इमान्दार संवाददाता
३२१ पटक

काठमाडौं ।

एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच  सोमबार भएको ‘वान टु वान’ वार्ताले अर्को तरंग पैदा गरेको छ ।

अाेली-प्रचण्डको सोमबारको बार्ताले केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको स्रोतको भनाई छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मानिन्छन् ।

वार्तामा के भयो भन्ने दुवै पक्षले प्रष्ट रुपमा नखुलाए पनि दुवै दलका शीर्ष दुई नेताबीच भएको संवाद सकारात्मक रहेको बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘टुंगिने चरणमा छ भन्ने संकेत पाएको छु ।’ स्रोतका अनुसार दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन ।

अाज पनि ओली र प्रचण्डबीच भेटवार्ता हुनेछ । दुई नेताबीच सहमति भए पर्सी पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता हुने सन्देश दिने तयारी छ ।

माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् ।

पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् । ०४७ मा माले र मार्क्सवादी एकीकरण गर्दा जस्तो सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव (संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था) पनि छलफलमा छ । एकीकृत पार्टीमा तत्काल प्रचण्ड वा ओलीको एकल नेतृत्व सम्भव नभएको भन्दै स्रोतले भन्यो, यसकै छेउछाउ त्यतातिर पो जानुपर्छ कि भन्ने छ ।’

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एकताबारे सकारात्मक छलफल भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘सरकार गठन अगाडि पार्टी एकताको प्रारुप तयार हुन्छ । सरकार गठन भएपछि केही समयमा नै पार्टी एकता घोषणा हुन्छ ।’

यसैबीच बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष निवास खुमलटारमा मंगलबार बिहान भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेको निजी सचिवालयले जनाएको छ ।

रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत अध्यक्षसँग छलफल गरेका हुन् ।

रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताए ।

पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरूको सहभागिता सुनिश्चित भएको समेत बताए ।

स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै अध्यक्ष प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा बेलायतले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाई समेत धन्यवाद व्यक्त गरे ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरूको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरूको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको बताए ।

२०७४ फागुन १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड