इमान्दार संवाददाता
२५० पटक
काठमाडौं ।

शम्भु सुस्केरा ।

अन्यौल छु कसलाई सम्बोधन गरौँ ।

सबैभन्दा प्रिय मेरा आफन्त, सबै नेपालीहरु र सबै पूर्व र बहाल नीलो वर्दीधारी साथीहरुमा कारागारको चिसो छिँडिबाट यो पत्र समर्पित गर्दछु ।

पत्र लेखेर कुनै सन्देश वा उपदेश दिन्न । जेलभित्रको मेरो आफ्नै कथा सुनाउँछु । मैँले अरुबाट सिक्न सकिन आफैँबाट सिक्दा यो गति भयो । मबाट कसैले केही सिक्नु भयो भने मेरा शब्द मात्र सार्थक हुने छैनन् तपाइको जीवन भड्खालामा जानबाट बच्न सक्छ ।

हाम्रो परिवारमा छोराहरु सके सेनामा नसके प्रहरी इन्स्पेक्टर बन्ने चलन जस्तै थियो । त्यही अनुसार म इस्न्स्पेक्टर बनेँ । त्यसपछि घरपरिवार, समाज, स्वदेश तथा विदेशमा समेत क्रमश मेरो मानसम्मान र हैकम सुरु भयो । दुःख, अपमान, अभाव कहिल्यै झेलिनँ । सायद पूर्वजहरुको कर्मको फल थियो ।

आज आफ्नै वर्तमानको फल भोगिरहेको छु कारागारको चिसो छिँडिबाट सत्यलाई चिहाउँदैछु ।

प्रत्येक टोल, चौक र गल्लीहरुमा नागरिक सुरक्षाका लागि प्रहरी बसेका छन् । तिनले के खान्छन्, कस्तो लाउँछन्, तिनले सर्वसाधाराणसँग कसरी ब्यवहार गर्छन्देखि हाकिमको सान कस्तो हुन्छ साना नानीहरुलाई समेत थाहा हुन्छ । हिजोको मेरो आइजीपीको सानलाई सुरक्षित गर्न नसक्दा आज आँसु र पश्चाताप बनेर बगिरहका छन् निरन्तर ।

मैँले देश, नागरिक र मेरा वर्दीवाल सहकर्मीहरुलाई दिएको धोखाको बदला कारगारको थोत्रो धुरीबाट पाप बनेर कराइरहेको छ ।

मलाई मात्र होइन मलाई नजिकबाट थाहा पाउने सहकर्मीहरुलाई थाहा छ, इतिहास भन्छ मैँले धेरै राम्रा कामहरु पनि गरेको छु । तर ती राम्रा कामहरुलाई राम्रै बनाइ राख्न नसक्नेगरी देसकै बदनाम गरेँ विदेशले समेत थाहा पाउने गरी । देशको शीर निहुरियो मेरा कारण ।

त्यसैले त आज पाप भोगिरहको छु । सधैँ कमाण्डर भएर हजारौँलाई कमाण्ड गरेको म चेलीबेटी बेचबिखनमा जेल परेको परोक्षबहादुरबाट शासित भएको छु ।

लेखक

जिल्ला प्रहरी प्रमुख भएर मैँले नै जेल पठाएका मान्छेहरु पनि छन् मसँगै । काखी बजाएका छन् मलाईसँगै देखर ।

परोक्षबहादुरले मलाई एकछिन आराम गरेको देख्न सक्दैन ‘ए आइजीपी उठ ’ भन्छ ।

धेरै दुःख नदेउ न भाइ आराम गर्न देउ भन्छु टेर्दैन । बरु लात्तले हान्छ र भन्छ –भाइ भन्ने होइन नाइके साब भन् ।

उसकै साशन छ जेलमा । उसको आदेश नमानी धरै छैन । खै तँलाई कसरी सलाम गर्थेरे तेरा जुनियरले, देखा त भन्यो एकदिन । मरेकै जुनी जस्तोभो । एक छिन केही नबोली उभिइरहेँ । ओई सुन्दैनस् भनेर जुँगा तान्यो । कार्यालय सहयोगी देखी मसरहका विशिष्ट श्रेणीका सहकर्मीसम्मले सलाम गरेको याद आयो । सानातिनाको सलाम त फर्काइन पनि । तर आज अपराधीको नाइकेलाई सलाम गर्नु रे ।

मेरो हात सलाम गर्न नउठेपछि गर्धनमा एक थप्पड हान्यो त्यसले । बरर आँसु झरे मेरा । र बिस्तारै सलाम गरेँ उसलाई । ओई हेर हेर यी आइजीपीको सलाम खाएँ मैँले । म आज गृहमन्त्री भएँ भन्दै वरपरका सबैलाई देखायो ।

कलियुगमा पाप धुरीबाट कराउँछ भन्थे, हो रहेछ डिल्ली बजार कारागारको थोत्रो धुरीबाट पाप कराउँदै चिसो दलिनसम्मै आइपुग्यो ।

१६ वर्षको उमेरदेखि पालेको जुँगा त्यसकै पीरले कोटेँ ।

सरकारले दिएकै सुविधा काफी थियो जीवन बाँच्न । तल्लो तहको सुविधा र सरकारी ढुकुटीको लोभमा परेर ज्यूँदै नर्क भोगिरहेको छु आज ।

मेरो बंगलाको एकएक कुनाको सुन्दरताले खिस्याएझैँ लाग्छ । इन्स्पेक्टरदेखि आइजीपी हुन्जेलसम्म उपभोग गरेको घुम्ने कुर्सी, करोडौँका गाडि र मेरापछि लागेर हिँड्ने सुरक्षाले मैँलाई लोप्पा खुवाइरहेझैँ लाग्छ । मेरो अघिपछि सम्मानले झुक्ने सहकर्मीहरुका सामुन्ने कसरी मुख देखाउने होला ।

यो थोत्रो, पानी चुहिने चीसो जेलको भुइँले पनि घरीघरि थप्पड हानिरहन्छन् मलाई ।

पद, पैसा र चौरासी ब्यञ्जन प्राप्त थियो मलाई । भाग्यलाई पनि मैँले अपमान गरेँछु । उसले बदला लियो ।

हुन त म जेलसम्म आइपुग्नुमा ममात्र दोषी छैन । देशलाई थाहा छ । तर गलत काम गरेर अरुलाई खुशी राख्नु र अरुले गरेका गलत काम रोक्न नसक्नु मेरो अपराध भो ।

नेपालको इतिहासमा जीन्दगी नै दाउमा राखेर देशको सीमा र जनताका खातिर सहादत भएका अमर शहीदहरुबाट मैँले सिक्न सकिनँ । आफूले पाएको अन्तिम पदसमेत दाउमा राख्न सकिनँ सत्यका लागि । आखिर त्यो पद एक दिन जाने नै रहेछ । त्यत्ति नबुझ्दा यो हालत भएको छ ।

यति ठूलो संगठनको प्रमुख भएर पनि गलतलाई गलत भन्न र रोक्न सक्ने आँट नहुनु मेरो नालायकी भयो । यही कुरा मबाट अरुले सिकुन् भन्नका लागि यो पत्र कोरेको हुँ । बिचरा भनिनँ आँसु बगाएको होइन । सजायको भागिदार हुनै पर्छ मजस्ताहरु ।

असार हो कि मंसिर ? कि त पानीका थोपाले जस्ता बजेर थाहा पाइन्छ कि चीसोले सिरक ओढ्नुपर्दा थाहा हुन्छ । अनेक बहानामा गरिब नेपालीको सम्पतीमाथि संसार घुम्न सक्ने मेरो हैसियत खुम्चेर खुला आकास हेर्न र फराकिलो धर्ती टेक्न नपाउने भएको छ ।

लाजले आफ्नै परिवारका सदस्यलाई भेट दिएको छैन । जेल बसुन्जेल भेट्ने पनि छैन ।

लाग्छ जीवनभर जेल बस्न पाए कसैलाई मुख देखाउनु पर्ने थिएन । तर त्यो पनि मेरो बसमा छैन । जेलबाट छुटेपछि कसरी मुख देखाएर हिँडौँ । घरैमा लुकेर बसौँ त्यो पनि जेल भन्दा के कम ?

जोसँग देशको ढुकुटी छ, जनताको सेवागर्ने जिम्मेवारी छ तिनले आफूलाई मालिक वा साशक नठान । आफैँबाट सिक्दा ढिलो भइसकेको हुनेछ । अरुबाट सिक र आफूलाई सुधार ।

सबैलाई थाहा छ मजस्ता कुकर्म गर्नेहरु थुपै्र छन् देशमा । ती सबैले कर्मको फल भोग्नुपर्छ । त्योभन्दा पहिले जनतासँग क्षमा मागेर अदालत जाऊ जनताको नासो जनतालाई बुझाउ र शान्ति प्राप्ति गर । शान्तिमै सुख छ । देश लुटेर सुखी नहुने रहेछ ।

तीस वर्ष वर्दी लगाएर उर्जाशील काम गरेको मान्छे, आत्महत्या गर्न मन नलाग्ने रैछ ।

सजायस्वरुप जेल बसिहालेँ । लाज पचाएरै माफी माग्छु । माफी पाएँभने मैँले गरेजस्ता गल्ती र अपराधहरुका बिरुद्ध कठोर भएर लाग्छु । माफी पाइन भने पनि गुनासो गर्दिन । मेरै देशको कुनै कुनामा बसेर माटोसँगै माफी माग्दै ध्यान मुद्रामा समाहित हुनेछु ।

थोरैभए पनि मेरो शरीरले देशको माटो मलिलो बन्नेछ । एउटा रुख उम्रिनेछ र पर्यावरणमा सानो टेवा पुग्नेछ ।

सारा नेपालीको सम्मान लत्याएको उही मान्छे ‘म’ ।

(शम्भु सुस्केराको यो पत्र सेतोपाटीबाट साभार गरिएको हो)

२०७४ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड