इमान्दार संवाददाता
३०५९ पटक

काठमाडौं, १५ फागुन ।

माओवादी केन्द्रका नेता मातृका यादवले मन्त्री भएकै दिन पुनः लफडा सुरु गरेका छन्। उनले मन्त्रालय टेकेकै दिन गरेको नयाँ बखेडाले मन्त्रालयका कर्मचारीहरु तिनछक परेका छन्।

अघिल्लोपटक मन्त्री हुँदा अनेक काण्डका कारण चर्चामा आएका माओवादी नेता मातृका यादवको यसपटक पनि मन्त्री बनेको पहिलो दिनमै लफडा सुरु गरेका हुन् ।

सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका यादवले मन्त्री भएपछिको पहिलो निर्णयमा सही गर्न मानेनन् । मन्त्रीले पदभार ग्रहण गर्दा कुनै न एउटा निर्णय गर्ने परम्परा छ । तर, यादवले यो परम्परा तोडे । पदबहालीका क्रममा उनको टेबलमा मन्त्रीको हस्ताक्षर गर्नका लागि तयार राखिएको फाइल उनले त्यसै फकाईदिएका छन् ।

‘नपढीकन कुनै फाइलमा सही गर्दिन’ भन्दै फर्काइदिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुर एकछिन अलमलमा परेका थिए ।

यतिमात्र होइन, पदबहालीपछि कर्मचारीहरुलाई उनले धम्कीको भाषामा निर्देशन दिए । अनुशासन तोडेर गढबड गर्नेका लागि आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने भन्दै मन्त्री यादवले भने -‘म भाषण भन्दा पनि काम गर्न आएको हो ।

अहिले भाषण हैन काम गर्ने बेला हो । तपाईंहरुले मलाई गलत हुनबाट रोक्नुहोला, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ ।’

पहिलोपटक मन्त्री बन्दा उनी एलडीओलाई ट्वाइलेटमा थुनेर उनी चर्चामा आएका थिए । उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका थिए ।

ललितपुरमा बिनाइजाजत सञ्चालनमा आएका ढुङ्गा खानीको विवादलाई लिएर ललितपुरका तत्कालीन एलडीओ डण्डुराज घिमिरेलाई थुनेका थिए । मातृका यादवले वाहवाही कमाएका थिए । भ्रष्टहरूलाई यसरी नै तह लगाउनुपर्छ भनी मातृका यादवको पक्षमा जनमत तयार भएको थियो ।

त्यति मात्रै होइन, त्यतिबेला उनले रक्तचन्दन तस्करीलाई पनि चर्चामा ल्याएका थिए । उनी आफै रातिराति गएर ट्रकका ट्रक रक्तचन्दन समातेर सिंहदबारमा थन्क्याएका थिए । रक्तचन्दनको पनि तस्करी हुन्छ भन्ने कुरा त्यतिबेला मात्र जनताले थाह पाएका थिए ।

इमानदार र हठी नेताको रूपमा परिचित मातृका यादव त्यही कारणले माओवादी पार्टी छाडेर हिँडेका थिए । उनी माओवादी पार्टी छाडेर हिँडेपछि छुट्टै समूह चलाएर मधेसमा आन्दोलनको सुरुवात गरेका थिए ।

दुई वर्ष अगाडि माओवादीमा फर्केका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । माओवादी शन्ति प्रकृयामा आएपछि अन्तरिम सांसद बनेका मातृका यादव पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका थिए ।

यस्तो छ यादवको राजनीतिक इतिहास

२०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो ।

विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे ।

उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए ।

त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् ।

२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो ।

२०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे ।

उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए ।

२०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर अघि बढे ।

एक्लै छुट्टै पार्टी बनाएर खास प्रगती नहुने देखेका यादव पुनः दुई वर्ष अगाडि माओवादी केन्द्रमा फर्के । माओवादी केन्द्रको तर्फबाट निर्वाचन लडेका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । यो पटक उनि माओवादीको तर्फाबाट मन्त्री बने । यो सँगै उनि तेस्रो पटक मन्त्री बनेका हुन् ।

२०७४ फागुन १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड