आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१४५५ पटक
काठमाडौं ।

कर्णजीत बुढाथोकी ‘सुशिल’

विश्वका घटनाक्रमलाई हेर्दा एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वमा रुपान्तरित हुँदै गएको प्रष्ट नै छ । साम्राज्यवादी नाइके अमेरिका आज दिनप्रतिदिन कमजोर बन्दै गइरहेको देखिन्छ ।

उत्तर कोरियाले अमेरिकालाई प्रत्यक्ष रुपमा टक्कर दिइरहेको छ भने चीन र रुसलगायत अन्य मुलुकहरुले पनि अप्रत्यक्ष रुपमा टक्कर दिइरहेका छन् । एकतिर भने अर्कोतिर डोनाल्ड ट्रम्पको अन्धराष्ट्रवादी नीतिकै कारण अन्तर्राष्ट्रिय जगतको अमेरिकाप्रतिको विकर्षण बढ्दो छ ।

विश्वमा कम्युनिस्ट आन्दोलनको अवस्था नाजुक भएपनि पुँजिवादी साम्राज्यवादी व्यवस्था दिनप्रतिदिन ओरालोतिर जानु कम्युनिस्ट आन्दोनलको लागि आधार खडा हुने संकेत हो । बढ्दो व्यवरोजगार, सैनिक क्षेत्रमा प्रतिउत्पादक लगानी, वित्तिय व्यस्थामा आएको संकट आदि यसका पतनका कारण हुन् । तसर्थ विश्वमै नयाँ प्रकारको क्रान्तिकारी आन्दोलनको केन्द्रिकरणको जरुरी बनेको छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा चिली र निकारागुवाको अनुभवः सेना, प्रहरी र प्रशासन आफ्नो हातमा भएर पनि प्रतिपक्षमा बस्नु परेको निकारागुवा साण्डिनिस्ट (FSLN) को इतिहास हाम्रो सामु ताजै छ । १९७९ जुलाई १९ मा त्यहाँको लाल सैनिकहरुले तानाशाह समुजोको शासनलाई ढालेको थियो । त्यो क्रान्तिलाई ध्वस्त पार्न अमेरिकाले Low Intensity war मार्फत कोन्टा विद्रोही तयार पार्ने, हजारौं प्रकारका सुनियोजित सैनिक, आर्थिक, राजनीतिक, कुटनैतिक र मनोवैज्ञानिक क्षेत्रमा रुपमा शान्तिपूर्ण सारमा हिंसात्मक बाटो अपनायो ।

किनभने अमेरिकाले प्रत्यक्ष रुपमा सैनिक हस्तक्षेप गरेर भियतनाममा असफल भइसकेको थियो । सन् १९९० मा ११ वर्षपछि प्रतिक्रान्ति गरेर छाडे । त्यसैगरी चिलीमा पुँजीवादी संसदीय राजनीतिबाट सत्तामा पुग्ने ख्रुश्चोभ विचार अनुसार अगाडी बढे । जसअनुसार १०५२ देखि राष्ट्रपति एलेन्द्रले चुनावमा भाग लिएर चौथो पटक १९७० मा राष्ट्रपति बन्न पुगे । सत्तामा पुग्ने वित्तिकै चिली कम्युनिस्ट पार्टीलाई समाप्त पार्न अमेरिकाले Trac- 1 र Trac -2 नीति अवलम्बन गर्यो ।

अन्तमा सैनिक विद्रोह गराई १९७३ सेप्टेम्बर ११ मा राष्ट्रपति एलेन्द्रलाई सैनिक विद्रोहद्वारा हत्या गरियो । यसरी हेर्दा चाहे शसस्त्र संघर्ष गरेर सत्तामा पुगेपनि चाहे चुनावी प्रक्रियामा पुगेपनि प्रतिक्रियवादी शक्तिहरुले यो वा त्यो ढंगबाट षड्यन्त्र गर्छ भन्ने कुरा इतिहास हाम्रो सामु ताजै छ । चिली र निकारागुवाको एउटै समस्या जनताको विश्वास लिन नसक्नु, प्रतिक्रियावादी शक्तिको आडमा क्रान्तिकारी सत्ता चलाउन खोज्नु, कम्युनिस्ट पार्टी क्रान्तिारी बन्न नसक्नु, नेता–कार्यकर्ताहरुमा विचलन आउनु, प्रतिक्रियावादी शक्तिहरुको विभिन्न प्रलोभनमा नेता–कार्यकर्ताहरु फस्नु मुल कारण हो । तसर्थ विश्वका यी अुनभवलाई अध्ययन गर्दै नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न जरुरी छ ।

दश वर्षको जनयुद्धको युगान्तकारी उपलब्धीले देश गणतन्त्रमय भएको, संघीयताको व्यवहारिक अभिव्यक्ति देखिएको, समानुपातिक समावेशी कार्यान्वयन भएको र देश धर्मनिरपेक्ष भइसकेको छ । २०६४ सालमा संवधिान सभामा प्रत्यक्षतर्फ १२० प्रतिशतको हिसाबमा ५० र समानुपातिकतर्फ ३१ लाख पुग्नु यसको प्रष्ट प्रमाण हो ।

२०६५ पश्चात पार्टी मोटिनु पर्नेमा सुनिदै आयो । जसका कारण पार्टी विघटनको प्रक्रियामा अगाडि बढ्यो । २०७० सालमा राम्रो परिणाम आएन । २०७४ को स्थानीय चुनावसम्म आउदा माओवादी केन्द्रले धेरै ठाउँमा हार व्यहोर्नु पर्यो । त्यसैगरी २०७४ कै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा वाम गठबन्धनकै कारण प्रत्यक्षतर्फ उपलब्धी भएपनि समानुपातिक मतमा हेर्दा निकै घट्यो । ०६४ को भन्दा झण्डै १८ लाख मत गुम्न पुग्यो । यो माओवादी आन्दोलनको लागि ठूलो क्षति हो । यो क्षतिपूर्तिको लागि माओवादी मूल्य मान्यताको संस्थागत विकास गर्न जरुरी छ ।

एमालेले सिद्धान्तमा पार्टीको नाम राखेपनि व्यवहारमा कयौं दशक नेपाली काँग्रेसकै नेतृत्वमा सरकारमा रहँदा जनताको विश्वास लिन सकेन । जसको कारणकहिले पहिलो र कहिले दोस्रो त कहिले तेस्रो हुँदै आयो । हाल माओवादीसँगको सहकार्यको हिसावले पहिलो पार्टी बन्न पुग्यो । पार्टी संचालनको हिसाबले केही हदसम्म लोकतान्त्रिक प्रक्रिया अगाडि बढाएको देखिन्छ । एमालेभित्र केही क्रान्तिकारी र राष्ट्रवादी प्रवृतिलाई पनि संस्थागत गर्न जरुरी छ ।

एकता सम्बन्धी बुझाई

एकता शब्द आफैमा राम्रो हो । एकता हुनु पार्टी र देशको लागि उपलब्धी हो । तर, एकताका आधारभूत सिद्धान्त छन् । जसको पालना गरिन भने एकता औपचारिकतामा मात्र सिमित हुने निश्चित । जग राम्रो भएमत्रै घर बलियो बन्छ भनेझैं पार्टी एकताको जग बलियो बनाउनु पर्छ । भोली आउने राजनीतिक भूकम्पलाई थेग्न सक्ने हुनुपर्छ । कम्युनिस्ट पार्टीहरुको एकता भन्ने वित्तिकै नेपालका कम्युनिस्ट पार्टीहरु भन्ने अर्थ बुझाउँछ । एमालेसँग एकता हुनु पूर्व वैद्य र विप्लवसँगको एकता नै पहिलो र बलियो आधार हो ।

माओवादीहरु घर परिवार, एमाले अंशियार र काँग्रेस, मधेसीलगायतका पार्टीहरु गाउँले जस्तै हुन् । घर परिवार मिल्दा अंशियारसँग बलियो एकता हुन्छ । अंशियारलाई नजिक र परिवारलाई टाढा बनाउदा घरभित्रको द्वन्द्वले न घर बलियो र अंशियार नै ।

                                                     लेखक

एकतापूर्व एकताका कारणबारे सकभर जनतासम्म त्यो नभए जिल्ला कमिटीसम्म दुबै पार्टीले बहस पुर्याउनु पर्छ । एकता प्रक्रियामा स्वमित्व भएन भने औपचारिकतामा मिल्ने र हतारमा गरिएको एकतामा तीब्र गुटबन्दी भइरहन ।

जसको फाइदा काँग्रेस लगायतका शक्तिलाई हुने प्रष्टै छ । वैचारिक हिसाबले माओवाद/विचारधार र बहुदलिय जनवादको स्वच्छ बहस हुनु जरुरी छ ।

चुनावी मोर्चा र पार्टी एकता फरक विषय हुन् । चुनावी मोर्चाको लागि विचार र राजनीति पक्षभन्दा दुबैलाई फाइदा कसरी हुन्छ भन्ने विषयलाई मध्यनजर गरी मोर्चा बनाइन्छ । तर, पार्टी एकतामा विचार, राजनीति, कार्यदिशा, संगठन र संघर्षलाई केन्द्रबिन्दू बनाउनुपर्छ ।

वर्ग विरोधीसँग कसरी संघर्ष गर्ने र क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने कुराको स्पष्ट किटान हुनुपर्छ । अनिमात्र एकता उद्देश्यमूलक हुन्छ ।

विगतमा एकता प्रक्रियाका सवल र दुर्वल पक्ष

सवल पक्षः २०४६ पूर्वको एकता विघटन, पुर्नगठनले केही सकारात्मक र केही नकारात्मक परिणाम ल्यायो । मूलतः एकता प्रक्रियाले कम्युनिस्ट आन्दोलनलाई संगठित र बलियो आधार बनायो । जसको अभिव्यक्ति पञ्चायत कालको अन्त्य र जनयुद्धको आधार बन्यो । २०४८ सालमा एकता केन्द्र गठन, २०४७ माले र माक्र्सवादी एकता भइ एमाले बन्यो । एकताले गर्दा एमाले काँगेससँग टक्कर गर्ने पुग्यो । माओवादी जनयद्ध गर्ने सक्षम पार्टी बन्यो । २०५६ एमालेको विघटन भयो । २०६६ मा माओवादी र जनमोर्चाबीच एकता भयो । त्यसपछि भएको विभाजन र फेरि २०७३ मा एमाओवादी र क्रान्तिकारी माओवादीबीच एकता भयो । यसले चुनावमा स्थानीय चुनाव र प्रतिनिधि–प्रदेश सभा चुनावमा केही हदसम्म राम्रो परिणाम ल्यायो ।

दुर्लभ पक्षः एकता भइसकेपछि वर्ग र जनताप्रति उत्तरदायी हुनुभन्दा बहुमत पक्षले लादेर लिने, आत्मसमर्पण गरेर आएको बुझ्ने । त्यसैगरी अल्पमत पक्षले पनि बहुमत पक्षको कदर गर्न नसक्ने, एकातिर रह्यो भने अर्कोतिर पार्टी संगठन बनाउने भन्दा एकता प्रक्रियामा सहभागी भएका मध्येलाई आ–आफ्नो गुटमा तान्ने, तल्लो पंक्तिलाई लाद्ने र माथिल्लो नेतृत्वलाई गुलामी गराउने, मूल नेतृत्वले पनि आधार वर्गप्रति उत्तरदायी नभई पैसा र पहुँचवालासँग सम्बन्ध बनाई चुनाव जित्ने रणनीति मात्रै बनाउने यसका दुर्वल पक्ष हुनु ।

दुवै पार्टी अलगअलग हुँदा जनअपेक्षा कम हुने र एकता भइसकेपछि जनअपेक्षा बढ्ने हुन्छ भने अर्कोतिर देशी–विदेशी विरोधी शक्तिहरु नयाँ ढंगले षड्यन्त्र गर्ने भएकोले एकाध व्यक्तिलाई फाइदा पुग्ने गरी भन्दा वर्ग र जनताप्रति उत्तरदायी हुने गरी एकता गर्नुपर्छ । चुनावी तालमेलको क्रममा भएको वाम गठबन्धनले माओवादी र एमालेलाई चुनावी रणनीति सम्बन्धमा दुर्दर्शिता अपनाएको देखिन्छ । कांग्रेसलगायत अन्य दक्षिणपन्थी शक्तिहरुलाई सदा पराजित गर्न क्रान्तिकारी सिद्धान्त र व्यवहारबिना असम्भव छ । एकपटकको विजय नै अन्तिम विजय होइन । विजयलाई संस्थागत गर्न नेता कार्यकर्ताको सम्पत्तिप्रतिको मोह, नातावाद, पक्षपात, गुटवाद, परिवारवादलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्छ । नत्र नक्कली एकता मात्र बन्नेछ ।

एउटै पदमा एकै व्यक्ति दुई कार्यालयभन्दा बढी पार्टी र सत्तामा बस्न नपाउने नीति स्पष्ट गर्नुपर्छ । राष्ट्रियता जनतन्त्र, जनजीविका सम्बन्धि स्पष्ट खाका आउनुपर्छ । जनयुद्ध र शान्ति प्रक्रियाका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ । उत्पीडित वर्ग, क्षेत्र जाति लिंग समुदायको हक, हितलाई केन्द्रविन्दु राख्दै सहअस्तित्वको आधारमा एकता गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता हो ।

पार्टी एकता सम्बन्धी बुझाई दुई प्रकारले देखिएको छ । एकथरी छिटै एकता गरिहाल्नु पर्छ, विचार सिद्धान्त, संगठन केही पनि होइन, यदि चाडो भएन भने बाह्य शक्तिले चलखेल गर्न सक्छ भन्ने बुझाई छ । अर्को तर्फबाट एकता भन्ने वित्तिकै आत्मसमर्पण र विलय हो भन्ने बुझाई छ । सही र क्रान्तिकारी दृष्टिकोण भनेको कार्यदिशामा एक रुपता, संगठनमा एक रुपता र रणनीति–कार्यनीतिमा एक रुपता हुनुपर्छ ।

जनयुद्ध, सहिद परिवार, घाइते, जनमुक्ति सेना, जनसत्ता सबै माओवादी पार्टीका साझा विषय हुन् । माओवादीहरुको नेतृत्वमा जीवनमरणको संघर्षले गणतन्त्र, राष्ट्रिय स्वाधिनता, जनजिवीका, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सहभागीता सम्भव भएको हो । तसर्थ सच्चा कम्युनिस्ट पार्टी निर्माण नै एकताको बलियो जग हो । त्यसैले पहिलो चरणमा सबै माओवादी घटकहरुबीच एकता प्रक्रियाको सुरुवात गर्नुपर्छ । त्यसैगरी राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा नेकपा एमालेको पनि भूमिका रहेको छ । एमालेभित्रको क्रान्तिकारी–राष्ट्रवादी तप्कालाई पनि संरक्षण गर्नुपर्ने भएको हुनाले एकता आवश्यक छ । त्यसैगरी नेपालका सबै कम्युनिस्ट शक्तिहरुसँगको ध्रुविकरणलाई पनि जोड्‍नुपर्छ ।

मुल विषय कार्यदिशा भएको हुनाले क्रान्तिकारी कार्यदिशाबिना न त देशको विकास संभव छ, न त समृद्धि नै । तसर्थ, पार्टी एकता हुनुपूर्व कार्यदिशाको बारेमा व्यापक बहस गर्न जरुरी छ । हाम्रो सामु कम्युनिस्ट पार्टीहरुबीचमा भएको एकता र विघटनको इतिहास ताजै छ । कम्युनिस्ट आन्दोलनभित्रका क्रान्तिकारी शक्तिहरु एकै ठाउँ उभिएर समाजवादी क्रान्ति सम्पन्न गर्नु इतिहासक आवश्यकता हो ।

लेखकः नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हुन् ।

२०७४ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...