इमान्दार संवाददाता
३८० पटक

बैंकक ।

थाइल्यान्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रीको ज्यान गएको छ ।

दुर्घटनामा अरु कयौं व्यक्ति घाइते भएका छन् । थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोंचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्री सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त प्रान्तको सडकको अवस्था नाजुक रहेकाले समय-समयमा सवारी दुर्घटना हुने गरेको छ । प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यान दिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन् ।

थाइल्यान्डमा पछिल्लो दिनमा बस दुर्घटना हुने क्रम बढिरहेको छ । यस्तै गत मङ्सिर ९ गते भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमध्ये १२ म्यान्मारका नागरिक र एक थाई चालक रहेका थिए । थाइल्यान्डको सिंगबुरी प्रान्तमा उनीहरू चढेको कार ट्रकसँग ठोक्किँदा उनीहरूको मृत्यु भएको थियो ।

यस्तै गत बर्ष पुष १९ गते पूर्वी थाइल्यान्डको चोनबुरी प्रान्तमा सोमबार एक यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा भ्यानमा सवार १४ जना र ट्रकमा सवार ११ यात्रुको मृत्यु भएको थियो। स्थानीय समयअनुसार दिउँसो २ बजे वानबुङ जिल्लाको ३४४ रोडमा भएको उक्त घटनामा दुई जना यात्रु बाँच्न सफल भएको बताइएको थियो ।

यात्राकै क्रममा भ्यान चालक निदाएका कारण दुर्घटना हुन पुगेको थाई प्रहरीले भनि थियो । थाइल्यान्डमा हरेक वर्ष सडक दुर्घटनाबाट कम्तीमा २४ हजारको ज्यान जाने गरेको छ ।

२०७४ चैत ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड