इमान्दार संवाददाता
३९७५ पटक

काठमाडौं, २१ फागुन ।

संसदीय दलको नेता चयन भएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी सरकारलाई कडा चेतावनी दिएका छन् ।

संसदीय प्रणालीमा विपक्षीले सरकारको १०० दिन दिन्छ । यसलाई सरकारको हनिमुन डे समेत भनिन्छ । तर, ओली सरकारलाई हनिमुन डे मनाउन नदिने भन्दै देउवाले भने, ‘तर, ओलीजीको सरकारले १०० हेरौं भन्ने पनि ठाउँ नै दिएको छैन । सुरुमा धेरै ठूलो हस्तक्षेप गरेकाले प्रतिपक्षको भूमिकामा कडासँगै निर्वाह गछौं ।’

उनले प्रधानमन्त्री ओली सरकारलाई प्रतिपक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने चेतावनी दिए । आफ्नो सरकारले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस उल्टाएकोतर्फ इंगित गर्दै सभापति देउवाले ओली सरकारको कडा आलोचना समेत गरे ।

सभापति देउवा सोमबार कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।

पराजित हुने निश्चित भएपनि देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।

देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

काँग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको पक्षमा अपेक्षित भन्दा बढी मत परेपछि थपिएको मतको बारेमा अनेक अड्कलबाजी सुरु भएका छन्। काँग्रेसका सांसदहरु कुल ६३ सांसदहरु मध्ये देउवा पक्षका ३९ जना रहेपनि देउवालाई त्यो भन्दा पाँच मत बढी आएपछि थपिएका पाँच मतका बारेमा अनेक अड्कलबाजी भएका हुन्।

सोमबार सम्पन्न संसदीय दलको निर्वाचनमा देउवाले ४४ मत ल्याउदा उहाँका प्रतिश्पर्धी प्रकाशमान सिंहको १९ मत मात्रै आएको छ। सिंहलाई २४ मत आउनु पर्ने अनुमान गरिएपनि महामन्त्री शशांक कोईराला पक्षीय नेताहरुले नै देउवाको पक्षमा मतदान गरेकाले सिंहको मतसंख्या घटेको हो। सिंह र कोईराला बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भएपनि कोईरालाले सिंहलाई साथ नदिएको सिंह निकटस्थहरुको बुझाई छ।

सिंहले आफ्नो उम्मेदबारीका लागि प्रस्तावक बनिदिन आग्रह गर्दा समेत अस्विकार गरेका कोईरालाले सिंहकै गुठमा बसेर सिंहका विरुद्धमा मतदान गरेको सिंह निकट एक नेताले बताए। देउवालाई मतदान गर्नेमा महामन्त्री कोईराला सहित उनको पक्षका डा मिनेन्द्र रिजाल र डा नारायण खड्का रहेका छन्। त्यस्तै यसअघि सिटौला पक्षका उमाकान्त चौधरी र भिमसेनदास प्रधानले समेत देउवालाई नै मतदान गरेका छन्।

काठमाडौको राजनीतिमा एकले अर्कालाई निषेध गर्ने पुरानै प्रतिषोधका कारण प्रधानले सिंहलाई मतदान गर्न अस्विकार गरेका हुन् भने सिंहले वास्ता नगरेको र देउवाले पटक पटक आग्रह गरेकाले चौधरीले देउवालाई मतदान गरेका हुन्।

चौधरी र प्रधानलाई सिंहको पक्षमा मतदान गराउन सिटौला पक्षकै मानिने गगन थापा र प्रदिप पौडेलले पटक पटक गरेको आग्रहलाई पनि उनीहरुले अस्विकार गरेका थिए।

उनीहरुलाई मनाउन थापा र पौडेलले जमलमा रहेको एल्लो प्यागोडा होटलमा आईतबार दिउसो १ बजेदेखि ३ बजे सम्म र सोमबार विहान पनि दुई घण्टा सम्म छलफल गरेका थिए। थापाले प्रधान र चौधरीसँग संगै गएर एकै ठाँउमा मतदान गर्न आग्रह गरेका थिए।

थापाले भने आफु अहिलेको नेतृत्व परिवर्तनको पक्षमा रहेकाले देउवाको विपक्षमा मतदान गरेको संचारकर्मीहरुलाई बताएका छन्।

 

२०७४ फागुन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...