इमान्दार संवाददाता
४८७ पटक
काठमाडौं ।

दुई मुख्य नेताहरुका कारण नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अझै लम्बिने देखिएको छ । सोमबार दुबै दलका बेग्लाबेग्लै बैठक बसे पनि नेतृत्व कसले गर्ने भन्ने विषयमा ठोस कार्ययोजना नबनेपछि एकता प्रकृया लम्बिने सङ्केत देखिएको हो।

आइतबार दुई पार्टीका अध्यक्षबीच सरकार र पार्टीको नेतृत्वबारे कुराकानी भएको तर, ठोस अवधारणा बन्न बाँकी नै रहेको एमाले र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

सोमबार दुई अध्यक्षको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको बताइए पनि नेतृत्वको भागवण्डाबारे छिनोफानो हुन अझै बाँकी नै रहेको माओवादी नेताहरुको प्रतिक्रिया छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार साँझ झण्डै एक घण्टा कुराकानी भए पनि समझदारी अनुसार भोलि मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार दुबै दलले आन्तरिक छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसहितका नेताहरुसँग छलफल गरेका छन् । एमालेको स्थायी कमिटी बैठक बसेको छ । पार्टी एकताबारे भोलि थप छलफल हुने नेताहरुले बताएका छन् ।

नेताहरुका अनुसार भोलिको बैठकमा अन्तरिम कालका लागि पार्टीको बैचारिक राजनीतिक लाइन, नेतृत्व तथा संगठनको एकीकरण र मतभेद भएका विषय तथा सामूहिक रुपमा बहस गर्नुपर्ने विषय गरी तीन एजेण्डामा छलफल हुनेछ ।

एकता वार्तामा सहभागी नेताहरुले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने भद्र सहमति भएको दाबी गरेका छन् ।

तर, ईश्वर पोखरेलसहितका एमालेका केही नेताहरुले भने प्रधानमन्त्री र अध्यक्ष दुबै केपी ओली नै हुनुपर्ने मत अघि सारेका छन् । त्यसको काउन्टरमा माओवादीका केही नेताले प्रचण्डलाई अध्यक्ष नबनाए पार्टी एकता नै नहुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

तर, दुई नेताबीच भने आइतबारको भेटमा यसबारे ठोस कुरा नै नभएको बुझिएको छ । भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाएका थिए । पार्टी एकता अगाडि बढाउने समझदारी भएको छ । तर, डिटेलमा कुराकानी भएको छैन’ एक नेताले भने ।

नेताहरुका अनुसार भोलि बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठकमा बैचारिक र राजनीतिक कुरा पनि हुन्छ, संगठन र नेतृत्वको कुरा पनि हुन्छ ।

यसैबीच प्रचण्डले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरू रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताएका छन् ।

काठमाडौंमा सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले भने, ‘सरकार गठनमा केही ढिलाई भएको छ । स्थिर बामपन्थी सरकार बन्छ । अबको हाम्रो मूख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास नै हो ।’

‘यसका लागि हाम्रो कर्मचारी प्रशासन र ऐनमा रहेका सीमाको अध्ययन गरेर त्यसलाई बदल्नुपर्दछ । नीजि क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने प्रष्ट धारणा छ’, उनले भने, ‘सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, नीजि क्षेत्रका प्रतिनिधि र विज्ञ सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिन्छ ।’

भेटमा हरिभक्त शर्मासहितको परिसंघको टिमले बामपन्थीहरूको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरू आशावादी रहेको बताए । उने भने, ‘नयाँ सरकारलाई नीजि क्षेत्रको पूर्ण साथ र सहयोग रहनेछ ।’

 

२०७४ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...