इमान्दार संवाददाता
२१७ पटक

सुदिप बर्देवा

आजभन्दा २२ वर्ष अगाडि ‘प्रतिक्रियावादी सत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अगी बढौ” भन्ने मूल नाराका साथ २०५२ फाल्गुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सशस्त्र जनयुद्ध सुरु गरेको आज २२ बर्ष पुगेको छ । देश र जनताको मुक्तिका निम्ति भन्दै सुरु गरिएको जनयुद्ध २२ बर्ष पछाडि आइपुग्दा पनि जनयुद्धले उठाएका मुद्दाहरु उही ठाउँमा छन।

यो २२ बर्षको अबधिमा नेपालको राजनैतिक व्यवस्थामा धेरै उतारचढाब आए । राज्यको पुनर्संरचना गर्ने महान उदेश्यका साथ् सुरु गरिएको जनयुद्ध १० बर्ष पछी २०६३ मा आएर बृहत शान्ति सम्झौताका नाममा अन्त्य भएको घोषणा गरियो। जनताको मुक्ति र राज्यको समग्र संरचना नै बदल्ने महान उदेश्य प्राप्तिको नजिक पुग्दै गर्दा तत्कालिन सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादीकाबीच बाह्र बुंदे सहमती र बिस्तृत शान्ति सम्झौताका नाममा २०६३ मंगसिर ५ गते जनताको मुक्ति र राज्यको पुनर्संरचनाको महान उदेस्यमा पहिलो चरणको पूर्ण बिराम लाग्यो ।

त्यहि दिनदेखि निरन्तर क्रान्ति र परिवर्तनको पक्षधर जनतामा नैराश्यता छायो । १० बर्षको जनयुद्धको मूल मर्म र उदेश्यमा दृढता पुर्बक लाग्दै देश र जनताको मुक्तिका निम्ति कम्युनिष्ट सिद्दान्तमा लामबद्ध गरिब, किसान, मजदुर देश र जनताको मुक्तिको चाहाना राख्ने आम नेपाली जनताहरुले देश बदल्ने महान अभियानमा अतुलनीय योगदान मात्र पुर्याएनन् देश र जनताको मुक्तिका निम्ति प्राणको आहुति दिन समेत पछी परेनन् ।

लेखक-बर्देवा

देश र जनताको मुक्ति कै नाममा आफ्नो अमुल्य जिबन समर्पण गर्ने ति हजारौं हजार योद्धाहरुको बलिदानी र अदम्य शाहसले १० बर्षे जनयुद्ध सुसज्जित भएको थियो । बिजयको महान लक्ष्य प्राप्तिको निम्ति जनयुद्धको मूल मर्म र उदेश्यलाई शिरोपण गर्दै अन्तिम लक्ष्यमा पुग्ने सपना बोकेर निरन्तर मुक्ति युद्धमा होमिएका ति लाखौँ लाख जनताका सपनाहरु १० बर्षे जनयुद्धका बेला कति भत्किए त कति जोडिए । हजारौं आमाका कोख रित्तिए। हजारौं श्रीमतीका सिन्दुर पुछिए। हजारौं बुवाका सपना टुक्रिए। हजारौं छोराछोरी टुहुरा भए । हजारौं बेपत्ता भए।  हजारौं घाइते र अपांग भए । कारण सबैको एउटै उदेश्य ‘देश र जनताको मुक्ति’ थियो ।

ति हजारौंहजार मुक्तिकामि योद्धा र जनतालाई देश र जनताको मुक्ति भनेको के हो ? देश र जनताको मुक्ति भित्र के के कुराहरु पर्दछन ? र बिजय हाँसिल गरिसकेपछी देश र समाज कस्तो हुन्छ ? भन्ने कुरा  थाहा थिएन होला, तर ति जनतालाई सपना देखाइएको थियो, र सपना बाँडिएको थियो । के केटाकेटि, के युवा युवती, के बृद्धबृद्धा सबै-सबैमा एउटै सपना देखाइयो। त्यो हो क्रान्ति, परिवर्तन अनि देश र जनताको मुक्ति । सयाद ति सपनाभित्र स्वतन्त्र देशको सपना थियो।

सर्बहाराबर्गको मुक्तिको सपना थियो। सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य, रोजगारी सबै प्राप्तिको सपना थियो । जनताको राज्यसत्ता स्थापनाको सपना थियो । सम्बृद्ध र बिकसित मुलक निर्माणको सपना थियो । सुशासन र सुसभ्य देशको सपना थियो । बर्गीय समानताको सपना थियो । गरिब र धनि बर्गलाई सामान बनाउने सपना थियो ।

अन्याय र अत्याचारमा परेका जनतालाई न्याय दिने सपना थियो ।  त्यसैले त ति सम्पूर्ण पिछडिएका किसान, मजदुर आदिवासी, जनजाति सुकुम्बासी र न्याय प्रेमी जनता मुक्ति आन्दोलनमा निशर्त होमिएका थिए । १० बर्षको जनयुद्ध देश र जनताको मुक्तिको शसस्त्र आन्दोलन लाई बिजय नजिक पुर्याउन यी सबै-सबै बाँडिएका सपनाहरुले ठुलै भूमिका खेल्यो ।

देशभरिका जनताहरुमा चेतना फैलियो । आवाज बिहिनहरु आवाज लिएर उठे । किसानहरु औजार लिएर उठे, मजदुर ठेलागाडा लिएर उठे, समग्रमा देशैभरिका न्याय प्रेमी जनता न्यायको बिगुल फुकेर उठे, हिमाल पहाड तराइ र पूर्व मेची देखि पश्चिम महाकालीसम्म जुरुक्कै उठ्यो । सबैको सामुहिक प्रयत्नबाट माथि उठेको १० बर्षको जनयुद्ध जनताको मुक्ति प्राप्ति नहुँदै शान्ति सम्झौतामा आएर विसर्जन भएको घोषणा गरियो ।

मुक्ति आन्दोलनका दौडान राज्यसत्ता कब्जा गर्ने, जनताको सत्ता स्थापना गर्ने, उदेश्य अनुरुप नै देशको झन्डै ८० प्रतिशत भूभागमा माओवादीले आफ्नो सत्ता स्थापना गरिसकेको परिस्थितिमा तत्कालिन नेतृत्वले खुट्टा कमाउदा नेपालको क्रान्तिकारी आन्दोलन र समग्र क्रान्तिमा नै धक्का पुग्यो । शान्ति सम्झौतापछी तत्कालिन नेतृत्वको वरिपरी रहेका अवसरवादीहरू र जनताको मुक्तियुद्धसँग डराएर भाग्दै गरेका नेता कार्यकर्ताहरुले अब त बाँचियो भन्दै उत्सव नै मनाए। तर साच्ची नै देश र जनताको मुक्ति कै निम्ति सबै किसिमका त्याग र बलिदानी दिन चाहने सच्चा कम्युनिष्ट कार्यकर्ताहरुमा भने निराशा छाउनु स्वाभाविक पनि थियो ।

देश बदल्ने महान उदेश्यमा दत्तचित्त भएर लागेका ति महान योद्धा, जो मुक्तिका निम्ति आफ्नो ज्यान तिलान्जली दिन कोहि कसैसँग सम्झौता नगर्ने महान व्यक्तित्वहरुमा बृहत शान्तिसम्झौताको छटपटाहटमा रहनु स्वाभाविक मात्र थिएन । अकल्पनीय नै थियो । त्यहि छटपटाहट भित्र पनि ति मुक्तिकामी  योद्धाहरुले क्रान्ति परिवर्तन र सर्बत्र देशको मुक्ति नै खोजिरहेका थिए। तर शान्ति सम्झौता पछी भैदियो के भने देश र जनताको मुक्तिको कुरा त परै छाडौं नेतृत्वको स्वविवेककले पनि मुक्ति पाउन छाड्यो ।

शान्ति प्रक्रियामा आइसकेपछी स्वाभाविक थियो। नेपाल कम्युनिस्ट पार्टीसँग जनलहर भरपुर हुनु । जस्को परिणाम स्वरुप २०६४ सालको पहिलो संबिधानसभा निर्बाचनमा सबै भन्दा ठुलो शक्तिका रुपमा माओवादी स्थापित भयो। जनयुद्धको रापतापका साथ आएको पार्टी, निरन्तर जनताको मुक्तिको मुद्धासँग बलिदानी दिएर आयको पार्टीले पहिलो संबिधानसभाको निर्बाचनमा ठुलो शक्तिको रुपमा उदाउदै गर्दा जनयुद्धको मुल मर्म र उदेश्य पुरा नभय पनि नयाँ र शान्तिपूर्ण बाटोबाट मुल मुद्दा र बिषयहरु  स्थापित हुने छ भन्नेमा सच्चा कम्युनिष्ट नेता कार्यकर्तामा बिस्वास नै थियो । तर त्यो बिस्वास जनमुक्ति सेनाको समायोजन प्रक्रियासम्म आई पुग्दा बिस्वासघातमा परिणत भइदियो ।

जनयुद्धमा सबै भन्दा सर्बोच्च भूमिकामा रहेको जनमुक्ति सेनाको अपमान हुनेगरी समायोजनको प्रक्रिया अघि बढेपछी हजारौ जनमुक्ति सेना आफ्नो छाती नपाउदै अयोग्यको ट्याग भिर्दै ब्यारेकबाट बिदा हुन बाध्य भए। यसले जनयुद्धप्रति नेता कार्यकर्ता र जनताको समर्पणमा घात हुन पुग्यो । सेना समायोजनबाट अयोग्य घोषित ति लडाकु योद्धाहरु, त्यहि राज्यसत्ताका बिरुद्ध लड्दा योग्य हुने शान्ति प्रक्रिया आएपछी समायोजन प्रक्रियामा अयोग्य हुने बिषयले सेनामा रहेका, लामो समय सम्म शाहीनेपाली सेनासँग ‘मुक्ति या मृत्यु’ रोजेर लडेका योद्दाहरु कति बिरक्तिए होलान ? ति योद्धाहरुको मनमा जनयुद्धप्रतिको धारणा कस्तो बन्यो होला ? देश र जनताको मुक्तिका निम्ति भनेर लडेका ति योद्धाहरु मुक्ति प्राप्त नहुदै आँखाभरी आँशु पार्दै घर फर्किनुपर्दा कति पिडा भयो होला ? यी सबै कुरालाई तत्कालिन नेतृत्वले घाममा सुकाउदै आफ्नै सुर गर्न थाल्यो ।

यी र यस्ता कारणले जनमुक्ति सेनाको बहिर्गमनसँगै जनयुद्धमा प्रमुख नेतृत्वको भूमिकामा रहेका मोहन बैध किरण, नेत्र बिक्रम चन्द ‘विप्लव’ लगायतको जनयुद्धबाट आएको ठुलो समूह तत्कालिन नेतृत्वले धोका दिएको भन्दै अलग भूमिकामा क्रान्ति र परिबर्तनको बाटोमा अगाडी बढ्यो । यता जनयुद्ध शान्तिप्रक्रियामा अवतरण भयपछि पनि जनताको अपेक्षा बमोजिम नेतृत्व अघि बढन सकेन । यसैको परिणाम थियो, जनयुद्धमा सँगै प्रमुख नेतृत्वमा रहेका नेताहरु बिचको फुट पैदा भयो ।

२०६४ सालको पहिलो संबिधानसभाको  निर्बाचनपछी, पहिलो शक्तिको रुपमा माओवादी उदाए पनि तत्कालिन नेतृत्वले जनताका मुल मुद्दालाई एक पछी अर्को गर्दै छोड्दै गएपछी जनतामा अझ ठुलो नैराश्यता बढ्दै गयो । पहिलो संबिधानसभाको निर्बाचनपछी ठुलो शक्तिको रुपमा सत्ताको बागडोर समाल्ने मौका तत्कालिन नेकपा (माओवादी) ले पाएपनि मुल मुद्दाहरुमा अन्य राजनीतिक दलहरुसंग सम्झौता गर्न थालेपछी शक्ति र सत्ताको वरिपरी रहेका नेता कार्यकर्ता बाहेक अन्य जनयुद्धका सारथिहरुलाई  ब्यवास्ता गर्न थालेपछी झन् बढी माओवादी पार्टी संकटमा पर्यो ।

राज्यको बागडोर समाल्दै गर्दा पनि राज्यका संयत्रहरु सहि ढंगले परिचालन गर्न नजान्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” ले नौ महिना मै सत्ताबाट बहिर्गमित हुनुपर्यो । बृहत शान्ति सम्झौतापछी आजसम्म पनि प्रचण्ड र उनको पार्टी शक्ति र सत्ता कै वरिपरी नै छ, तर पनि उनले जनयुद्धमा भने जस्तो जनताका मुद्धा आजसम्म पनि बेवारिसे अबस्ता मै छन् । संबिधानसभाको दोश्रो निर्बाचनपछी यो देशमा जनताद्वारा लिखित भन्दै २०७३ साल असोज ३ गते नयाँ संबिधान जारी भयो, तर जनयुद्धको कमान्डर रहेका प्रचण्ड कै प्रमुख भूमिकामा जारी भएको उक्त संबिधानमा पनि  जनयुद्धका आधारभूत मुद्धा समेत अटेनन् ।

जनयुद्धका सर्बोच्चा नेता मध्यका एक डा बाबुराम भट्टराई कम्युनिष्ट सिद्दान्त नै छाडेर बैकल्पिक शक्तिको खोजिमा अलमलिन पुगे । यतिखेर उनले जनयुद्धका बिषयमा जतिसुकै साजसज्जा गरेर बोलेपनि उनि माक्सवादको सिद्दान्त भन्दा निकै टाढा उछिटटिएर गइ सकेका छन् । जसलाई नेपाली राजनितीमा निकै चम्किलो टर्च लाईट बालेर खोज्नुपर्ने भइसकेको छ । यता मोहन वैध ‘किरण’ नेकपा (क्रान्तिकारी) माओवादीको नाममा संघर्ष गर्छु भनिरहेका छन् । संघर्ष गर्दागर्दै उनको पार्टी पनि निकै धमिल भैसकेको छ ।

यतिखेर वास्तबमै १० बर्से जनयुद्धको मुल मर्म र कार्यभार कसले र कसरी लिने, त्यो कार्यभारलाई कसरी पुरागर्ने, क्रान्तिलाई कसरी पुरागर्ने भन्ने बहस माओवादी पार्टीहरुमा चलीरहेको छ । १० बर्षे जनयुद्धको कार्यभार पुरागर्न एकीकृत जनक्रान्तिहुदै बैज्ञानिक समाजवादमा जाने भन्दै नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा संघर्षमा छ । उसले आफुलाई सच्चा कम्युनिस्ट पार्टीको रुपमा यो देशमा कसरी चित्रित गर्छ त्यो  भने हेर्न बाँकी छ ।

यतिखेर समाज संसदीय व्यवस्थाको गोलचक्करमा फसेको छ । शक्ति र सत्ताको वरिपरी रहेका जुनसुकै पार्टीहरुले समाज कब्जा गरिसकेका छन । यो कुरा स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा नामका विभिन्न निर्बाचनहरुको परिणामले त झनै स्पस्ट पारेको छ । हरेक गाउँ भ्रष्टाचार गर्ने थलो (सिंहदरबार) भएका छन् ।

दिनदिनै  राज्यकोषको पैसा पार्टीको स्वार्थमा खर्च भइरहेको छ । शक्ति र सत्ताको पहुचमा पुगेका मानिसले राष्ट्रको ढुकुटी रित्याएकै छन्। ठुलालाई चैन, सानालाई ऐंन चलेकै छ । भ्रस्टाचार दिनप्रतिदिन मौलाएकै छ । धनि दिनदिनै धनि भएकै छन्। गरिब झन-झन् गरिब हुदै जादैछन् । अन्यायमा पर्ने परेकै छन्।  कर्मचारीले हात्तिछापा वाला कागज नपुगेको बाहानामा सोझासिधा जनता ठगेकै छन् । राज्यका सबै निकाय दलाल र भ्रष्टाचारीको पन्जामा पारिसकेका छन् ।

न्याय मरीसकेको छ । यस्तो अबस्थामा अब २०५२ सालमा उठेको देश र जनताको मुक्तिको मुद्दा कसले बोकेर आउला ? साच्चिकै यो देश र जनताको मुक्तिको उदेश्य कहिले पुरा होला ? यी र यस्ता हजारौ अनुत्तरित प्रश्न जनतासँग जिवितै छन् ।

आज २२ वर्ष पछाडी आएर ति महान जनयुद्धका दिनहरुलाई फर्केर हेर्दा शामन्ती राज्यव्यवस्था बिरुद्ध धावा बोल्दै जनताको मुक्तिको निम्ति हतियार उठाएको र राज्य व्यवस्थालाई घुडा टेकाउन सफल भएकोमा गर्व महसुस् हुन्छ, भने अर्को तर्फ राज्यका  ८० प्रतिसत भूभागमा जनवादी सत्ता स्थापना गरीसकेर पनि जनताको राज्य व्यवस्था स्थापना गर्ने उदेश्यको नजिक पुगेर नेतृत्वले प्रतिक्रियावादी राज्यसत्ताका शासकहरुसँग सम्झौता गरेको बिषयले ग्लानि महशुस हुन्छ । तर आजकै दिनबाट नेपालको आगामी भविष्य हेर्दा वास्तबमै यो देशमा क्रान्ति आवश्यक छ ।

देश र जनताको मुक्ति अपरिहार्य छ भन्ने कुरामा नेपालका सच्चा कम्युनिष्टहरु दृढ छन् । जनयुद्धको कार्यभार पुरागर्ने जिम्मेवारी बोकेको पार्टीसँग निरन्तर हिडिरहेका छन् । महान जनयुद्धको २३ औं वार्षिकोत्सवको अवसरमा निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा उभिएर देश र जनताको मुक्तिको खोजीमा संघर्षरत योद्धाहरुप्रति बिशेष शुभकामनासहित क्रान्तिकारी लाल शालाम ।

लेखक क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् 

२०७४ फागुन १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड