इमान्दार संवाददाता
२३ पटक

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूचीको टुंगो लगाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १७ जना उम्मेदवार टुंगो लगाएको हो ।

माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ । जसमध्ये १६ जना महिला र एक पुरुषलाई पठाएको छ । माओवादी केन्द्रबाट पुरुषतर्फ हितराज पाण्डे, आदिवासी जनजाति महिलातर्फबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा सुवेदी गुरुङ र अमृता थापा छन् ।

त्यस्तै खस आर्य महिलामा पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल र सत्या पहाडी छन् । मधेसी महिलातर्फ इन्दु शर्मा, वोधमाया यादव, छन् भने दलित महिलाबाट अन्जना विशुंखे र दुर्गा विक छन् ।

त्यस्तै थारु महिलातर्फबाट रामकुमारी चौधरी र मुस्लिम महिलाबाट शेखतारा चाँद समानुपातिकबाट सांसद बनेका छन् ।

समानुपातिकमा परेकाहरु अधिकाँश नेताका श्रीमती र पुर्व मन्त्री तथा सभासद्

सांसद बनेकाहरुमध्ये जयपुरी घर्ती पूर्व सभासद् हुन् भने शशी श्रेष्ठ माओवादी केन्द्रका नेता लीलामणि पोखरेलकी पत्नी हुन् । त्यस्तै माओवादी नेता वर्षमान पुनकी पत्नी ओनसरी घर्ती पूर्व सभामुख समेत हुन् ।

त्यस्तै सांसद बनेकी यशोदा सुवेदी गुरुङ माओवादी नेता देव गुरुङकी पत्नी हुन् भने अर्की अमृता थापा हितमान शाक्यकी पत्नी हुन् । उनि पनि पूर्व सभासद हुन् । त्यस्तै अर्की सांसद सत्या पहाडी शक्ति बस्नेतकी पत्नी हुन्, उनि पूर्व मन्त्री समेत बनिसकेकी छिन ।

रेखा शर्मा र धर्मशीला चापागाइँ पुर्व राज्यमन्त्री हुन् ।अर्की सांसद पूर्णकुमारी सुवेदी पुर्व उपसभामुख हुन् भने दुर्गा विक पूर्व सभासद हुन् ।

काँग्रेसको समानुपातिक सांसद व्यापारी र ठेकेदारको कब्जामा

नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । समानुपातिक सूचीमा खस÷आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् ।

त्यस्तै खस÷आर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् ।
आदिवासी÷जनजाति (पुरुष) तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन हुनुभएको सचिव रिजालले बताए । आदिवासी÷जनजाति (महिला) तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा छन् ।

मधेशी (पुरुष) मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन भएका छन् । त्यस्तै दलित (पुरुष) तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन हुनुभएको छ भने दलित (महिला) तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् । थारू (पुरुष) तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला) तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी छन् । त्यस्तै मुस्लिम (पुरुष) मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला) तर्फ सर्वतआरा खानम चयन भएको रिजालले जानकारी दिए ।

गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कूल २३ स्थानमा विजयी काँग्रेसबाट कुनै पनि महिला निर्वाचित हुन सकेका थिएनन् । त्यस्तै माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १३ स्थानमा विजयी भएको काँग्रेसका छ महिला विजयी भएका थिए ।

कानूनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ । त्यसैले काँग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । पार्टीले सो नामावली आयोगमा बुझाएको छ ।

आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिक रुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।

आयोगका अनुसार समानुपातिकतर्फ एमाले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ÷छ स्थान प्राप्त गरेका छन् । नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा (तीन जना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ ।

२०७४ फागुन १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड