको स्वागत हुने छ ।

नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्षर् पनि उत्तिकै महत्व र मौलिक संस्कृतिको रक्षा गर्दै मनाउन लागिएको हो । महोत्सवमा पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण छन् ।

महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन् । पाहुनालाई छुटसहितका प्याकेज प्याकेजको व्यवस्था छ । नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवमा रहने छन् ।

दिउँसोमा महोत्सवको मजा लिन ५० रुपैयाँ र रातिमा १ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने छ । महोत्सवअघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकीसहित कोमागाने पार्कमा उद्घाटन कार्यक्रम हुने छ ।

२०७४ चैत २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड