इमान्दार संवाददाता
३७८ पटक
काठमाडौं ।

अाइतबार साँझ नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भएको वार्तापछि निवास पुगे लगत्तै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा विज्ञप्ति निकाले । उक्त भेटवार्तासँग सम्बन्धि भने थिएन ।

तरार्इ मधेसका विभिन्न स्थानमा शीतलहरका कारण ज्यान गुमाएका र जाजरकाेटमा झाडा पखालाका कारण ज्यान गुमाएका परिवारजनप्रति तत्काल राहत तथा उपचारकाे व्यवस्था गर्न माग गरेका छन् ।

 

ओलीसँग छुट्टिएपछि प्रचण्डले निकालेको विज्ञप्तिको पूर्णपाठः

तराई-मधेशका जिल्लाहरुमा शीतलहर र जाजरकोटमा झाडा पखालाका कारण दर्जनौं नेपाली नागरिकहरुको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। शीतलहर र झाडापखालाका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग विशेष आग्रह गर्दछु।
पुष्पकमल दाहाल (प्रचण्ड)
अध्यक्ष
ने.क.पा. (माओवादी केन्द्र)

के भयो ओली-प्रचण्ड भेटमा ?

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको आइतबारको बहुप्रतिक्षित भेटवार्ताले दुई पार्टीबीचको पार्टी एकता प्रक्रियालाई एक कदम अगाडि बढाएको छ ।

ओलीसँगको वार्ताका लागि प्रचण्ड आइतबार नै चितवनबाट काठमाडौं आएर सिधै बालकोट पुगेका हुन्। बिहीबार चितवन गएका प्रचण्ड शनिबार नै काठमाडौंमा दुइ शिर्ष नेताहरुबिचको छलफल गर्ने कार्यक्रम तय गरिएको भए पनि खराब मौसमका कारण आइतबार आएका हुन्।

एमाले र माओवादी केन्द्रबीचको एकतालाई लिएर अनेक आशंका भइरहेका बेला दुई नेताको आइतबारको भेटवार्ताले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताहरुले दाबी गरेका छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्‍याउने समझदारी गरेका छन् । पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाइने भएको छ । त्यसका लागि सोमबार एमालेको स्थायी समिति र माओवादी केन्द्रको सचिवालय बैठक बस्ने भएको छ ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बसेर वैचारिक, राजनीतिक र सांगठानिक व्यवस्थापनको काम गर्नका लागि कार्यदल बनाउने सहमति भएको छ । त्यसका लागि सानो टिम बनाउने समझदारी भएको छ ।

भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने -‘मुख्य रुपमा पार्टी एकताबारेमा छलफल गर्‍यौं, हामी जुन प्रक्रियाबाटअगाडि बढेका छौं, निष्कर्षमा पुर्‍याउनै पर्छु, भोलि आ-आफ्नापार्टीभित्र छलफल गर्ने, पर्सि पार्टी एकता संयोजन समिति बैठक बसेर राजनीतिक, वैचारिक र सांगठनिक काम गर्न टिम बनाएर जिम्मा दिने र केहीदिनभित्र एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने भन्ने भएको छ ।’ चुनावपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् ।

यसैगरी, ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘एक्काइशौं शताब्दीको जनवाद’ का बारेमा सैद्दान्तिक रुपमा के गर्ने भन्ने बहस चल्न सकेको छैन् । प्रधानमन्त्री, पार्टी अध्यक्ष, राष्ट्रपति, सभामुख, एकीकृत पार्टीको केन्द्रीय समिति कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि टुंगो लगाउनुपर्ने अबस्था छ ।

२०७४ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...