इमान्दार संवाददाता
९० पटक
काठमाडौं ।

पूर्वी भारतको उडिसामा जंगली हात्तीसँग ‘सेल्फी’ खिच्ने घातक प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त भएको छ।

त्यसरी हात्तीसँग फोटो खिच्ने प्रयास गरेका कतिपय मानिस घाइते भएका र कतिपयको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले त्यस्ता घटना बढ्दै गएको बताएका छन्।

मृत्यु
गएको डिसेम्बरमा जयक्रुश्न नायक स्थानीय बजारबाट घर फर्किँदै गर्दा उनले गाउँभित्र मानिसहरू हात्ती नजिक झुम्मिएको देखे।

उनीहरूमध्ये कोही तस्वीर लिदैँथिए भने कोही हात्तीलाई जिस्क्याउँदै। नायक पनि भिडमा मिसिए र उनले हात्तीसँग ‘सेल्फी’ खिच्ने प्रयास गरे।

तर त्यस क्रममा भिडसँग रिसाएको सो हात्तीले आँफ्नो सुँडले उनलाई समायो र लडाएर खुट्टाले किचेर मारिदियो।

“धेरै जनाले यो घटना देखे तर कसैले उनलाई बचाउन सकेनन्,” उनका छोरा दीपक नायकले बीबीसीसँग भने, “कति जना भाग्न सफल भए तर मेरो बुवा भाग्न सक्नुभएन।”

गएको सेप्टेम्बर महिनामा उडिसामै त्यस्तै प्रकृतिको घटना भएको थियो। त्यसक्रममा एकजना सुरक्षा गार्ड अशोक भारतीको हात्ती नजिक उभिएर तस्वीर खिच्ने क्रममा ज्यान गयो।

कतिपय प्रत्यक्षदर्शीले खिचेको भिडिओमा भारती सेल्फी खिच्न हात्तीनजिक जान खोजेको र त्यसक्रममा अकस्मात् हात्तीले आक्रमण गरेको देखिन्छ।

उनले भाग्न प्रयास गरेका थिए। तर त्यो विफल भयो र उनलाई हात्तीले कुल्चियो। उनलाई अस्पताल पुर्‍याइयो तर बाटोमै उनको निधन भयो।

उनी भाग्न खोजेको भिडिओ इन्टरनेटमा ‘भाइरल’ भएको थियो। अरू सेल्फी खिच्ने प्रयास गर्ने मानिसहरू ज्यान बचाउँन सफल भएका छन्। तर कतिलाई गम्भीर चोटपटक लागेको छ।

सेल्फी
इन्जिनियरिङका एकजना विद्यार्थी अभिषेक नायकलाई सेल्फी खिच्न खोज्दा हात्तीले घाइते बनायो। उक्त घटनाको ६ महिनापछि नायक अझै पनि घाँटी र पेटमा लागेका गम्भीर चोटहरूको उपचार गराइरहेका छन्।

एकजना वन्यजन्तु विज्ञ विश्वजित मोहन्ती भन्छन्, “उक्त क्षेत्रमा हातीले आक्रमण गरेका धेरै घटना भएका छन्। तर एकदमै थौरै घटनाहरू सबैको जानकारीमा ल्याइन्छ।”

हात्ती
उडिसा सरकारले यो प्रवृत्तिलाई गम्भीरतापूर्वक लिन थालेको जनाएको छ। उक्त राज्यका प्रमुख वार्डेन सन्दीप त्रिपाठीले बीबीसीलाई मानिसहरूलाई सचेत गराउन विशेष खालका अभियानहरू सञ्चालनमा ल्याइने जानकारी दिए।

त्यस्तो खालको अभियानअन्तर्गत हात्तीको नजिक जाँदाका खतराहरूबारे सर्वसाधारणलाई जानकारी गराउने गरी प्रदर्शनीहरू पनि गरिने उनको भनाइ छ।

सरकारी तथ्यांक हात्तीको आक्रमणका कारण उक्त राज्यमा ६० जना मानिसहरूको ज्यान गएको देखाएको छ। अहिलेसम्म कति जनाले सेल्फी खिच्न खोज्दा ज्यान गुमाए भन्ने स्पष्ट भइसकेको छैन। तर अधिकारीहरूले हात्तीसँग फोटो खिचाउने होडबाजीका कारण यस्तो संख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

२०७४ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...