इमान्दार संवाददाता
९१ पटक
काठमाडौं ।

हाँस्य क्षेत्रमा कलाकार मनिश खड्का चर्चित नाम हो । नाम चलेका टेलिसिरियामा नदेखिएपनि यूट्युव र मंचहरुमा धेरैले रुचाएका कलाकारमध्येका एक हुन् खड्का । साविकको कैलालीको सुगरखाल गाविस–र्फसाथाई २०४६ बैशाख ६ गते जन्मेका खड्काले छोटै समयमा धेरै संघर्ष गरेर नाम कमाएका छन् ।

स्कूलमा पढ्नेबेलादेखि नै क्यारिकेचर, मञ्च हुने प्रस्तुतीमा रुचि राख्ने खड्काले रेडियोमा पनि काम गरे । कलाकारितामा सबैको एउटा विधामा कला र क्षमता हुन्छ, त्यसको अर्को पाटको लागि अर्को व्यक्तिको आवश्यकता पर्छ । तर, मनिश भने रचना वा शब्द, संगीत, गायन, कमेडी सबै गर्छन् । गीत लेख्छन्, गाउँछन्, संगीत पनि दिन्छन् र मञ्चमा पनि हाँस्य प्रस्तुती पनि खड्काले गर्छन् ।

उनले दुई दर्जन गीतहरु बजारमा ल्याएका छन् । सबै गीतमा शब्द, संगीत र स्वर आफैले दिएका छन् । त्यसैगरी म्युजिक भिडियोहरुमा अभियानको मुख्य भूमिका पनि आफैले पूरा गर्दै आएका छन् । देउडा, लोक र आधुनिक र कमेडी गरी करिब १ सय ६० भिडियोहरुमा अभियानको भूमिका पूरा गरेका छन् ।

कलाकार मनिश कसरी यो क्षेत्रमा प्रवेश गरे र सफलतामा पुग्न कस्तो संघर्ष गरे ? मनिशलाई मन पराउनेहरुको जानकारी दिने प्रयास गरेका छौं ।

कलाकारितामा कसरी प्रवेश गर्नुभयो ? र के कस्ता दुःख भोन्नुभयो र नयाँ योजनाभन्ने अनलाइन डबलीको प्रश्नमा खड्काले धाराप्रवाह यसरी भनेः

सानै उमेरमा यो क्षेत्रप्रति मेरो आकर्ष थियो । स्कूलमा पढ्दै गर्दा पनि केही कार्यक्रममा गीत गाउने र मञ्चमा हुने प्रस्तुती गरेको थिएँ । तर, पनि औपचारिक रुपमा यो क्षेत्रमा प्रवेश गरेको भनेको टिकापुर महोत्सवबाट हो । २०६९ सालमा टिकापुर महोत्सवमा मैले हाँस्य प्रस्तुती गर्ने अवसर पाएको थिए ।

मेरो कमेडी प्रस्तुती देखेर दोहोरी गायीका तथा चर्चित उद्घोषिका मञ्जु पौडेलले बोलाएर नै तारिफ गर्नुभयो । राम्रो छ भनेपछि मेरो हौसला बढ्यो । यहीबाट मैले औपचारिक रुपमा कलाकार बन्नुपर्छ भन्ने निर्णय गरे । मेरो पहिलो प्रेरणाको स्रोत टिकापुर उद्योत वाणिज्य संघ, जसले महोत्सवको आयोजना गरेको थियो । अनि कलाकार दिदी मञ्जु । उहाँले गरेको तारिफले मेरो हिम्मत निकै बढेको थियो ।

आफ्नो हौसलालाई मुटुमा राखेर म काठमाडौँ आएर केही गर्ने निर्णय गरे । घरमा आमाबुबासँग अनुमति मागे । एक्लै काठमाडौँको यात्र तय गरेँ । केही दिन काठमाडौँमा साथीहरुको कोठामा बसेँ । केही सीप नलागेपछि घर फर्किने निर्णय गरे । यो बीचमा एक दिन टिका पुन दिदीसँग पनि भेट भएको थियो । दिदीसँग सुन्धारा भेटेर घर फर्किन लागेको सुनाए । बस्नै गारो भो भनेपछि दिदीले घर नफर्कियौं, म काम खोजी दिउला भन्नुभयो । काम नपाएसम्म आफै व्यवस्था गर्ने वचन दिएपछि घर फर्किने निर्णय रद्द गरेँ ।

केही दिनमै दिदीले कमलादीको ‘निरमाया दोहोरी साँझ’ मा काम लगाईदिनुभयो । तीन हजारबाट काम सुरु गरेपछि मलाई केही राहत मिल्यो । म अहिले सम्झिन्छु, टिका दिदीसँग भेट नभएको भए, आज म यो ठाउँमा हुन्थेनकी ? यो प्रश्न कहिले कहीँ अगाडि आउँछ, त्यसपछि टिका दिदीलाई धन्यवाद दिन्छु ।

काम गर्न थालेपछि पुतलिसडकमा कोठा खोजेँ । कोठाको भाँडा २ हजार थियो । काम गरेको पैसा कहिलै ढिलो आउथ्यो । भाडा तिरेपछि, खर्च पुग्दैन र खर्च गरेपछि कोठा भाडा बाँकी हुन्थ्यो । कोठामा ओड्ने–ओछ्याउने केही थिएन । काम सकेर राति कोठामा फर्किन्थे । भएका सबै लुगा लगाउथे र झोला सिरानीमा हालेर सुत्थे ।

काम गर्दै गएपछि केही सामान जोडे । तर बसाई र खानापिन नमिलेकैले होला बिरामी परेँ । चेक गराउँदा जन्डिस भएको पत्ता लाग्यो तर उपचार गर्ने पैसो थिएन । त्यही बेला घरभेटीले म नभएको बेला बाहिरबाट चावी लगाई दिनुभो । फेरि ठूलो समस्यामा परेँ । कसैसँग भन्न पनि सकिन । काठमाडौँको बसाई साथीहरुमा धेरै दिन जान सकिँन । त्यसपछि सुरु भयो ठमेलको बास । दिनभरी घुमघाम गर्ने, साथीहरुसँग भेट गर्ने, साँझ परेपछि ठमेलतिर लाग्ने । त्यहाँ रातिसम्म चहलपहल हुने भएकाले रातिसम्म सडकमा हिड्दा अस्वभाविक हुँदैन थियो । अनि निन्द्रा लाग्यो भने गल्लीको कुनामा गएर सुत्थे । ओत लाग्ने ठाउँ खोज्दै जाँदा जहाँ भेटियो त्यही सुत्थे ।

विहान उठेर कुइरे ‘विदेशी’हरुले खाएर फालेको पानी बोटलमा बचेको पानीले मुख धुन्थे । नेपाली र विदेशीले फालेको बोटल अलग्गै थाहा हुन्थ्यो । नेपालीले फ्याकेका बोटलहरुमा पानी हुँदैन थियो तर विदेशीले फ्याकेको बोटलहरुमा आधा जति पानी हुन्छ । विदेशीले फ्याकेको बोटल खोज्दै जान्थे, भेटाएपछि हात–मुख धुने र शरीरमा लागेको फोहोर पानी टकटकाउथे र फेरि दैनिक सुरु हुन्थ्यो । त्यतिबेला कमलादीको मालाश्री रेकर्डिङ स्टुडियो निकै चलेको थियो । त्यसको अगाडि विहान रामजी खाँण, पशुपति शर्मा, खुमन अधिकारी, शंकर बिसीलगायत चर्चित कलाकाहरु जम्मा हुन्थे । म पनि त्यही जान्थे । सबैसँग नमस्ते गर्दै आफ्नो परिचय दिने र उहाँहरुको चिया र पाउँरोटी खान्थे ।

बिरामले च्याप्दै गयो । केही उपाय नलागेपछि घरमा फोन गरेँ । बिरामी छु भनेर रुपैयाँ मागेँ । माइला दाजुले १० हजार पठाइदिनुभयो । रुपैयाँ हात लागेपछि योजना बनाए । चार महिनाको सबै गरेर ९ हजार कोठाको भाँडा तिरेँ । बाँकी रह्यो १ हजार । त्यही साँझ बागबजारको शंकर होटलमा गएर धित मर्नेगरी मासु–भात खाएँ । कोठमा फर्किएर सुतेँ । मध्यरातबाट पखाला चल्न थाल्यो । लगातार तीनसम्म पखाला चल्यो । मेरो शरीर भात पचाउने नसक्ने भइसकेको रहेछ । त्यो अवधिमा कहिलै पेटभरी खाएको थिइँन् । चिया–पाउँरोटी र त्यो भन्दा कसैले खुवाए दुई–तीन तन्दुरी खाइयो होला ।

उपचारको लागि घरबाट मगाएको पैसा पाँच सय मात्रै बाँकी रह्यो । उपचार कसरी गर्ने ? फेरि चिन्ताले सतायो । माछा पोखरीमा जण्डिसको उपचार गर्ने ठाउँ भेटाए । त्यहाँबाट ४ सयको औषधि किनेँ । त्यो औषधिले सन्चो हुँदै गयो । फेरि दोहोरीमा काम सुरु गरे । महिनाको ७ हजार रुपैयाँ कमाउन थाले । दुःखको एउटा पाटको अन्त्य भयो । राति ओड्ने ओछ्याउने र शरीरमा राम्रो लुगा लगाउन थालेपछि जीवनमा ठूलै परिवर्तन भएको महशुस गरेँ । विस्तारै कार्यक्रममा भाग हुन थाल्यो ।

पेशप्रतिको लगावः ठमेलका गल्लीबीचमा ओत लाग्ने ठाउँमा रात कटाउँदा पनि कहिलै पेश छोड्ने सोँच नै पलाएन । दुःख भन्ने कुरा भोगिरहेको मात्रै सम्झिने रहेछ । अघिल्लो रात कसरी बिताइएको त्यो अनुभूति नै भएन । आजको रात कसरी काट्ने भन्नेमात्रै चिन्ता हुन्थ्यो । सायद दुःख नभुल्ने भए मानिसहरुले संघर्ष गर्न नै सक्ने थिएनन् । सडकमै सुतेर विदेशीले खाएर फालेको बोटलको पानीले हात मुख धुँदापनि कहिलै हिनता पैदा भएन । अहिले फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ, कसरी ती दिन काटेँ हुँला ।

दर्शक र स्रोतहरुले माग गर्न थाले । दोहोरीमा पनि राम्रो सम्पर्क बढ्न थाल्यो । मेला–महोत्सवमा माग हुन थाल्यो । योसँगै केही कमाई पनि हुन थाल्यो । अहिले चाहेअनुसार खान, लगाउन र काम गर्न पाएको छु । कमाएर घर परिवारलाई केही दिन त सकेको छैन । तरपनि हात थाप्नु परेको छैन ।

यसैबीच जुनकिरी दोहोरीबाट कमाएको ७ हजार जम्मा गरेर ‘अनौठो परीक्षा’ बोलको गीत रेकर्ड गरे । भिडियो बनाउँदा फेरि समस्या भयो । कैलालीको बलचौरमा रहेको ‘खड्का समाज’ बाट २० हजार ऋण निकालेर उक्त गीतको भिडियो निकाले । पहिलो गीतको सफलताले मेरो मनोवल निकै बढ्यो । बजारबाट राम्रै पतिक्रिया आयो । त्यसको सफलताले ‘झिल्के डन’ बजारमा ल्याएँ । यो गीतले पनि मेरो कलाकारितालाई फराकियो बनायो । भिडियोमा कमेडी डान्सले मेरो बजार विस्तार भयो । मञ्चहरुमा पनि माग हुन थाल्यो । बल्ल मेरो पेशाले व्यवसायीक रुप लियो ।

आफ्नै शब्द, संगीत, स्वर रहेका २०–२२ बजारमा आइसकेका छन् भने केही पाइप लाइनमा छन् । त्यसैगरी आफ्ना र अरुका गरी १ सय ५० भन्दा बढी भिडियोमा अभियान गरिसकेका छु । भिडियोमा अभिनय गरेपनि गीत अरुको गायको छैन । सकेसम्म आफ्नो गीतमात्रै गाउँने योजनामा छु । धेरै गीतहरुले बजारमा राम्रै चर्चा कमाएका छन् । तीमध्ये ‘प्यार भन्छ मायाले, झिल्के डन, झुनझुन्ती भमरा, हिट हुन्छ रे’ लगायत गीतबाट सबैभन्दा बढी सन्तुष्टि मिलेको छ । त्यसैगरी अभियान गरेका गीतमध्ये ‘चौकीको बड्डो, लोटाउनो राँगो’ ले राम्रो बजार लिए ।

अगामी योजनाः यही पेशलाई थप शसक्त बनाउन आफ्नो कलालाई निखार्ने योजना छ । केही समयभित्रै ‘फिलिम हेर्न जाउँ, क्यामारा रिलैको, पाटी दिन्छु म’ लगायतका गीत आउँदैछन् । अझै गर्न धेरै बाँकी छ । यो क्षेत्रमा केही अनुभव कमाएको छु र धेरै अग्रज कलाकारहरुको साथ पाएको छु । म आफूले सफलता प्राप्त गर्दै जाँदा मलाई निकै अप्ठ्यारोमा सहयोग गर्ने टिका दिदीलगायत अग्रज कलाकारहरुको सम्झना आइरहन्छ ।

पहिलो पटक घर छोडेर काठमाडौँ आउन लाग्दा आमा–बुबा निकै रुँनु भएको थियो । मलाई सफलताको आर्शिवाद दिनु भएको थियो । त्यही आर्शिवादले मैले दुःखमा पनि साथ पाएँ । आमाबुबालाई सँगै बसाल्ने धोको छ तर पूरा हुन सकेको छैन । त्यसैगरी दर्शक स्रोताहरुलाई पनि निकै सम्झिन्छु । जसले मलाई हौसला प्रदान गर्दै यहाँसम्म पुर्याउनु भएको छ । उहाँहरुको साथ पाएको छु ।

सचेतः म आफू र आफ्नो समाजप्रति निकै सचेत छु । मैले गाएको गीतबाट समाजमा नराम्रो असर नपरोस् भन्नेमा सतर्क नै छु । आफ्नो नीजि जीवनबारे पनि सचेत छु । विवाह गरेको छैन र तत्काल योजना पनि छैन ।

मञ्चमा सबैभन्दा पहिला त्यहाँका दर्शकहरु खालका छन्, एक पटक चारैतिर नजर लगाएर मात्रै प्रस्तुती दिन सुरु गर्छु । दर्शकका अनुहार हेर्ने बित्तिकै थाहा हुन्छ कस्तो प्रस्तुतीको माग हुन सक्छ भनेर । त्यो ख्याल पुर्याउन नसक्दा धेरै कलाकारहरुको आलोचना पनि भएको छ । म रोमान्टिक, माया प्रेमका साथै ठट्याली खाले गीत गाउने र अभियन गर्ने भएकोले पनि धेरै कुरामा सचेत हुन्छु । मनोरञ्जनसँगै केही जानकारी दिन आएको हुँ भन्ने जिम्मेवारी बोध हुन्छ । त्यो अनुसारको प्रस्तुती गर्छु ।

आलोचनाः कला नभएका तर पैसा भएका केही पात्रको प्रवेशका कारण कलाकारिता क्षेत्र केही आलोचित हुनु परेको छ । एकै पटक हिट हुने रहर निकै बढेको छ । दुःख गर्नुपर्छ भन्ने भन्दापनि जसरी पनि हिट हुने भन्ने मनोविज्ञानका कारण पनि केही विकृति पनि फैलिएको छ । कला, संस्कृतिलाई थप बलियो बनाउने भन्दापनि विकृत गर्ने चलन बढेको छ । जुन यो पेशाको लागि भाइरस हो । युवादेखि बुढापाकासम्मलाई फरकफरक किसिमले हसाउन सकिन्छ । केही ज्ञान दिएर पनि हसाउन र मनोरञ्जन दिलाउन सकिन्छ । यसमा केही कलाकारहरुले ख्याल नपुर्याएको देख्दा पेशाको नै बदनामा हुने चिन्ता पनि लाग्छ ।

खड्काका हिट भएकामध्येका भिडियो हेर्नुस्

२०७४ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...