
काठमाडौं, १ फागुन ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले बुधबार लिगको शीर्ष स्थानमा रहेको क्यानडासँग खेल्दैछ ।
नामिबियाको विन्डहकस्थित वन्डरर्स क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल र क्यानडाले समान तीन जित र एक हारको नतिजा आत्मसाथ गरेका छन् । समान ६ अंक भए पनि क्यानडा रनरेटको आधारमा अगाडि छ ।
नेपालले प्रतियोगितामा घरेलु टोली नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग पराजित भएको थियो । नामिवियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । त्यसयताका दुई खेलमा नेपालले युएईलाई ४ र केन्यालाई ३ विकेटले हराएको छ ।
यता क्यानडाले पहिलो खेलमा ओमानलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा युएईलाई २३ रनले र तेस्रो खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो । तर नामिबियाविरुद्ध भने क्यानडा १७ रनले पराजित हुन पुग्यो ।
बुधबारको खेलमा क्यानडालाई पराजित गरे नेपाल समूह विजेताका रुपमा फाइनलमा पुग्छ भने डिभिजन वानमा पनि उक्लनेछ । साथै मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा पनि सहभागी हुन पाउनेछ । क्यानडासँग पराजित भएको अवस्थामा नेपालले अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
यदि नेपाल पराजित भएमा युएई र नामिबियाबीचको खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । घरेलु टोली नामिबियाले बाँकी दुई खेलमा केन्या र युएईलाई हराएमा नामिविया शीर्ष दुईमा पुग्नेछ । यता, युएईले नामिवियालाई हराएमा हेड टू हेडका साथै रन रेटको आँकडा लागू हुनेछ । तर नामिविया केन्यासँग मात्र पराजित भएमा पनि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना बलियो हुनेछ ।
नेपाल र क्यानडा पछिल्लो चार वर्षमा दुई पटक आमनेसामने भएका छन । जसमा एक खेल नेपालले जितेको छ भने एक खेल क्यानडाको पक्षमा गएको छ । तर यी दुई टिम २०१५ पछि पहिलो पटक खेल्दैछन् ।
२०१४ मा न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर २०१५ मा नामिवियामा नै भएको डिभिजन टूमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो ।