इमान्दार संवाददाता
६९ पटक

काठमाडौं ।

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङमा उत्रिएको छ।

नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। यस्तै आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र क्यनडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन्। यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ।

शीर्ष २ भित्र परेका टिम आउँदो सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुने प्रतियोगितामा छानिनेछन्।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

पछिल्लो समय खराब ब्याटिङले गुज्रिरहेको नेपाल शीर्ष २ मा पर्न आज क्यानडालाई हराउनैपर्ने बाध्यता छ। यदि हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ।

नेपालले हार बेहोरेको अवस्थामा नामिबियाले नेपाललाई अंकमा पछि पार्नेछ। यदि नामिबियालाई युएईले हराए पनि रनरेटमा नेपाललाई पछि पार्दै छनोट हुनेछ। यसर्थ नेपालका लागि आजको खेल ‘गर या मर’ सरह हुनेछ।

प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफूलाई सम्हाल्न सकेको छैन। उपकप्तान ज्ञानेन्द्र मल्लले ४ खेलमा ३६ रनमात्र बनाउन सकेका छन् । अर्का आसलाग्दा खेलाडी दीपेन्द्रसिंह ऐरीले ३१ रनमात्र बनाउन सकेका छन् । दिलीप नाथले पहिलो ३ खेलमा २१ रनमात्र बनाउन सके।

चारपल्ट विश्वकप खेलिसकेको क्यानाडाले २०१४ को विश्वकप छनोटपछि रेलिगेसनमा पर्दै डिभिजन २ हुँदै ३ मा झरेको थियो । डिभिजन ३ को उपविजेता बन्दै क्यानाडा डिभिजन २ मा खेलिरहेको हो।

क्यानडा र नेपालबीच भएका पछिल्ला २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो।

त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाललाई क्यानडाले १२ रनले हराएको थियो।

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड