इमान्दार संवाददाता
१२५५ पटक

काठमाडौँ, २७ फागुन ।

नेकपा एमालेले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि कारबाही गर्ने भएको छ ।

स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा लगातार ६ घण्टासम्म कुटपिट गर्नेलाई कारबाही गर्नुको साटो घटना मिलापत्र गराएको समाचार आएपछि उनलाई कारबाही गर्न लागिएको हो ।

त्यस्तो जघन्य अपराधमा संलग्नलाई कानुनीरुपमा कारबाही गराउन सहयोग गर्नुको साटो अपराधीलाई उन्मुक्ति दिने गरि घटना मिलाउने र प्रहरीले पक्राउ गरेका दोसिलाई समेत छुटाएर लिने काम गरेपछि उनि विवादमा तानिएका थिए।

घोडघोडी नगरपालिका–५ देउकलीमा १८ वर्षीय राधा चौधरीमाथि स्थानीय धामी रामबहादुर चौधरीसहितले नारी दिवसका दिन सयौँ गाउँलेमाझ लगातार ६ घण्टासम्म निर्घात कुटपिट गरेका थिए ।

उक्त घटनापछि गाउँ पुगेको प्रहरीले पिडीत चौधरीको उद्धार गर्नुका साथै पीडक कथित धामी चौधरीलाई पक्राउ गरेको थियो । तर मेयर चौधरीले भने घटना मिलापत्र गराएका थिए । यस्तो जघन्य अपराधलाई मिलापत्र गराएपछि मेयरको चौतर्फी बिरोध भएको थियो ।

बोक्सी आरोपमा राधामाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय सुख्खडमा मेयरकै उपस्थितिमा घटना मिलापत्र गरेको पाइएपछि नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट जितेका उनलाई कारबाही गर्न छानवीन सुरु गरेको हो ।

एमाले कैलालीले राधामाथि भएको ज्यादती र एमालेबाट निर्वाचित मेयर ममताप्रसादको भूमिकाबारे अध्ययन गर्न छानबिन समिति बनाइएको छ । उक्त छानबिन कमिटीले प्रतिवेदन पेश गरेपछि उनलाई पार्टीका तर्फबाट कारबाही गरिने छ ।

यस्तै घटनापछि सञ्चारकर्मीले मेयर चौधरीसँग जिज्ञासा राख्दा उनले ठाडो-ठाडो र असभ्य तरिकाले जवाफ दिएका थिए । उनको यस्तो जवाफपछि सामाजिक सञ्जाल र संचारमाध्यममा उनको ब्यापक आलोचना भएको छ ।

स्रोतका अनुसार आफ्नै नगरपालिका भित्र त्यत्रो घटना घट्दा उनि रमिते बनेको र उल्टै दोसिलाई प्रहरीसँग छुटाएर मिलापत्र गराउनेदेखि सञ्चारकर्मीलाई ठाडो जवाफ दिनेसम्म भएपछि उनलाई कारबाही गर्न सरकारमाथि पनि ब्यापक दबाब परेको छ ।

सरकारको तहबाट पनि मेयर चौधरीमाथि कारबाही गर्नुपर्ने भएको हुँदा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राधामाथिको बर्बर घटनामा कसैलाई छुट दिन नसकिने भन्दै छानबिन प्रक्रिया थाल्न निर्देशन दिएपछि पार्टीले प्रकृया सुरु गरेको एमाले कैलालीले जनाएको छ ।

घटनाको चार दिनपछि प्रधानमन्त्री ओलीले केन्द्रबाटै तत्काल छानबिन प्रक्रिया थाल्न निर्देशन दिएपछि एमाले जिल्ला पार्टीलाई कारबाहीको थालनी गर्ने बाटो खुलेको हो ।

यस्तै एमालेले आन्तरिक छानबिन सुरु गरेसँगै इलाका प्रहरी कार्यालय सख्खडका निमित्त इन्चार्ज सई दिनेश विष्टलाई पनि जाहेरी दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले निलम्बन प्रक्रिया अघि बढाएको समाचार छ ।

यसैबीच राधामाथि कुटपिटमा संलग्न स्थानीय २० वर्षीय किस्मती चौधरीलाई प्रहरी कार्यालयले आइतवार घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

उनीसँगै कुटपिटमा संलग्न धामी रामबहादुर चौधरीमाथि जिल्ला अदालतमा म्याद थपेर मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले जानरकारी दिए ।

यस्तै मेयर चौधरीले एक राष्ट्रिय पत्रिकालाई दिएको अन्तर्वार्ता पनि निकै चर्चित बनेको छ । उनले सञ्चारकर्मीलाई धम्कीको शैलीमा तपाइँ मलाइ सिकाउने को हो ? भन्दै मेरो काम मलाइ थाहा छ त्यो बोक्सी आरोपमा कुटपिट गर्नेलाई प्रहरीले कारबाही गर्ने हो, मैले हैन भनेका थिए ।

त्यस्तै उनले कैलालीका मेयरले गाउँमा के गर्ने के नगर्ने भनेर काठमाडौँबाट पत्रकारले फोन गरेर सिकाउने हैन भन्दै उक्त घटनामा आफुले रमिता हेरेर आएको स्वीकार गरेका थिए । उनले मान्छेका अरु पनि काम हुन्छन नि मेरो काम त्यो झगडा मिलाउने हैन,  भन्दै अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति समेत दिएका थिए।

२०७४ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...