इमान्दार संवाददाता
६०१ पटक

काठमाडौं ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

स्थायी कमिटीको बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले बताए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

उता नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्छ ।’ दुई नेताको व्यवस्थापनले मात्रै हँदैनु, उनले भने, पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए । पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छु, उनले भने ।

यस्तै माओवादी केन्द्रको पनि आकस्मिक बैठक बसेको छ तर निर्णय आउन अझै बाँकी छ । एमालेको निर्णयले माओवादी कार्यकर्ताहरुको ढुकढुकी बढाएको छ ।

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड