इमान्दार संवाददाता
३१७ पटक

बिनिता सिंह, पोखरा ।

कास्कीमा माओवादी केन्द्रका नेता कार्यकर्ताले करिब ६ बर्षदेखि ५ रोपनी सरकारी जग्गा कब्जामा लिएर भाडामा चलाएको खुलासा भएको छ । कब्जा गरिएकाे जग्गामा सडक व्यापारीलाई राखेर पार्टीका केन्द्रीय नेताहरुले करोडौं रकम उठाएर खाने गरेको खुलासा भएकाे हाे ।

पोखरा नयाँ बजारस्थित कृषि बिकास बैंकको उक्त जग्गा कब्जामा लिएर माओवादी केन्द्र निकट सडक व्यापारीले ‘गण्डकी मिनी मार्केट’ नामको बजार स्थापना गरेका छन् ।

माअाेवादी नेताहरूले जग्गा कब्जामा लिएर व्यापारीक स्टल बनाएकोले आफुले अहिलेसम्म भोगचलन गर्न नपाएको गुनासो कृषि विकास बैंकको मुख्य शाखा कार्यालय पोखराले गरेको छ । बैंकले उक्त जग्गा २०६९ सालदेखि फिर्ता गर्न प्रयास गरेपनि अझै फिर्ता नपाएको बताएको छ ।

हाल जग्गामा बजार स्थापना गरेर स्टलहरु निर्माण गरी सडक व्यापारीले सित्तैमा प्रयोग गरिरहेका छन् । बैंकले आफ्नो जग्गा भोगचलन गर्न दिए वापत उनीहरुसँग भाडा नपाए पनि त्यहाँ बसेका व्यापारीले मासिक ७ हजारका दरले बजार ब्यबस्थापन समितिलाई भाडा बुझाउदै आएको बताएका छन्।

व्यापारीका स्टल र बजार ब्यबस्थापनमाका लागी भनेर व्यापारीसँग मासिक भाडा लिने गरेको त्यहाँका एक व्यवसायीले बताए । आफ्नो नाम नबताउने सर्तमा उनले बजार ब्यबस्थापन समितिका अध्यक्ष बमबहादुर कार्की, उपाध्यक्ष सन्तोष सोनाम र सचिव दिनेश दाहाललाई आफुहरुले मासिक ७ हजार भाडा तिर्दै आएको इमान्दार मिडियालाई बताएका छन्।

बार्षिक करोडौं कमाउदै आएको समुहले बैंकको आग्रह मानेन

कृषि बिकास बैंक पोखराका अनुसार बम बहादुर कार्की समुहले उक्त सरकारी जग्गामा ‘मिनी मार्केट’ बनाएर भाडामा लगाउदै बार्षिक करोडौ आम्दानि गर्ने गरेको श्रोतको भनाई छ । बैंकले पटक-पटक उक्त समुहलाई जग्गा खाली गर्न आग्रह गरेपनि उनीहरुले आनाकानी र  बेवास्ता गर्दै आएको बुझिएको छ ।

बैंकको अनुमतिबिना कुनैपनि प्रकारको एग्रिमेन्ट, राय, सल्लाह नलिईकनै अनधिकृत रूपमा आफ्नो जग्गा कब्जामा लिएको र खाली गर्न अटेर गरेको बैंक प्रशासनको भनाइ छ ।

तत्काल आफ्नो पार्टी पावरमा भएको बेला आफुहरुले उक्त जग्गा सजिलै छोड्दा आफ्नो करोडौंको आम्दानी गुम्ने खतरा देखेपछि कार्की समुहले बैंकको अनुरोध सुनेको नसुनेई गरेको बैंक प्रसाशन बताउछ ।

बैंकको पृथ्वीचोकस्थित मुख्य शाखा कार्यालयका कामु प्रबन्धक रामचन्द्र अर्यालले कार्की समुहले उल्टै धम्की दिएर आफ्ना कर्मचारीलाई आफ्नै जग्गामा छिर्न नदिएको बताए ।

आफ्नै बैंकको जग्गामा माओवादी केन्द्रका व्यापारीले कब्जा जमाएर ब्यापार सञ्चालन गरिरहेकोले बैंकको शाखा कार्यालय भने चिप्लेढुङ्गामा भाडाको घरमा बसिरहेको छ ।

माओवादी केन्द्रमा माथिल्लो तहका नेताहरुको योजनामा उनकै कार्यकर्ताहरुले जग्गा कब्जा गरी ‘कृषि बिकाश बैंक भवन निर्माण स्थल’ भनेर राखिएको साइनबोर्ड समेत मिनी मार्केट सञ्चालकहरूले फालिदिएको कामु प्रबन्धक अर्याल बताउँछन् ।

निर्देशक अर्याल भन्छन्- ‘बैकलाई भवन निर्माणका लागि जग्गा छोड्न हामीले पटक-पटक गरेको लिखित र मौखिक आग्रह व्यापारीले नटेरेनन् । ७ मंसीर २०७४ मा स्थानीय पत्रिकामा निकालेको ३५ दिने सूचनालाई पनि उनीहरुले वेवास्ता गरे ।’

बार्षिक करोड उठ्छ तर न बैंकलाई भाडा न महानगरलाई कर ?

मिनी मार्केट सञ्चालकहरूले उक्त जग्गामा १ सय वटा टहरा बनाएर भाडामा दिएका छन् । ती टहरामा व्यापार गर्ने पसलेहरूले प्रतिपसल मासिक  ७ हजार भाडा तिर्ने गरेको बताएका छन्।

नाम उल्लेख गर्न नचाहने एक पसलेको अनुमानमा ‘मिनी मार्केट’ सञ्चालक समूहले त्यहाँबाट वार्षिक १ करोडको हाराहारीमा आम्दानी गरिरहेका छन् । तर करोड आम्दानी गर्ने कार्की समूहले न जग्गाधनी बैंकलाई भाडा बुझाउँछ न त महानगरपालिकालाई कर नै तिर्छ ।

तत्कालिन अबस्थामा सडक व्यापारीलाई महानगरले डोजर लगाएर हटाएपछि माओवादी केन्द्रले सडक ब्यापारीको व्यवस्थापनका लागि अस्थाईरुपमा उक्त जग्गा उपलब्ध गराईदिन भन्दै बैकलाई मौखिक आग्रह गरेको थियो । त्यस बखत बैंकले व्यापारीसँग लिखित सहमति गर्न खोजे पनि उनीहरुले पार्टीकोे आडमा जग्गा सित्तैमा कब्जा गरेर बसेका थिए ।

पार्टीलाई थाहै छैन !

माओवादी कास्कीका ३ जना जिल्ला सदस्यले सञ्चालन गरेको उक्त ‘गण्डकी मिनी मार्केट’का व्यापारीबाट उठेको रकम कसले कसरी खर्च गर्छ भन्नेबारे आधिकारिक जानकारी भने माओवादी केन्द्र कास्कीलाई नभएको बताइएको छ ।

उक्त रकमबारे न माओवादी केन्द्रको बैठकमा फरफारक भएको छ, न त  बैकले नै पाएको छ । प्रतिव्यक्ति मासिक ७ हजारको दरले उठ्ने रकम महिनाका सरदर सात लाख हुन्छ । यति मोटो रकम कसको गोजिमा गएको छ भन्नेबारे कास्की पार्टीका नेता कार्यकर्ताहरु पनि अन्योलमा छन ।

यो काण्डबारे हामीले माओवादी कास्कीका एक जना पूर्व जिल्ला इन्चार्जसँग पनि कुरा गरेका थियौ । यो काण्डबारे आफुले खुलेर भन्न नसक्ने भन्दै उनले भने- ‘यस्ता काण्डहरुमा करण जी बेला बेलामा मुछिएका समाचारहरु आइरहन्छन । कमरेड करणका यस्ता कुरा त धेरैले लेख्ने गरेका छन्, तर प्रमाणित गर्न सकिदैन त्यसैले हामीलाई कास्कीमा अफ्ठ्यारो छ, यस्तै हो भनेर भन्न चाही मिल्दैन ।’

यस बारेमा हामीले कास्कीमै बसेर पत्रकारिता गर्ने माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका एक नेतालाई पनि जिज्ञासा राखेका थियौ । उनले हाम्रो जिज्ञासा मेटाउदै भने- ‘तपाईहरुलाई पनि यस्ता कुरा कसले दिन्छ यार ! हाम्रा नेताहरुका सब कुरा खोज्नुहुन्छ । यो कुरा साचो हो तर हामीले भन्न मिल्दैन, त्यसैले प्लिज मेरो नाम कतै उल्लेख नगरिदिनुस् न है ।’

एमाले-माओवादीबीच हुने पार्टी एकतापछी कास्कीमा ठुलै संसदीय कम्युनिष्ट पार्टी बन्ने भएपछि आन्तरिक पंक्तिमा भएको विवाद सतहमा आउने देखिन्छ । यो समाचार बाहिर आएपछि सोही पार्टीका नेताहरुले पनि फरक फरक प्रतिक्रिया दिनुले यो कुराको पुष्टि हुन्छ ।

नेताहरुका यस्ता काण्डहरुबारे एकले अर्कोलाई मुछ्ने तर यथार्थ भन्न नसक्ने प्रवृतिले उनीहरुबीच नेतृत्व हत्याउन पनि ठुलै चलखेल भइरहेको र यस कारण आन्तरिक गुटबन्दी निकै बढेर गएको सजिलै अनुमान गर्न सकिन्छ ।

बिभिन्न आर्थिक घोटला बिबादमा मुछिदै आएका जिल्ला इन्चार्ज करण अर्को काण्डमा पनि मुछिए

पटक पटक बिभिन्न आर्थिक घोटला बिबादमा मुछिदै आएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कास्की जिल्लाका इन्चार्ज राजकाजी गुरुङ्ग ‘करण’ यो जग्गा काण्डमा पनि मुछिएका छन्। उनकै संरक्षणमा ‘गण्डकी मिनी मार्केट’ सञ्चालन भइरहेको बताइएको छ ।

‘गण्डकी मिनी मार्केट’बाट उठेको यो रकम जिल्ला इन्चार्ज करणले नै अपचलन गरेको माओवादी केन्द्र कास्की स्रोतले बताएको छ । तर प्रमाण जुटाउन नसक्दा प्रतिकार गर्न नसकेको उनिहरुको भनाई छ । जनयुद्ध कालदेखि नै करणले यस्ता काम गर्दै आइरहेको भएपनि प्रमाणित हुन नसक्दा कुनै पनि नेता कार्यकर्ताले उनलाई औला ठड्याउने नसकेको उनीहरुको भनाई छ ।

बजार ब्यबस्थापनमा रहेकी केही सिमित कार्यकर्ताहरुले भने उक्त स्थानकोे भाडा तिर्देनन् । बरु आफुहरुले अरु व्यापारीसँग मासिक रकम उठाएर जिल्ला पार्टीलाई बुझाउने गरेको दावी गर्छन । जिल्ला इन्चार्ज करणको ध्यान खाली पैसा कमाउने र दलालहरुसँग मिल्ने कुरामा मात्र केन्द्रीत हुँदा पार्टी समाप्त भएको कास्कीका इमान्दार कार्यकर्ताहरुको गुनासो छ ।

इन्चार्ज करण यसअघि पोखरामा र्निमाणाधिन अबस्थामा रहेको अन्तराष्ट्रिय बिमानस्थलका ठेकेदारहरुबाट पनि मोटो रकम लिएको काण्डमा बिबादीत बनेका थिए । उनले तत्कालिन बेला पत्रकार सम्मेलन गरी उक्त रकम लिएर आधा पार्टीलाई बुझाएको स्वीकार पनि गरेका थिए ।

त्यसपछि पोखरा सस्तो बजारको टेन्डरमा पनि गुण्डा नाईके राजु गोर्खालीसँग मिलेर करिव तिन सय स्वरोजगार ब्यापारीहरुलाई डोजर लगाएर हटाउनमा पनि करणकै हात रहेको समाचार बाहिर आएको थियो । यो बिषयमा पनि करणले आधिकारिकरुपमा कुनै खण्डन गर्न सकेनन् ।

पार्टी केन्द्रसँग आफ्नो सम्बन्ध बलियो बनाउने गरि आत्मगत रिपोटी गर्ने र प्रदेश संयोजक हरि अधिकारी ‘कुमार’लाई रकम उठाएर बुझाउने बाहेक कास्की पार्टीमा उनको संगठन निर्माणलगायतका अरु बिषयमा कुनै भुमिका नभएको स्थानिय माओवादी नेताहरु बताउछन ।

काण्डैकाण्डमा मुछिन थालेपछि करणलाई जिम्मेवारीवाट हटाउने तयारी

माओवादी केन्द्रले कास्कीका इन्चार्ज समेत रहेका करणको भुमिका पार्टी आन्दोलनका पक्षमा भन्दा पनि गलत दिशातर्फ गएकाले अहिले नेतृत्व परिबर्तन गर्ने तयारी गरिएको बताइएको छ । पार्टीमा करणको ठाउँमा अर्को कुन नेतालाई ल्याउने भन्ने आन्तरिक छलफल चल्न थालेको माओवादी स्रोत बताउछ।

खासगरी लामो समय कास्की काम गरेका पुराना नेताहरुलाई पाखा लगाउदै पर्बतबाट आएर कास्कीमा जवरजस्त भुमिका खोज्ने करण प्रबृत्तिले पार्टीलाई घाटा परेको भन्दै त्यहाँका स्थानीय नेताहरु अब चुप लागेर नबस्ने बताउन थालेका छन् ।

करण गत मंसिरमा सम्पन्न र्निबाचनमा बाम गठबन्धनको तर्फबाट कास्की र्निबाचन क्षेत्र नं २ को ख बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेपनि नेपाली काग्रेसका कमजोर उम्मेदवार बिन्दु कुमार थापासँग पराजित भएका थिए ।

पर्वतबाट आएका करणले कास्कीमा राजनीतिक छवि राम्रो बनाउन नसकेका कारण निर्वाचनमा पराजित भएको समिक्षा समेत बाम गठबन्धनले गरेको थियो।

एमाले-माओवादीबीच पार्टी एकता भएपछि पनि आफै नेतृत्व हत्याउने र कास्कीमा लामो समय राज गर्ने योजना बनाइरहेका करणले आफुलाई नै पुनः संयुक्त पार्टीको कास्की इन्चार्ज बनाइदिन भन्दै एमाले माओवादीका केन्द्रीय नेताहरुसँग लबिङ्ग गरिरहेकाे समेत स्थानीय नेताहरुको आरोप छ ।

के भन्छन् नेता करण ?

माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका करणले भने आफुलाई उक्त जग्गासँग कुनै सरोकार नै नभएको इमान्दार मिडियालाई प्रतिक्रिया दिएका छन्।

करणले उक्त जग्गामा ‘गण्डकी मिनी मार्केट’ सञ्चालन गरिरहेका व्यापारीसँग आफ्नो कुनै व्यक्तिगत सम्बन्ध नभएका कारण आफुले त्यहाँको रकम भोगचलन नगरेको पनि बताए ।

उनले इमान्दार मिडियासँग भने- ‘यो अफवाह मात्र हो, मैले उहाँहरुसँग कुनै रकम लिएको छैन । उहाँहरु त्यहा कसरी बस्नुभएको छ, त्यो पनि मलाइ जानकारी छैन ।’

साना व्यापारीले त्यहाँ स्टल बनाएर ब्यापार सुरु गरेको समयमा आफु कास्कीको इन्चार्ज नरहेको हुँदा त्यसको जवाफदेही आफुले हुनु नपर्ने पनि उनि बताउछन् । उनले भनेका छन्- ‘त्यहा बस्ने साथीहरु हाम्रै पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरु हुन् त्यो साँचो हो । तर त्यो जग्गा कब्जामा लिँदा म त्यहाँ जिल्लाको नेतृत्वमा नरेहेको कारण मैले जिम्मा लिने रेखदेख गर्ने भन्ने कुरा हुदैन ।’

करणले हाल भने कास्की जिल्लाको पार्टी नेतृत्व आफुले सम्हालेका कारण चासोको बिषय भएको तर आफुले नै व्यापारीसँग उठेको रकम बुझ्ने गरेको आरोप गलत रहेको बताएका छन् । उनले भने- ‘तपाईलाई कसले गलत सूचना दिएछ । म प्रति आग्रहपूर्वाग्रह राख्ने हाम्रै कोही साथीहरुको काम होला तर यो साचो कुरा हैन ।’

‘यो समाचार आउने कुरा आउछ, प्रमाणित कसैले गर्न सक्दैन, आफ्नो स्टेन्डका लागि लेख्नेहरुले लेखि रहन्छन्, तर प्रमाणित गर्न न पार्टी भित्रकाले सक्छन् न मिडियाले, त्यसमा मलाई कुनै टाउको दुखाइ हुदैन। उनले संचारकेन्द्रसँग भने- ‘सञ्चारकर्मीहरुलाई मेरो आग्रह के हो भने अहिले देशमा छाडातन्त्र छ, जे लेख्न पनि पाइने जस्तो छ, तर यो कुरा गहिराइमा गएर हेर्दा प्रमाणित हुन् सक्दैन, त्यसैले यस्ता कुरा सस्तो भण्डाफोरका लागि आएका हुन सक्छन्, यस्ता समाचारलाई मिडियाले स्थान नदिएकै राम्रो हुन्छ ।’

जग्गा कब्जा र बैंकको अनुरोध अटेरबारे के भन्छन् मिनी मार्केटका अध्यक्ष कार्की ?

‘गण्डकी मिनी मार्केट’ सञ्चालन गर्दै आएका बजार ब्यबस्थापन समितिका अध्यक्ष एवम् माओवादी कास्कीका नेता कार्कीले भने उक्त जग्गा आफुहरुले कब्जा गरी सडक व्यापारीलाई ब्यबस्थापन गरेको स्वीकार गरेका छन् ।

यस्तै कार्कीले आफुहरुले कृषि बिकास बैंकलाई उक्त जग्गाको भाडा नतिरेको पनि स्वीकार गरे । तर उनले अरू नेता कार्यकर्ताले भनेजस्ताे १ सय वटा पसल भने मिनी मार्केटमा नभएको बताए। उनले भने- ‘१ सय वटा स्टल हैन, त्यस्तै ६० देखि ६३ वटा स्टल त्यहाँ छन्  ।’

आफुहरुले बैंकलाई भाडा नतिरेपनि व्यापारीबाट मासिक शुल्क उठाएको पनि कार्कीले स्वीकार गरेका छन् । कार्कीले भने- ‘तपाईलाई आएको सूचना जस्तो हामीले महिनामा ७ हजार उठाउने गरेको चाही हैन । हामीले महिनामा ७ सय ५० रुपैया भने बजार ब्यबस्थापन खर्च भनेर उठाउने गरेका छौ ।’

तपाईहरुले मासिक ७ लाख रुपैया उठाएर आफ्नाे खल्तीमा हाल्नुहुन्छ रे नि त ? भन्ने इमान्दार मिडियाको प्रश्नमा कार्कीले भने- ‘यो कुरा पनि बेकार हल्ला मात्र हो । हामीले महिनामा त्यस्तै १ लाखको हाराहारीमा चाहिँ उठाउछौं होला, त्यो पनि हिसाब दिन सकिन्छ । यसमा पनि व्यापारीलाई कुनै करकाप छैन उहाहरुले आफ्नै लागि स्वतस्फूर्त दिनुहुन्छ ।’

व्यापारीसँग उठाएको रकम बजार व्यस्थापन र प्रमोशनका लागि खर्च गर्ने गरेको कार्कीको भनाई छ । उनले २ वटा टेलिभिजन, २ वटा रेडियो र केही पत्रपत्रिकामा दैनिक र मासिकरुपमा बिज्ञापन दिएको भन्दै उक्त रकम त्यहिँ विज्ञापनमा खर्च हुँदै आएको तर्क गरे  । यस्तै उनले करिब ३० हजार भन्दा बढी रकम महिनामा बिजुली खर्च तिर्दै आएको बताए ।

मिनी मार्केटबाट उठेको रकम मार्केटकै सुरक्षाका निम्ति राखिएका ३ जना सेक्युरिटी गार्डहरुको तलबमा पनि लगानी गरिएको उनले बताए । उनले भने- ‘पख्नुहोस है समाचार एकछिन नलेख्नुहोस्, म एक-एक हिसाब दिन्छु तपाईलाई । अनि त्यो हेर्दा थाहा भईहाल्छ नि महिनामा कति रकम उठ्छ कति खर्च हुन्छ ? अझ उठेको रकमबाट त पुग नपुग हुन्छ ।’

इमान्दार मिडियाले कार्कीसँग बजारमा भएका पशलहरुको विवरण, मासिकरूपमा उठ्दै अाएकाे रकम, त्यसको खर्च बिबरण र बैंकमा जम्मा भएको बचत रकमको विवरण उपलब्ध छ भने पठाइदिन अनुरोध गरेपनि उनले यो समाचार तयार पार्दासम्म कुनै पनि बिबरण पठाएका छैनन् ।

हामीले पार्टीका जिल्ला इन्चार्ज राजकाजी गरुङ्ग’ करण’, बजार ब्यबस्थापन समितिका अध्यक्ष बम बहादुर कार्कीलगायत यो समाचारसँग सम्बन्धित सबै पक्षसँग गरिएका टेलिफोन रेकर्डहरु सुरक्षित राखेका छौ ।

२०७४ फागुन ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...