इमान्दार संवाददाता
२६६ पटक
काठमाडौं ।

विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य अस्ति दिउँसो दुई बजे पशुपतिमा देख्न पाइयो । कांग्रेसनिकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवनसंगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा ।

१३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्नेबित्तिकै भनिहाले, ‘तिमी चलचित्र विकास बोर्डतिर हुनुपर्ने मान्छे, किन यहाँ छौ ?’

रोजले प्रतिवाद गरिहाले, ‘तपार्इं नै दौडिरहनुभएको थियो । तपाईं पो त्यहाँ हुनुपर्ने, म किन ?’ यही विषयमा जुहारी चल्यो । ‘हिन्दी चलचित्रको वितरक निकिता पौडेललाई तिमीले नै विकास बोर्डको अध्यक्ष बनायौ । उनी नभएको भए म आफैं अध्यक्ष हुन्थें ।’

‘के भन्या रे ? बोर्ड अध्यक्ष मैले नियुक्त गर्ने हो कि क्याबिनेटले ?’ भन्दै रोज जाइलागिहाले । सँगै रहेका चार जनाले समाए र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले थामथुम पारेपछि अप्रिय घटनाचाहिँ केही हुन पाएन । राई अझै साम्य भएनन् । लुगलुग काम्दै तीतो पोख्न थाले, ‘तिमी ठूलो मान्छे, कांग्रेसको क्षेत्रीय सभापति, तिम्रो हैसियतमा पुग्न सक्दिनँ । मलाई सहयोग गरेनौ मात्र भन्न खोज्या हो ।’ रोजको रिस अझै साम्य भइसकेको रहेनछ । भने, ‘सहयोग गर्न योग्यता पनि हुनुप¥यो नि ! माधव वाग्ले, उत्तम केसीजस्तो ठान्या होला मलाई ।’ माधव र उत्तमलाई राजकुमारले यसअगाडि विकास बोर्डमै हातपात गरेका थिए ।

यता, दीपक मनाङेको खास मान्छे हुँ भन्दै हिँड्ने राजकुमार राईमा कतिसम्म लोभ रहेछ भने जाँदाजाँदै विकास बोर्डबाट एप्पलको ल्यापटप घर लगेको विकास बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले तीन वर्ष आफू निर्माता संघको अध्यक्ष भएर रहँदा बसेको कुर्सी र सोफा टेबलबापतको दुई लाख २५ हजार रुपैयाँसमेत लगेका छन् ।

पढ्दापढ्दै किटिक्क
प्रदीप नेपालका उपन्यास पढ्नलायक हुन्छन् । राजनीतिक व्यक्तित्वसँग सम्बन्धित र राजनीतिलाई छोएर लेखिएका यिनका उपन्यासले बजार पनि पाउँछन् । तर, लाटो खान्छ…भनेझैँ यिनका लेखनीमा वर्णविन्यास र अन्य त्रुटिचाहिँ भरमार । रामप्रसाद राईको जीवनीमा आधारित पछिल्लो उपन्यास ‘क्रान्तिवीरको सपना’ पढ्नमा जति जोशिलो छ, अक्षरका गेडागेडामा आउने कसिंगरले आँखै दुखाइदिन्छ । उनलाई नेपाली साहित्यको विशिष्ट प्रतिभा, धरोहर र आशुआख्यानकार बताउने डा. देवी नेपाललाई पनि असह्य भएछ क्यारे, विमोचनको दिन गत साल फागुन १८ गते समीक्षा गर्दै उपन्यासमा भाषिक त्रुटि रहेकाले आगामी संस्करणमा सच्याउन सुझाव दिए ।

सामान्य ह्रस्वदीर्घ, चन्द्रविन्दु, वचन, विभक्ति, नामपछि आउने बहादुर, प्रसादजस्ता मध्य नाम, उद्धरण चिह्न, ज्ञानदिलदासको कविता रुम्जाटारको कोदाको पीठो…, पूर्णविराम नदिई प्यारा परिवर्तन जस्ता अनेक गल्ती छन् । दोस्रो, मिहिनेती, पढाइ, पारि, अर्ति, मतलव, गद्धी, गम्भीर, तीर्थ, जवाहरलाल, सुवाषचन्द्र, उतै, लडाइँ, इबि, होलानजस्ता अनगिन्ती शब्दले उपन्यास पढ्दा दाँतमा ढुंगा लागेको भान हुन्छ ।

उपन्यास सकिसकेपछि एक पृष्ठमा क्रान्तिनायक राम शीर्षकमा श्याम तमोटको गीत राख्नु पनि त्यति आवश्यक थिएन । सात सालका क्रान्तियोद्धा जो त्यो क्रान्तिलाई अधुरो भन्थे, बारे चिटिक्क परेको उपन्यास लेखेर केआई सिंहसँगै हिँडेका उनी कसरी रसुवाबाट हराए भन्नेबारे खोजीनीति गर्न र उनले देखेको सपना पूरा गर्न भने नेपाल र नेपालीलाई झक्झकाउँछ ।

जनआस्थामा खबर छ ।

२०७४ पुष २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड