इमान्दार संवाददाता
३४०३ पटक

काठमाडौं, २९ फागुन ।

बहालवाल राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । जम्मा मतको दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।  राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

भण्डारीको राजनीतिक यात्रा

भण्डारीको जन्म वि.सं. २०१८ असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभन्ज्याङ गाउँमा भएको थियो। आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उनी जेष्ठ सन्तान हुनु। सामान्य किसान परिवारमा जन्मेर राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भण्डारीले विद्यालय र कलेजको शिक्षा क्रमशः भोजपुर र मोरङमा आर्जन गरेकी थिइन्।

भोजपुर क्याम्पसमा अध्ययनरत उनी निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी भइन्।

त्यस क्रममा उनले ८ वर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र– सङ्गठनको नेतृत्वमा रहिन्। यसै अवधिमा उनी विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भइन्।

भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उनी नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित भएकी थिइन्।

वि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताको रूपमा उनको सङ्गठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उनले उक्त पार्टीको सदस्यता प्राप्त गरिन्।

उनी २०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला सङ्घको सदस्य बनिन्। महिला सङ्घमा आवद्ध भएदेखि नै उनले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्ध निरन्तर आवाज उठाइरहिन्।

यसरी उनको राजनीतिक जीवन विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति सङ्घर्षरत पार्टीको प्रतिवद्ध कार्यकर्ताका रूपमा तीनवटा आयाममा सँगसँगै अगाडि बढ्यो।

वि.सं. २०३९ सालमा उनको विवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो। तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुखद निधन भएसँगै उनको दाम्पत्य जीवन ११ वर्षको छोटो समयमै समाप्त भयो। पतिको दुखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन–पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उनले लिइन्।

२०५४ माघमा सम्पन्न नेकपा एमालेको छैटौं राष्ट्रिय महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन्। त्यसयता लगातार उनले पार्टीको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

२०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उनी २०६५ सालमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भइन्। २०७१ सालमा आयोजित नवौं राष्ट्रिय महाधिवेशनमा उनी पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित भइन्।

संसदीय निर्वाचनमा पनि उनको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ। संसदीय निर्वाचनमा उनको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो। सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित भइन्। २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन गरी उनी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी भइन्।

२०५५ सालमा उनी अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित भइन्। त्यसयता उनी लगातार तीन पटकसम्म उक्त सङ्गठनको अध्यक्ष निर्वाचित भइन्।

२०६२/ ६३ को आन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विशेष प्रस्तावको प्रस्तावक भण्डारी नै थिइन्। संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढङ्गले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो। सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उनको अहम् भूमिका रहेको थियो।

२०७२ असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको न्यूनतम ३३ प्रतिशत सुनिश्चित गरेको छ। यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक–कानुनी उपलव्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको हो। नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ।

२०५४ सालमा वातावरण तथा जनसङ्ख्या मन्त्रीका रूपमा उनले पहिलो कार्यकारी भूमिका निर्वाह गरेकी थिइन्। उनले २०६६ सालमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिन्। रक्षामन्त्रालयको पदभार सम्हाल्ने उनी नेपालकै पहिलो महिला हुन्।

रक्षामन्त्रीका हैसियतले त्यस अवधिमा उनले नेपाली सेनामा पूर्व माओवादी–लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षानीतिको तर्जुमा गर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गरेकी थिइन्।

संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पुर्‍याउने महत्वपूर्ण वार्तामा सक्रिय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारी पहिलोपटक राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा एमालेका उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घका अध्यक्ष र व्यवस्थापिका–संसद सदस्यको जिम्मेवारीमा थिइन्।

२०७४ फागुन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड