इमान्दार संवाददाता
२०६ पटक

काठमाडौं।

माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो ।माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।

फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो ।

पार्टीमै नभएका नेता पनि कारवाहीमा !

एमाओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टले गत साउनमै पार्टी परित्याग गरिसकेका थिए । प्रचण्ड निवास लाजिम्पाटमा राजीनामा बुझाएका विष्ट त्यसयता बोलाइएको बैठकमा समेत गएका थिएनन्।

स्थायी कमिटी बैठकमा पार्टीले गरिखाँदैन भनेर चर्को विरोध गर्ने नेता बिष्टले त्यसपछि एकाएक राजीनामा दिएका थिए ।

माओवादी केन्द्र एमालेमा बिलय हुने संकेत देखेपछि विष्टले पार्टी परित्याग गरेका थिए । एमाओवादीमा राजीनामा दिएका विष्ट नेपाल कम्युनिष्ट पार्टीसंग नजिक छन ।

रुकुम घर भएका विष्ट एमाओवादीभित्र खरा नेता मानिन्थे । जनयुद्धकालमा लामो समय जेल बसेका विष्ट पूर्वपर्यटनमन्त्री समेत हुन् । उनी पहिलो संविधानसभामा राज्य पुसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिका सभापतिसमेत थिए ।

यस्तै बाम गठबन्धनको निर्णय र प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएका नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य विश्वभक्त दुलाल ‘आहूति’ले पनि प्रचण्डहरु एमालेमा बिलय हुने पक्का भएपछि असहमति जनाउँदै पार्टी छाडेको घोषणा गरेका थिए ।

गत पुसमै ‘आहूति’ले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो नेता नभएको बताइसकेका थिए । उनले त्यतिबेला एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने बताएका थिए ।

एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ छ । दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश-पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने ‘आहुती’ले बताउदै आएका छन् ।

एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनको बुझाई छ ।

एमाले र माओवादी केन्द्रबीच सरकार गठन र त्यसपछि पार्टी एकीकरणको कुरा चलिरहेका बेला माओवादीको सो प्रक्रियाको विरोध गर्दै स्थायी समिति सदस्य विष्ट र पोलिटव्युरो सदस्य आहुतीले पार्टी परित्याग गरेपछि माओवादी केन्द्रलाई ठुलो नोक्सानी भएको थियो ।

‘वाम एकतामा दायाँ-वायाँ खतरा’

प्रचण्डनिवास खुमलटारमा विहीबार बसेको माओवादी शीर्षनेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण सुनाएका थिए ।

यसक्रममा प्रचण्डले पार्टी एकताका क्रममा एमालेको जबजमा माओवादी गएको हैन भन्ने सन्देश कार्यकर्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् । माओवादीले एमालेको जबज मान्यो भनेर उग्र वामपन्थी कोणबाट गलत प्रचार भएको भन्दै प्रचण्डले यस्तो भ्रम चिर्न आवश्यक रहेको बैठकमा बताए ।

दुई पार्टीवीचको एकताले नयाँ राजनीतिक कोर्षको सुरुवात भएको र गत चुनावमा नेपाली जनताले कम्युनिष्टहरु मिल्न दिएको जनादेशलाई अनुमोदन गरिएको प्रचण्डको विश्लेषण थियो ।

तर, एमाले र माओवादीवीचको एकतालाई टुंगोमा पुग्न नदिने उग्रवादीहरुले चलखेल गर्ने खतरा रहेको भन्दै प्रचण्डले विप्लव माओवादीतर्फ संकेत गरे ।

यो वाम एकताको महत्व देशभिमात्रै नरहेर विश्वभर रहेकाले वाम एकतालाई भाँड्न विदेशी साम्राज्यवादी र दक्षिणचपन्थी शक्तिले पनि प्रयास गर्न सक्ने खतरा रहेको प्रचण्डले आफ्ना नेताहरुलाई बताए ।

प्रचण्डले औंल्याएको दायाँ र वायाँ दुबैतिरबाट एकतामाथि आक्रमण हुन सक्ने सम्भावनालाई विशेष ध्यान दिँदै एकताको ७ बुँदे आधारको स्वागत गर्ने विहीबार बैठकले निर्णय गरेको बैठक पछि माओवादीका एक नेताले बताए ।

 

२०७४ फागुन ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड