२९६ पटक

एलिजा ढकाल ।

यात्राका क्रममा मैले एउटा गाउँमा खरले छाएको सानो घरमा चारतारे झण्डा फहराएको देखेकी थिएँ। त्यो देख्नसागथ थकित शरीर भए पनि मन ढक्क फुल्यो। थकाई सबै बिर्सिएर गर्वले गदगद भएँ। मैले बिपी सम्झिएँ। बिपी नाम सम्झिए ‘ठूलाठूला’ महलमा बस्नेलाई म जनता मान्दिन ति त एक प्रतिशत पनि छैनन्। जो मोटरमा हिड्छ, राम्रो लगाउछ र मीठो खान्छ त्यो जनता होइन। जनता त गाउँमा बस्छन्। मलाई लाग्यो बिपीले भनेको नेपालीको घर यही हो। यो सानो घरमा पक्कै पनि वास्तविक नेपाली जनता बस्छन्। अझ बिपीवादी जनता बस्छन्।

बिपी भनेका थिए, ‘सबै नेपालीको मेरो जस्तै घर होस्।’ बिपीले देह त्याग गरेको कयौं वर्ष बितिसक्यो। बिपीले देखेको सपना अझैसम्म पूरा भएको छैन। यो बिपीको सपना मात्रैको कुरा होइन जनताको अधिकारसँग जोडिएको कुरा हो। देशका हरेक कुना कन्दराको प्रतिनिधित्व गर्दै, आफ्नो ठाउँको विकासका योजनासहित नेता सिंहदरबार पुग्छन्। सिंहदरबार पुगेपछि अर्को निर्वाचनको केही महिनाअघि मात्र आफ्नो ठाउँ फर्किन्छ र पुनः सपना बाँड्छन्।

मैले तनहुँको दुर गाउँमा देखेको त्यो खरले छाएको घर देशका सबै दुर्गम भेगको प्रतिनिधि घर हो। देशमा जति पक्की घर छन् त्यसका कयौं गुणा बढी त्यस्ता झुपडी छन्। दुर दराजको झुपडीसम्म पुग्ने बाटो त्यहा बस्ने जनताको आर्थिक अवस्था, शैक्षिक अवस्था, चेतना स्तर उनीहरुले पाउने स्वास्थ सेवा कस्तो होला ? सहजै अनुमान गर्न गर्न सकिन्छ। त्यो केही पनि छैन। तर, उनीहरुभित्र खँदिलो देशभक्तिको भावना छ। यस सन्दर्भमा मेरो पनि माथिको बिपी शब्दसँग मिल्दो मत रहदै आएको छ। ‘जो दूर दराजमा विकासको पहुँचबाट बन्चित रहदै गर्दा पनि नेपाली हुनुमा गर्व गर्छन्। तिनै जनता केन्द्रित हुनुपर्छ अबको राजनीती।’

हिजोको राजनीति, व्यवस्था परिवर्तनका लागि थियो। राजनीतिक व्यवस्था परिवर्तन पश्चात् मुलुकले कति विकास पाउनुपर्ने हो ? मुलुक कुन अवस्थामा पुग्नुपर्ने हो र कुन अवस्थामा छ ? आजको मुख्य प्रश्न यही हो। कांग्रेस जिम्मेवार बन्नुपर्छ। सधैं जनता व्यवस्था परिवर्तनका किस्सा सुनेर कांग्रेसको संघर्षमय इतिहास देखेर कांग्रेसप्रती आकर्षित हुदैनन्।

यो टेक्नोलोजीको युग हो जनता तत्काल रिर्जल्ट खोज्छन्। भनिन्छ नि परिवर्तन गर्नु छ भने सुरुवात आफैंबाट गर। यो तथ्य कांग्रेसमा लागु हुन्छ। जुन पार्टी बाहिर एक ढिक्का देखिए पनि भित्र टुक्रा टुक्रामा विभाजित छ त्यो पार्टीप्रति आम जनता कसरी विश्वस्त हुने ?

भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कुरा गरौं। कांग्रेस भित्र हावी भएको व्यक्तिवादी प्रवृत्तिले कांग्रेसले धेरै ठाउँमा हार बेहोर्नुपर्यो। मुलुकलाई नयाँ गन्तव्य दिन नेतृत्व गर्नुपर्नेमा आफ्ना अजेन्डाका बलमा चुनाव जित्नुपर्नेमा कोठाभित्र गुट सञ्चालन गरेर विपक्षी गुटका उमेदवार हराउने अभियानमा लागेको यथार्थले स्पष्ट हुन्छ। कांग्रेसभित्र हावी हुँदै गइरहेको व्यक्तिवादी चरित्र, गुटगत स्वार्थले पार्टीलाई कति क्षति पुगेको छ ? यो गम्भीर प्रश्न हो।

कांग्रेस भित्रको (पद र पैसा) केन्द्रित राजनीति हेर्दा मानसपटलमा लौहपुरुष गणेशमानसंग जोडिएका तथ्यहरु याद आउँछन्। केही समय अघि मैले गणेशमान सिंहका बारेमा पढेकी थिए। २०१५ सालको आम निर्वाचनमा जिते पस्चात गणेशमान जी मन्त्री बन्नु भो। पार्टीका नेता कार्यकर्ताले उहाँलाई बधाई दिदै गर्दा उहाँले बधाई अस्वीकार्य रहेको अभिव्यक्ति दिनु भयो। मन्त्री हुनुमा मात्रै होइन उहाँको असन्तुष्टि निर्वाचनमा विजयी हुनुमा नै रहेछ। कारण, गणेशमानको पक्षमा १२००० र अरुसबै दलको जोडेर १८००० मत परिणाम हेर्दा अन्य पक्षको मत बढी थियो र उहाँको मतदाताको आफूप्रतिको पूर्ण विश्वास नरहेको ठम्याइ थियो। जस्कारण उहाँले बाँकी जीवनमा प्रजातन्त्रका लागि निरन्तर लड्ने तर पदका लागि नलड्ने घोषणा गर्नुभयो।

२०४६ सालको ऐतिहासिक सफलता पछि राजाको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न पनि उहाँले अस्वस्वीकार गर्नु भो। आज कांग्रेसले गणेशमान बिर्सियो र पदीय राजनीति तर्फ उन्मुख भयो। कांग्रेसको आदर्श देखेर कांग्रेसको कार्यकर्ता हुनुमा गर्व गर्नु र अग्रजले देखाएको मार्गमा यात्रा गर्नु फरक कुरा हो। बिपी र गणेशमानका अनुयायीले उनीहरुले निर्देशन गरेको मार्गमा हिड्नुपर्छ तब मात्र उनिहरु सच्चा कांग्रेस ठहरिन्छन्।

पत्रपत्रिका, सामाजिक संजाल र विभिन्न कांग्रेससंग सम्बन्धित पुस्तकका माध्यमबाट म बिपीसँग केही हदसम्म परिचित छु। बिपीले देशभक्तिका गतिविधिसहित समाजवादी दर्शन अघि सारेर जनताको मन जितेका थिए।

राजा र पन्चायतसंग सिघौरी खेल्दै सधैं जनता पक्षमा वकालत गर्ने बिपीको पार्टी खाज सिमित स्वार्थमा खुम्चिएको छ। कांग्रेस आफ्नो सिद्धान्त बाट बिमुख भएर बिपीमार्गबाट बिचलित भएर जनताको मनमा बस्न सक्दैन भन्ने कुराको प्रमाण आज सिङ्गो मुलुकले पाएको छ।

जनताको मन जित्न कुरा मात्रै गरेर पुग्दैन, काम पनि गर्नुपर्छ। कांग्रेसप्रति जनताको विश्वास रहिराख्नुको कारण काङ्ग्रेसको गौरवशाली सघर्षमय इतिहास हो, बिपी हो। मैले बिपी बुझेकी छु, गणेशमान बुझेकी छु, कांग्रेस बुझेकी छु। अबको पुस्ता पनि कांग्रेसको इतिहास सुनेरै, बिपी पढेरै कांग्रेसप्रति आकर्षण हुन्छ र हुनुपर्छ भन्ने छैन। यथार्थमा त्यो सधैँ हुदैन पनि।

कांग्रेसभित्र बिपीको अनुशरण गर्ने भन्दा बिपी बेच्नेको भिड छ। कांग्रेसमा बिपी बिक्छ। हुन त जे बिक्छ बेच्ने त्यही हो। कांग्रेसले सधैं–सधैं बिपी बेच्यो। यति लामो राजनीतिक यात्रामा कांग्रेसले बेच्ने जस्तो अरु केही उत्पादन गर्न सकेन। त्यसैले त कांग्रेसले कहिले बिपीको दर्शन बेच्यो, कहिले बिपीको दूरदर्शिता त कहिले बिपीको सपना बेचेर कांग्रेसले निरन्तर लाभ लिइरहयो।

विभिन्न स्वरुपमा बिपी बिकिरहे। अब पनि बिपी नै बिकाउने हो भने कांग्रेसको यात्रा गन्तव्यमा नपुगी टुङ्गिन्छ।जनताको कांग्रेसप्रतिको वितृष्णा बढ्दो छ। यसको अन्त्यका लागि कांग्रेसले आफ्ना कार्ययोजना र एजेण्डा प्रष्ट पारेर जनतासामु जानुपर्छ।

कांग्रेसले हिजो देशभित्रको निरंकुशताको अन्त्य गरेर देशमा प्रजातन्त्र ल्याउन ठूलाठूला संघर्ष गर्‍यो। तर, आज आफैँभित्र हराएको लोकतन्त्र पुनर्वहालीका लागि कांग्रेसजनले संघर्ष गर्नु परेको छ। अब फेरि सबै बिपी बन्नु पर्दैन तर, बिपीको पथलाई कांग्रेसले कहिल्यै बिर्सनु हुँदैन। कांग्रेस फेरि पनि बिपी पथमा अग्रसर हुँदै त्यो गाउँको सानो घर र त्यहाँ बस्ने जनता केन्द्रित बनाउनुपर्छ। त्यसका लागि नेतृत्व युवा पुस्ताले गर्नुपर्छ। जय नेपाल

अन्नपुर्ण पोष्टबाट

२०७४ माघ १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड