इमान्दार संवाददाता
२९९ पटक

पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौंमा वायु प्रदुषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरुमा शितलहर चलेको छ ।

जाजरकोटलगायतका हिमाली जिल्लाहरुमा चिसोसँगै भाइरल ज्वरोका विरामी बढेका छन् । यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरु अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्सहरुः

झोलिलो पदार्थ

चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केहीमात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिन्छ ।

न्यानो कपडा 

बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ ।

यसर्थ न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । बालबालिकालाई उनको टोपी लगाईँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । त्यसो गर्दा उनले बिजाउने र चिलाउने कम हुन्छ ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्सहरुः

झोलिलो पदार्थको सेवन अधिक मात्रामा गर्ने
न्यानो कपडा लगाउने
आगो ताप्ने
तेल मसाज गर्ने
बालबालिकालाई तेल मसाज गरिदिने
मर्निङ वाक नगर्ने
समस्या परेमा स्वास्थ्य जाँच गराउने

आगो ताप्ने 

आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरुले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।

तेल मसाज 

चिसो समयमा शरिरका विभिन्न भागहरु दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन् । तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।

बालबालिकालाई तेल मसाज 

चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ ।

साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरिरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ । पसिना आएमा कपडा फेरीदिनुपर्छ ।

मर्निङ वाक नगर्ने

खासगरी काठमाडौंमा मर्निङवाक गर्नेहरु सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदुषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना रहन्छन् । यसका कारण विहानको समयमा दौडिँदा ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

स्वास्थ्य जाँच 

चिसोबाट घरेलुरुपमा बच्ने कोशिष गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । प्रस्तुतिः रविन्द्र सुवेदी

नागरिक दैनिकबाट।

२०७४ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड