इमान्दार संवाददाता
६९७ पटक

काठमाडौं ।

प्रदेश ६ मा पनि राष्ट्रियसभा सांसदको चुनावको मत परिणाम आउन सुरु गरेको छ । पहिलो चरणमा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् ।

नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत ल्याए । यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शमाएले ९७८ मत ल्याए । अन्य ६ पदको मतगणना भने जारी छ ।

उता राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बुधबार निर्वाचन भएको दलित सदस्य र अपांग वा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही र अपांग वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रदेश ७ बाट निर्वाचित हुने ८ सदस्यमध्ये ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुर्इ सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।

दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८३२ मत प्राप्त गरे । उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको एक जनाको मत बदर भएको छ ।

यस्तै अपांगता/अल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन ।

राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे । यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ ।

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई छन् ।

यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् ।विजयी उम्मेदवारलाई भोलि प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

उता प्रदेश नम्बर ४ मा मतगणना जारी छ । दिउँसो ४ बजेबाट सुरु भएको मतगणना दलित कोटाको गणना सकिएको छ ।

दलित कोटाबाट माओवादीका खिबहादुर विक निर्वाचित भएका छन् । स्याङ्जाका बिकले बहुमत ल्याएर बजयी भएका हुन् । उनको प्रतिस्पर्धी कांग्रेसका जीतबहादुर नेपाली थिए ।

मतगणना बुधबार सकिने क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ । लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा मतदान सकिएर अहिले क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मतगणना भइरहेको छ ।

प्रदेश नम्बर ४ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना र ६० जना प्रदेश सभा सांसद थिए । मुस्ताङ प्रदेश सभा ख का राजीव गुरुङ ‘दीपक मनाङे’ बाहेक सबैले मतदान गरेका थिए ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना हरेकको १८ का दरले ३ हजार ६० र प्रदेश सभाका ६० जनामध्ये हरेकको ४८ का दरले २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार छ ।

निर्वाचन मण्डल (मतदाता) ले दिएको मतको आधारमा एकल सक्रंमणीय मत प्रणालीबाट प्रत्येक प्रदेशबाटराष्ट्रिय सभाका ८ जना सदस्य चयन हुने प्रावधान छ । क्षेत्रीय निर्वाचन कार्यलय पोखराका सूचना अधिकारी तेजबहादुर गुरुङले प्रदेश नम्बर ४ बाट अपांगको कोटामा प्रकाश पन्थ निर्विरोध भएकोले खुल्ला ३, महिला ३, दलित १ गरी ७ जनाको लागि निर्वाचन भएको जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ४ बाट ८ पदका लागि १२ जनाको उम्मेदवारी परे पनि १ जनाको उम्मेदवारी रद्द भएको छ । ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी परेको हो ।

वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), एमालेबाट शान्ति अधिकारी (बागलुङ) प्रतिस्पर्धामा छन् । अपांग कोटातर्फ रामबहादुर थापा (स्याङ्जा) को उम्मेदवारी परेकोमा उनको उम्मेदवारी आयोगले रद्द गरिदिएको छ ।

कांग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दादेवी रानामगर (कास्की) र दलिततर्फ जीतबहादुर नेपाली (पर्वत)ले उम्मेदवारी दिएका थिए । राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) ले उम्मेदवारी दिएका दिए ।

निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट ३ जना विज्ञ पोखरा आएका छन् । ३ जना विज्ञ र २ जना प्रशासनिक गरी ५ जनाको गणना टोली निर्वाचन आयोगले खटाएको छ ।

२०७४ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड