इमान्दार संवाददाता
१७६ पटक

काठमाडौं।

एकता र नयाँ सरकारको विषयलाई लिएर एमालेभित्र सुरु भएको अन्तरविरोधले सिमा नाघेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तह लगाउने भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल निकट नेताहरुले बबण्डर सुरु भएको छ ।

ओलीले नयाँ सरकार गठनका लागि तयारी गरिरहेकाबेला उनीविरुद्धको पार्टीका शिर्ष नेताहरु खनिएका छन् ।  अध्यक्ष ओलीले एकलौटी ढंगले गतिविधि अघि बढाएको भन्दै उनीविरुद्धको क्याम्पेनिंग सुरु भएको हो । स्रोतका अनुसार ओली र खनाल-नेपाल पक्षबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ ।

असन्तुष्टि कहाँसम्म पुगेको छ भने वरिष्ठ नेता खनाल र नेपाल निकट नेताहरुको काठमाडौँमा गोप्य भेला गरेका छन्। एमाले नेता नेपाल चितवनबाट फर्खनासाथ मंगलबार साँझ काठमाडौंमै एक नेताको घरमा गोप्य भेला भएको एमाले उच्च स्रोत जनायो । भेलामा एमालेका स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय कमिटीमा रहेका नेताहरुको सहभागिता रहेको बताईएको छ ।

अध्यक्ष ओलीले हालै सम्पन्न निर्वाचनमा टिकट वितरणदेखि प्रदेशको मुख्यमन्त्री बनाउनेबारे सम्म आफूहरुलाई वास्ता नगरेको बरु उल्टै आफ्नो गुटका नेताहरुलाईमात्रै पक्षपोषण गरेको भन्दै उनीहरुले यस्तो गोप्य भेला गरेका हुन् ।

अब बन्ने सरकारको नेतृत्व एमालेले गर्ने निश्चित छ । यस्तो अवस्थामा ओलीले पुनः केन्द्रीय सरकारमा समेत आफूहरुलाई बाईपास गर्न सक्ने आँकलनसहित खनाल नेपाल पक्षधरहरुले भेला गरेर त्यसको विरुद्धमा सशक्त भएर लाग्ने मंगलबारको गोप्य भेलामा छलफल भएको स्रोतको दाबी छ । मंगलबारको भेलाले ओलीलाई पार्टीभित्र थप अप्ठेरो पार्न सक्ने देखिएको छ ।

भावी राष्ट्रपति र एकताको विषयलाई लिएर ओली र खनाल-नेपाल पक्षबीच सुरु भएको मनमुटावले विकराल रूप लिएपछि एमालेभित्र बबण्डर मच्चिएकाे छ । अाेलीले बिद्या भण्डारीलाई नै पुनः राष्ट्रपतिमा निरन्तरता दिने तयारी गरेपछि अर्का राष्ट्रपतिका मुख्य आकांक्षी झलनाथ खनाल पड्किएका छन् ।

खनाल यसअघि पनि सार्वजनिक रुपमै ओलीसँग असहमति राख्दै आएका थिए । ‘एमालेभित्रको चरम अन्तरविरोधले पार्टी एकतामा पनि ठुलो धक्का लाग्ने देखिन्छ ।’ एमालेकै एक नेताले संचारकेन्द्रसँग भने- ‘नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बेलामा यस्तो असन्तुष्टि बाहिर जानु राम्रो भएन। यो अध्यक्ष आफैले पनि बुझ्नुपर्ने कुरा हो।’

कहाँ पुग्यो एकता ?  के हुन संयोजन समितिका एजेन्डा ?

एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लगाएका छन् । सोमबार र मंगलबार लगातार बैठक बसेर उनीहरूले एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता सहअध्यक्षका रूपमा रहने र सरकारको नेतृत्व पालैपालो गर्ने मोडलमा समझदारी गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एकता घोषणापछिको निरन्तर छलफललाई निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै सहअध्यक्ष रहने गरी (एकता महाधिवेशनसम्मका लागि) संक्रमणकालीन मोडलमा सहमति गरेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

ओली र प्रचण्डबीच मंगलबार बेलुकी ललितपुरमा साढे दुई घन्टा छलफल भएको थियो । छलफलले एकताको मोडालिटी टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘दुई अध्यक्षले पार्टी एकताको मोडालिटी टुंगो लगाउनुभएको छ,’ ज्ञवालीले भने, ‘उहाँहरूबीच भएको अन्तिम समझदारीअनुसार बुधबार एकता संयोजन समितिको बैठक बस्नेछ र सोहीअनुसार निर्णय हुनेछ ।’

पार्टी एकतासँगै प्रधानमन्त्रीका रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले कार्यकारी प्रमुखका रूपमा एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेन्डा जानकारी नगराएको बताए । ‘वार्ताबाट एकताको मोडालिटी टुंगिएको जानकारी भए पनि एजेन्डाबारे कुनै जानकारी दिनुभएको छैन, सबै कुरा संयोजन समितिको निर्णयपछि बाहिर ल्याउने तयारी छ,’ गौतमले भने ।

प्रचण्डसँगको अन्तिम समझदारीपछि ओलीले मंगलबार बेलुकी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका केही निकटस्थ नेताहरूसँग सुझाब लिएका छन् ।

बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार बिहान पनि दुई अध्यक्षबीच छलफल हुने र दिउँसो एकता संयोजन समितिको बैठक बस्ने ज्ञवालीले जानकारी दिए ।

‘बिहान दुई अध्यक्षबीच एकपटक छलफल हुन्छ र दिउँसो एकता संयोजन समिति बैठक बसेर सबै कुरा टुंगिन्छ,’ उनले भने । स्रोतका अनुसार दिउँसो २ बजे संयोजन समितिको बैठक बस्नेछ ।

वैचारिक र सैद्धान्तिक विषयमा कार्यदलमार्फत गृहकार्य गर्ने दुई दलबीच समझदारी छ । समाजवादउन्मुख समृद्धिको कार्यदिशामा अघि बढ्ने, जबज र २१औँ शताब्दीको जनवादका समानताहरूको पहिचान गर्ने र हल हुन नसकेका विषयलाई एकता महाधिवेशनमा लैजाने दुई दलबीच समझदारी छ ।

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भ्रातृ संगठनहरूको एकताको विधि र प्रक्रियालगायतका विषयमा कार्यदलले गृहकार्य गर्नेछ ।

 

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड