इमान्दार संवाददाता
१११ पटक

काठमाडौं ।

एमाले र माओवादीले अाज नै केपी ओलीको नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएका छन् ।

एमालेले औपचारिक रुपमै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । बुधबार नै समयले भ्याएको भए राष्ट्रपति कहाँ जाने तयारी थियो । तर, आयोगले निर्वाचन परीणाम बुझाउन समय लागेपछि आजलाई सरेको हो ।

राष्ट्रपति कार्यालय स्रोतले दलहरु बहुमतसहित दाबी गर्न आए आज नै प्रधानमन्त्री नियुक्त हुन सक्ने बताएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार अबेर राष्ट्रपतिलाई बुझाएको छ । यससँगै केन्द्रमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

बुधबार नै आयोगले अन्तिम नतिजा बुझाउने र लगत्तै केपी ओलीले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार नै राष्ट्रका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।

तर, आयोगले चुनावको नतिजा शीतलनिवास पठाउन ढिलाइ गरेकाले देउवा सरकारको आयु एक रात लम्बिएको हो ।

मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव भएको थियो । तर, राष्ट्रियसभा निर्वाचन नहुँदा लामो समयसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट तोकिएन ।

४ माघमा राष्ट्रियसभा निर्वाचन भएसँगै समानुपातिक सांसद छनोट प्रक्रिया सुरु भएको थियो । समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६-६ सिट पाएका छन् । त्यसमा विजयी सांसदहरुको नाम टुंगो लगाउँदै आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आज ९ बजे मन्त्रिपरिषदको अन्तिम बैठकबसेर त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दैछन् । त्यसपछि आजै देउवा सरकारको बिदाई हुनेछ ।

एकताबारे पत्रपत्रिका

राजधानीबाट आज प्रकाशित प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ राजनीति र खेलकुद विषयले भरिएका छन् । तथापि भित्री पृष्ठमा पत्रपत्रिकाहरुले आर्थिक, सामाजिक, स्वास्थ्यलगायतका विषय पनि उठाएका छन् ।

एमाले–माओवादी पार्टी एकता प्रक्रियामा भएको प्रगतिलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले विविध शीर्षकमा लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी एकतापछि आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने सबैजसो दैनिक पत्रिकाहरुको समाचारको सार छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीको अन्तिम परिणामसहितको प्रतिवेदन राष्टपति विद्यादेवी भण्डारीलाई बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । आजको दैनिक पत्रिकाहरुको प्राथमिकतामा यो विषय पनि उत्तिकै परेको छ । पत्रपत्रिकाहरुले सरकार निर्माणको बाटो खुलेको र वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको लेखेका छन् । ‘निर्वाचन आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामाको तयारीमा छन् भने एमाले अध्यक्ष ओली भावी प्रधानमन्त्री बन्ने तरखरमा छन्’, आजका पत्रपत्रिकाहरुले समाचारमा छापेका छन् ।

क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको खबरलाई आजका सबै दैनिक पत्रिकाहरुले पहिलोपृष्ठमा ठाउँ दिएका छन् । यसमध्ये केही पत्रिकाले यसलाई मुख्य समाचार नै बनाएका छन् ।

आजका पत्रपत्रिकाहरुले प्रदेशमा सुरु भएको सरकार गठन प्रक्रियालाई पनि नियालेका छन् । बुधबार प्रदेश १, २ र ३ मा मुख्यमन्त्री नियुक्त भएको समाचार लेखेका पत्रपत्रिकाहरुले बाँकी प्रदेशमा पनि सरकार गठनका लागि पहल भइरहेको जनाएका छन् ।

यसका अतिरिक्त काठमाडौं भूकम्पको थप जोखिममा परेको, कर्मचारीकै मिलेमतोमा बैंक ठगी भएको, नवराज सिलवाल अब फरार अभियुक्तमा दरिएकोलगायत समाचार पनि पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा अटाएको छ ।

एमाले–माओवादी एकताः ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी

‘विश्वकपतर्फ नेपालको यात्रा’ शीर्षकमा मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले दुवै पार्टीका अध्यक्ष आलोपालो नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुने लेखेको छ । दुई नेताका समझदारीलाई औपचारिकता दिने गृहकार्यमा एकता संयोजन समिति लागेको समाचारमा उल्लेख छ ।

‘एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिको एकीकृत पार्टीमा केपी ओली र प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ’, नयाँ पत्रिकाको समाचारमा लेखिएको छ, ‘दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।’

नयाँ पत्रिकाका अनुसार आलोपालोको विषय टुंगिए पनि अवधिको विषय टुंगिन बाँकी छ ।

यद्यपि, राजधानी दैनिकले भने फरक दलिल पेस गरेको छ । राजधानीका अनुसार एमाले र माओवादी केन्द्रबचि एकता गर्न बनेको संयोजन समिति बैठक सहमतिनजिक पुगेको तर सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषय टुंगिन बाँकी छ ।

समाचार अनुसार बुधबार बसेको संयोजन समितिको बैठकमा कार्यदलका सदस्य चयन र दुई अध्यक्ष कसले कति सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास सफल भएन ।

ओलीलाई प्रधानमन्त्री बनाउन माधव नेपाल प्रस्तावक

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न एमाले नेता माधव कुमार नेपालले प्रस्ताव गर्ने छन् ।

वाम गठबन्धनले बिहीबार नै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको अन्नपूर्ण पोस्टले लेखेको छ।

२०७४ फागुन ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड