इमान्दार संवाददाता
२४२७ पटक

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिले धम्की दिएको खुलासा भएको छ ।

भारतीय विदेशीमन्त्री सुष्मा स्वराज नेपाल आउनुभन्दा केही दिनअघि मात्रै रअका प्रतिनिधिले धम्की दिएका हुन् । धम्कीलगत्तै स्वराजको नेपाल भ्रमण भएको स्रोतले जनायो ।

उच्च स्रोतका अनुसार नेपाली काँग्रेसको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न तयार नभएपछि उनलाई ‘रअ’ले धम्की दिएको हो । उसले काँग्रेसको प्रस्तावमा प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दवाव दिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू तत्काल वाम गठबन्धन तोड्न सक्ने अवस्थामा नरहेको भन्दै काँग्रेस र ‘रअ’को प्रस्तावलाई अस्वीकार गरेपछि उनलाई धम्की दिएको स्रोत दाबी छ ।

“एमालेसँग पार्टी एकता गर्दा प्रधानमन्त्री पाइन्छ ? भन्दै ‘रअ’का प्रतिनिधिले प्रचण्डलाई प्रश्न गरेका थिए । अकमकाउँदै जवाफमा प्रचण्डले तत्काल वाम गठबन्धन तोड्न आफुले नसक्ने बताएपछि उनीहरु आक्रोसित भएका थिए” स्रोतले भन्यो । स्रोतका अनुसार उपचार बहाना बनाई थाइल्याण्ड पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्ने र प्रचण्डलाई धम्क्याउने ‘रअ’ का एजेन्ट एकै जना हुन् ।

सोही क्रममा ‘रअ’ले प्रचण्डलाई नेपालमा भारतको इसाराबेगर सरकार गठन हुन नसक्ने र भएमा धेरै समय नटिक्ने घुमाउरो चेतावनी दिइएको थियो । प्रचण्डले आफूहरुलाई वाम एकता र वाम सरकारको एजेण्डामा जनताले मत दिएको धारणा राखेको र सो लगत्तै ‘रअ’का प्रतिनिधिले “तपाईँको छोरा प्रकाशको बेडमै हामी पुगेको कुरा त थाहै होला नि ?” भन्दै मनोवैज्ञानिक तथा भौतिक धम्की समेत दिएका थिए। यो कुरा प्रचण्डले पार्टीको केही विश्वासपात्रहरुलाई समेत शेयर गरेको बताइन्छ । ‘रअ’को धम्कीपछि प्रचण्ड निकै दवावमा रहेका छन् ।

उपचारका सिलसिलामा एजेन्टसँग भेट गरेपछि यता ओलीले भारतसँग नरम बनेको र सोही मुताविक उनैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा स्वराजलाई नेपाल बोलाएको स्रोतको दाबी छ । सो कुरा ओलीले स्वराजसँग सोल्टी होटलमा गरिएको भेटपछि स्वराजको नेपाल भ्रमण कसको निम्तामा भएको ? भन्ने पत्रकारको जवाफमा ‘मैले बोलाएको हुँ’ भन्ने मसिनो स्वरमा प्रतिक्रिया दिएका थिए।

त्यसअघि भारतको स्वार्थलाई आफूले सधैं कुल्चँदै आएको र आफूलाई ‘राष्ट्रवादी’ बताउने ओली थाइल्याण्डबाट उपचार गरेर फर्किएयता मोदीसँग टेलिफोन वार्ता समेत भइसकेको छ । उक्त टेलिफोन समेत मोदी नभई ओली स्वयम्ले गरेको उनीनिकट स्रोतले जनाएको छ । तर, बालकोटस्थित ओली निवासबाट भने मोदीले नै ओलीलाई फोन गरेको दाबीसहित सामाचार सार्बजनिक गरिएको थियो । स्वराजको भ्रमणपछि ओली र प्रचण्ड पार्टी एकताबारे निर्णयमा पुग्न निकै अप्ठ्यारोमा परेको बताइन्छ ।

स्मरण रहोस् गत मंसिर २ गते राति प्रचण्डका एक्ला पुत्र प्रकाश दाहालको ‘रहस्यमय’ मृत्य भएको थियो । प्रचण्ड प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा मोरङ तिर  गएका बेला राजधानीको लाजिम्पाटस्थित आफ्नै निवासमा राती एक्लै कोठामा सुतेका प्रकाश शरीर चिसो भइसकेको अवस्थामा भेटिएका बताइएको थियो ।

उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टर नेश्नल हस्पिटलमा पुर्याइएका प्रकाशलाई हस्पिटलले उनको मृत्यु केही घण्टा पहिल्यै भएको जनाएको थियो । प्रकाशको राती नै मृत्यु भएको हुनसक्ने अस्पतालको भनाइपछि उनको लास पोस्टमार्टम नै नगरी हतार हतार जलाइएको थियो ।

त्यस लगत्तै प्रकाशको मृत्यु ‘षड्यन्त्रमूलक’ भएको भन्दै छानबिनको माग सर्वसाधारण तहबाटै भएको थियो ।  जसको कुनै सुनुवाई भएको छैन । प्रकाशको शवको पोष्टमार्टम नगरी अन्त्यष्टी गरिँदा थप शंका पैदा भएको थियो ।

प्रचण्डलाई ‘रअ’का प्रतिनिधिले दिएको धम्कीले त प्रकाशको मृत्युबारे पनि नयाँ धारण विकास गराएको छ । अध्यक्ष प्रचण्डले पनि पटक पटक वाम गठबन्ध तोड्‍न अाफूलाई ठूलो दवाव अाएको बताउँदै अाएका छन् । स्रोतका अनुसार भारतले प्रचण्डलाई काँग्रेस र मधेशीसँग मिलेर सरकार बनाउन दबाव दिदै आएको बताइएको छ ।

यसो गर्दा वाम गठबन्धन भत्किनुका साथै पार्टी एकतासमेत भाडिने, त्यसले प्रचण्डलाई आफ्नै पार्टीभित्र पनि समस्यामा पार्ने भएकाले उनले भारतको दवाव थेगेरै भएपनि एमालेसँगको सहकार्यलाई जारी राखेका छन् । बेला बेला एमालेसँगको पार्टी एकता भाड्न बाह्यशक्ति लागि परेको स्वयं प्रचण्डले पनि बताउँदै आएका छन् ।

समाचार स्रोत अनलाइन डबली

२०७४ माघ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड