इमान्दार संवाददाता
२७५ पटक

काठमाडौं ।

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गाैला, छाती र नशाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको परिवारले जानकारी दिएका छन् । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।

त्यस्तै, उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।

यस्तै यसअघि सरकारले कांग्रेस नेता खुमबहादुर खड्कालाई २० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वकालमा उनको घर आवासमा भएको क्षतिपूर्तिका रुपमा सो रकम दिने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले मन्त्री र सांसद भएको बेलामा भ्रष्टाचार गरेको ठहर गर्दै तीन वर्षअघि खड्कालाई बिगो र बिगोबमोजिम जरिवाना बापत् एक करोड ९४ लाख ७४ हजार असुल गर्ने तथा डेढ वर्ष कैद गर्ने फैसला गरेको थियो।

त्यसै अनुसार सजाय भोगेर मुक्त भएपछि खड्काले संविधान बन्नुअघि पार्टी नीतिविपरीत हिन्दु राष्ट्र अभियान चलाएका थिए। उनी कांग्रेस केन्द्रीय समिति सदस्य हुन्।

भ्रष्टाचारको अभियोग प्रमाणित भएका व्यक्ति भएकाले उनी अब सार्वजनिक पदमा भने बहाल हुन पाउँदैनन्। २० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हुनाले यसमा अख्तियारले छानबिन गर्न पाउँदैन।

२०७४ चैत ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड